नेभिगेशन
अन्तर्वार्ता

‘सामुदायिक क्याम्पसलाई गुणस्तर कायम गर्ने चुनौती छ’

४४ वर्षअघि क्षेत्रपाटीको युवक माविको टिनको छानो रहेको भवनमा पिपल्स क्याम्पसले आफ्नो कक्षा सञ्चालन गरेको थियो । मुनाफा वितरण नगर्ने सामुदायिक संस्थाका रूपमा स्थापित क्याम्पसले चर्को पानी पर्दा कक्षा बिदा दिनुपर्ने अवस्थाबाट पूर्वाधारयुक्त शैक्षिक संस्थाका रूपमा आफूलाई उभ्याएको छ । व्यवस्थापन संकायको अध्यापनमा दखल हासिल गर्दै आफ्नो बेग्लै पहिचान बनाउन सफल पिपल्स क्याम्पसले हजारौं दक्ष जनशक्ति उत्पादन गरी प्रशासन, बैंकिङ, उद्योग तथा सार्वजनिक–निजी क्षेत्रमा योगदान पुर्‍याएको छ । बदलिँदो सामाजिक तथा शैक्षिक आवश्यकतालाई सम्बोधन गर्न क्याम्पसले व्यवस्थापन, कम्प्युटर साइन्स र कानून संकायअन्तर्गत नयाँ शैक्षिक कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । पुस ९ गते क्याम्पसको ४४औं वार्षिकोत्सवका सन्दर्भमा क्याम्पस प्रमुख मनोजबहादुर कुँवरसँग डेस्क सम्पादक महेश्वर आचार्यले गरेको संवादः

सधैं पुस ९ मा हुने पिपल्स क्याम्पसको वार्षिकोत्सव नियमित कार्यक्रम मात्र हो कि विशेष केही उद्घोष छ ?

पहिलो कुरा त नेपालमा हामी जहिले पनि ‘संक्रमणकालमै छौं’ भनिरहेका छौं । २०४६ सालमा प्रजातन्त्र पुनर्बहाली भएर २०४७ सालमा संविधान बनेपछि देशले निकास पाउला भन्ने आमअपेक्षा थियो । तर राजनीतिक अस्थिरता, सशस्त्र विद्रोह, संविधानसभादेखि गणतन्त्रसम्मको यात्रामा पहिलो असर देशको शैक्षिक र आर्थिक विकासमै पर्‍यो । यद्यपि उपलब्ध अवसर र वातावरणको सदुपयोग गर्दै देशको शैक्षिक उन्नयनका लागि हामीले आफ्नो ठाउँबाट जेजति गर्‍यौं त्यसमा निरास हुनुपर्ने ठाउँ छैन । पिपल्स क्याम्पसको हकमा यो ४४ वर्षसम्म निरन्तर चल्नु पनि एउटा उपलब्धि नै हो । त्यो पनि मुनाफा वितरण नगर्ने संस्थाका रूपमा एउटा शैक्षिक संस्था सञ्चानलका निकै आरोह–अवरोह खेपेर हामी यहाँसम्म आइपुगेका हौं । यो हाम्रा लागि मात्र होइन समुदाय र समग्र शिक्षा क्षेत्रले नै गर्व गर्ने विषय हो । यसो भनिरहँदा हाम्रा अग्रज तथा मार्गदर्शक क्याम्पस संस्थापकहरू स्व तीर्थरत्न बज्राचार्य, स्व. सूर्यबहादुर शाक्य, स्व. भुवनमान सिंह, स्व. मछिन्द्रप्रसाद बजिमय, स्व लक्ष्मीदास मानन्धरको लगायतको योगदानको स्मरण गर्ने दिन पनि हो । यहाँले भनेजस्तै यो वर्ष हामीले नयाँ विषय र संकायमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको सुखद खबर पनि सार्वजनिक गर्न चाहन्छु। तसर्थ, यो ४४औं वार्षिकोत्सव हाम्रा लागि अग्रजहरूको स्मरण र सम्मानका साथै नयाँ कार्यक्रमको तयारीको उद्घोषको समारोह दुवै हो ।

नयाँ के–के विषयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न लाग्नुभएको हो? त्यो आवश्यकता किन परेको हो?

कुनै पनि नयाँ शैक्षिक कार्यक्रम बदलिँदो सामाजिक शैक्षिक सन्दर्भलाई सम्बोधन गर्ने हेतुले नै सुरु गरिन्छ । विसं. २०३८ मा स्थापना भएको पिपल्स क्याम्पसले सीमित स्रोत साधनका बाबजुद पनि उच्च शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको सबैलाई बिदितै छ । हामी गर्वका साथ के भन्न सक्छौं भने पिपल्स क्याम्पसले हजारौं दक्ष, सक्षम र जिम्मेवार जनशक्ति राष्ट्रलाई प्रदान गरेको छ । हाम्रा पूर्व विद्यार्थीहरू मुलुकको प्रशासनिक, बैंकिङ, सार्वजनिक– निजी औद्योगिक प्रतिष्ठानका गुणस्तरीय जनशक्तिमा दरिन सफल भएका छन् । यसको अर्थ हामीले हिजो सञ्चालन गरेका कार्यक्रम सफल थिए भन्ने हो । त्यही सफलताले हामीलाई नयाँ क्षेत्रमा अघि बढ्न हौस्याएको हो भने बदलिँदो परिस्थितिअनुसार चल्न पनि नयाँ कार्यक्रम सञ्चालनको तयारीमा छौं ।

हाल यस क्याम्पसमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त शैक्षिक कार्यक्रमहरूमा ४ वर्षे बीबीएस तथा सेमेस्टर प्रणालीअन्तर्गत ४ वर्षे बीबीए, बीबीएम र सेमेस्टर प्रणालीअन्तर्गत २ वर्षे एमबीएसका कक्षा सञ्चालनमा छन् । अब हामी व्यवस्थापन संकाय र कम्प्युटर साइन्सअन्तर्गतको बिएस्सी–सीआईटी, बीआईटी, बीसीए, बीआईएमको चार वटा नयाँ धारका कार्यक्रम सुरु गर्ने तयारीमा छौं भने कानून संकायअन्तर्गतको बीए–एलएलबीको कार्यक्रमको तयारीमा छौं । हामीले त्रिभुवन विश्वविद्यालयमा कार्यक्रम सुरु गर्नका लागि आवश्यक प्रक्रिया पूरा गरिसकेका छौं । हामी मुनाफा वितरण नगर्ने सामुदायिक संस्था भएकाले न्यूनतम शुल्कमा गुणस्तरीय शैक्षिक गुणस्तर कायम गर्दै नयाँ शैक्षिक धारमा पनि अब्बल बन्नुपर्ने चुनौती छ ।

अहिले १२ कक्षापछि अधिकांश विद्यार्थी विदेशिइरहेका बेला नयाँ कार्यक्रम जे सुरु गर्ने सोच क्याम्पसले बनाएको छ, त्यसमा सफलता पाउन कत्तिको सहज होला ?

तपाईंले उठाएको यो प्रश्न एउटा क्याम्पस विशेषसँग मात्रै सम्बन्धित छैन । यसमा बिस्तारपूर्वक विमर्श हुनुपर्छ जस्तो लाग्छ । यद्यपि, यहाँ के भनु भने देशका क्याम्पस भनेका तमोभूमि, अनुष्ठानस्थल हो जहाँ विद्यार्थीलाई सुयोग्य नागरिक बनाउने ध्येय राखिन्छ । मुलुकलाई सार्मथ्य र वैभव प्रदान गर्ने भनेको शिक्षाले नै हो । प्राचीन सभ्यतामा तक्षशिला र पाटलीपूत्रले तत्कालीन भारतवर्षलाई सर्वशक्तिमान् बनाएको थियो । औद्योगीकरणको युगमा ब्रिटेनको नेतृत्वलाई क्याम्ब्रीज र अक्र्फोड विश्वविद्यालयले टेवा दिएको थियो । अमेरिकाको उत्थानमा हार्वड, याले, प्रिन्सटन, स्टाण्डर्फोडजस्ता विश्वविद्यालयको अहम् भूमिका छ । अहिले उच्च शिक्षा र समृद्ध जीवनको खोजमा युवा जनशक्ति मुलुकबाट बाहिरिइरहेको छ भने हाम्रा शैक्षिक संस्थाहरू स्रोत–साधनको अभावमा डगमगाइरहेका छन् । हामीले राम्रो शिक्षा दिन नसकेकाले नेपाली विद्यार्थी बिदेशिएका होइनन् । देशको आर्थिक सामाजिक कारणले युवा विदेशिएका हुन् ।

देशमा युवालाई रोक्ने नीति तथा कार्यक्रम ल्याउने काम सरकारको हो । सरकारलाई शैक्षिक संस्थाले केकसरी सहयोग गर्नुपर्छ, त्यो गर्न सबै तयार नै हुन्छन् । अहिले हामी विश्वव्यापीकरणको मारमा छौं । अर्को कुरा नेपालीहरूको आर्थिक हैसियत सबल बन्दा पनि अभिभावकहरूले खर्च गरेर आफ्ना सन्तानलाई विदेश पढाउन सक्षम भएका हुन् । जग्गाको भाउ बढ्दा एक टुक्रा बेचेर सन्तान विदेशै पढाउँछु भन्ने अभिभावकको संख्या बढेको छ । तर यी सबको अर्थ नेपाली शैक्षिक संस्थाको गुणस्तर कमजोर छ भन्ने होइन । अमेरिका, अष्ट्रेलिया, चीन र युरोपका अधिकांश विश्वविद्यालयमा छात्रवृत्ति पाउँदै उच्च शिक्षाको अवसर पाउने धेरै नेपाली विद्यार्थीले स्नातकसम्मको पढाइ नेपालमै गरेका छन् । तसर्थ नेपाली शैक्षिक संस्था सबल छन् भन्ने देखिन्छ र हाम्रो सन्दर्भमा पिपल्स क्याम्पस आफै पनि ४४ वर्ष निरन्तर हुनुको श्रेय गुणस्तरलाई नै जान्छ ।

हामीले गुणस्तरको कुरा गर्दै जाँदा सामुदायिक क्याम्पसहरू मारमा पर्दै गएका छन् नि ।

त्यो कुरा सही हो । वास्तवमा सामुदायिक क्याम्पस समक्ष चूनौतीहरूका चाङ छन् । अधिराज्यभर करिब ६ सयभन्दा बढी समुदायिक क्याम्पस छन् । सामुदायिक क्याम्पसले ७६ वटा जिल्लामा विभिन्न शैक्षिक कार्यक्रममार्फत देशका ३३ प्रतिशतभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । सबैलाई विदितै छ समुदायिक क्याम्पस गैरनाफामूलक हुनुका साथै शुल्क पनि तुलनात्मकरूपमा न्यून नै हुन्छ जसले सामाजका सबै वर्गलाई अध्ययनको अवसर दिइरहेको छ । राज्यले गरिब र विपन्न वर्गको शैक्षिक उन्नयनको अवसरलाई मध्यनजर गर्दै सामुदायिक क्याम्पसको स्तर निर्धारणका साथै विशेष सुविधासहित व्यवस्थित गर्न एक छुट्टै सामुदायिक क्याम्पस व्यवस्थापन र सञ्चालन कानूनको निर्माण गर्नुपर्ने देखिएको छ ।

सामुदायिक क्याम्पसलाई सबैतिरबाट चुनौती रहेको सन्दर्भमा अबका दिनमा पिपल्स क्याम्सजस्ता क्याम्पस कसरी अघि बढ्लान्?

फेरि पनि सबै चुनौतीको उचित समाधान भनेको गुणस्तर नै हो । थपमा के देखिएको छ भने हिजोका दिनमा विद्यार्थीलाई अब्बल परिणाम हासिल गर्न सघाए पुग्ने वातावरण थियो अब समग्र विकास र अभिमुखीकरणको मञ्च बन्नुपर्ने दायित्व छ । साथमा प्राध्यापनमा संलग्न जनशक्तिलाई पनि अनुसन्धानलगायतको वृत्ति विकासमा संलग्न गराउनुपर्ने चुनौती छ ।

नेपालको शिक्षाको इतिहास केलाउँदा सरकारले भन्दा पहिला समुदायले नै शिक्षाको काम सुरु गरेको पाइन्छ । जुन समाज जागरुक थियो, त्यहाँ मुठ्ठी दान गर्दै केही न केही स्रोत जुटाएर शिक्षक र विद्यार्थी खोजेर ल्याएर पढाउको काम सुरु भएको हो । सुरुमा गुरुकुल वा पाठशाला खोलिएर विद्यार्थी खोजिएको अवस्था थिएन । त्यो बेलाका अगुवाहरूले गाउँगाउँका युवालाई पढ्न आऊ भनेर पाठशालामा ल्याएका हुन् । त्यो बेलाको आवश्यकता अर्कै थियो । त्यो बेलामा टिनको टहरामुनि बसेर पढ्ने परिपाटी थियो । हाम्रै पिपल्स क्याम्पसले पनि मुनाफा आर्जन नगर्ने संस्थाका रूपमा युवक माध्यमिक विद्यालयको जस्ताको छानामुनिको सुरुमा कक्षा सञ्चालन गर्दा चर्को पानी परेका बेला क्याम्पस बिदा गर्नुपर्ने अवस्था पनि थिए । त्यो बेला सेवा सुविधालाई लिएर गुनासो आएन होला ।

आज हरेक कुरामा गुणस्तर कायम गर्नुपर्ने चुनौती छ । हिजो प्राध्यापकहरूको माग सेवा सुविधालाई लिएर हुन्थ्यो भने आज प्राध्यापकले अनुसन्धानको अवसर चाहियो भनेको अवस्था छ । हामी त्यतातर्फ सेचत छौं । मुख्यतः शैक्षिक गुणस्तर चाहे त्यो विद्यार्थी केन्द्रित होस् वा प्राध्यापक केन्द्रित होस् त्यसलाई कायम गर्न हामी दत्तचित्त छौं ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्