नेभिगेशन
अन्तर्वार्ता

चुनौतीका चाङबीच सुधारको क्रममा छौ : उपकुलपति प्रा. डा. दीपक अर्याल

उच्च शिक्षाका लागि मुलुकको जेठो र ठूलो प्राज्ञिक संस्था हो, त्रिभुवन विश्वविद्यालय । काठमाडौंको दशरथ रंगशालामा बिहीबार त्रिविले ५१औं दीक्षान्त समारोह आयोजना गर्दैछ । स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहको उपाधि लिएका ८९ हजार १ सय ९१ जना दीक्षित हुन योग्य भए पनि १६ हजार ३ सय ८० जनाले दीक्षाका लागि आवेदन दिएका छन् । घट्दो विद्यार्थी संख्या र आंगिक क्याम्पसहरूको दुरावस्था त्रिविका लागि ठूलो चुनौती हो। विश्वविद्यालयमा हुने राजनीति नयाँ होइन तर पदहरूको राजनीतिक भागबण्डाले प्राज्ञिक संस्थाको मर्यादामा प्रश्न उठाएको छ । विश्वविद्यालयको शैक्षिक वातावरणलाई मुलुकको गिजोलिएको राजनीतिले परेको दुष्प्रभाव जगजाहेर छ । यिनै विषयका सेरोफेरोमा न्यूज २४ का प्रधानसम्पादक नवराज चालिसे र डेस्क सम्पादक अच्युत कोइरालाले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति प्राडा दीपक अर्यालसँग गरेको संवादको सम्पादित अंश :

त्रिविमा हिजो आफूले महसुस गरेका समस्यालाई समाधान गर्ने थलोमा आज आफैं हुनुहुन्छ । ती समस्या समाधान गर्न सजिलो अप्ठ्यारो के महसुस भइरहेको छ ?

शिक्षण पेसा र यससँग जोडिएको अनुसन्धान कार्यलाई जीवनको सम्मानित एवं मूलभूत पेसा मानेकाले होला विश्वविद्यालयमा आफूलाई प्राप्त जिम्मेवारीमा आएका समस्यालाई सुरुवाती समयदेखि नै समाधान गर्दै आइरहेको स्मरण गरेको छु। विश्वविद्यालय उच्च शिक्षाको शैक्षिक जनशक्ति उत्पादन गर्ने एक महत्वपूर्ण अंग हो । त्यसैले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि हाल समाधान गर्नुपर्ने कार्यहरू गरिरहेका छौं । यसमा म आफैंले गरेको नभई मेरा साथीहरूको पनि उत्तिकै ठूलो भूमिका छ ।

कस्ता कामहरू गरिरहनुभएको छ त ? उदाहरण दिनु न ।

स्नातक तथा स्नातकोत्तर तहको पाठ्यक्रम परिमार्जन गर्ने सन्दर्भमा स्नातक तहअन्तर्गतका कार्यक्रमहरू सेमेष्टर प्रणालीमा लैजानुपर्ने र जम्मा ८ वटा सेमेष्टरको कार्यक्रममा लगि कार्यान्वयन गरी स्नातक तहको पाठ्यक्रम निर्माण गर्दा आधुनिक कृषि प्रविधि, बजार व्यवसाय र प्राविधिक विषयहरू समावेश हुनेगरी निर्माण गर्न सकियो भने धेरै समस्याको समाधान हुन सक्ने देखिन्छ । यसमा काम गरिरहेका छौं । त्यस्तै विधिविधानमा पनि धेरै कन्फ्युजनका कुराहरू छन् । नियमावली र विनियमावली यति धेरै छन् कि तिनको काम तत्कालका लागि अप्ठ्यारो फुकाउन बनाइएको भए पनि जेलिएर अहिले त्रिविले कामै गर्न अप्ठ्यारो हुने अवस्था छ । तिनलाई हामीले सिनेट बैठकबाट दुविधा बनाउने नभई सुविधा बनाउने किसिमले संशोधन गर्दैछौं । यस्ता धेरै कामहरूलाई हामीले हात हालिरहेका छौं । यसको परिणाम केही समयपछि देखिनेछ ।

यस्ता काम गर्न त राजनीतिक आशीर्वाद चाहिने होला ? सरकारबाट काम गर्न कत्तिको सजिलो अप्ठ्यारो के छ ?

यो पाँच महिनाको अवधिमा मैले प्रधानमन्त्रीहरूसँग कुराकानी गरें । उहाँहरूबाट कुनै किसिमको हस्तक्षेपको महसुस गरिनँ । जेनजी आन्दोलनपछि पनि मैले कुनै अवरोध वा चासो पाइनँ । बरु यस अवधिमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेटका बेला एक घण्टाभन्दा बढी समय छलफल गर्न पाएको छु। यसले त्रिविका समस्या समाधानतर्फ अझ सहज हुने अपेक्षा गरेको छु।

त्रिवि भन्नेबित्तिकै समस्या र बेथितिको चाङ भन्ने आम बुझाइ छ । के वास्तवमा त्रिवि भनेकै समस्या र बेथितिको चाङ नै हो त ? तपाईंको अनुभव के छ ?

यो वास्तवमा भ्रम छ । विश्वविद्यालय अनुदान आयोगको प्रतिवेदनअनुसार हाल देशमा प्रदेश विश्वविद्यालयसहित २० वटा जति विश्वविद्यालयहरू छन् । कतिपय विश्वविद्यालयहरूमा विद्यार्थी संख्या अत्यन्तै न्यून छ । त्रिभुवन विश्वविद्यालयमा बेथिति छ भन्ने कुरा समाजमा फैलाउन सकियो भने अन्य विश्वविद्यालयलाई फाइदा पुग्छ कि भन्ने उद्देश्यअनुरूप फैलाइएको भ्रम हो । समस्याहरू त जहाँ पनि हुन्छन् । नेतृत्वको काम भएका समस्याहरू समाधान गर्ने हो । बाहिर रहँदा देखेका ठूला समस्या कतिपय अवस्थामा संवादबाट समाधान गर्न सकिएको छ ।

अर्को कुरा, हामीकहाँ शिक्षा र व्यवहारबीच सम्बन्ध सुमधुर स्थापित गर्न सकिएको छैन । राष्ट्रिय विकासमा युवा सहभागिता बढाउन सकियो भने युवालाई राष्ट्रिय एकता र सहकार्यमा प्रेरित गर्न सकियो भने धेरै समस्या समाधान गर्न सकिन्छ ।

उपकुलपतिको जिम्मेवारी सम्हालेको पाँच महिना भयो। यहाँको मूल समस्या के रहेछ र त्यसको समाधानका लागि के प्रयास गरिरहनु भएको छ ?

मूल समस्या अन्तर्राष्ट्रिय स्तरको शिक्षाको गुणस्तर कायम गर्नुपर्ने रहेको छ । शैक्षिक क्यालेण्डर लागू गर्नुपर्ने, विदेशी विद्यार्थीहरूको आकर्षण बढाउनुपर्ने, विज्ञान विषयका लागि अन्तर्राष्ट्रिय स्तरको वैज्ञानिक ल्याबको व्यवस्था, प्रविधिमैत्री डिजिटलाइज पुस्तकालय, एकीकृत लेखा तथा प्रशासनिक प्रणालीजस्ता समस्याहरूको व्यवस्थापन गर्नु मूल समस्या देखेको छु। तिनलाई समय अनुकूल गर्ने काम थालिएको छ ।

यसैगरी त्रिविका कतिपय निकायहरूमा भौतिक पूर्वाधारहरूको अवस्था ज्यादै नाजुक स्थितिमा छन् । तिनको पुनर्निर्माणका लागि आर्थिक स्रोत जुटाउन निकै ठूलो समस्या देखें । यसका लागि नेपाल सरकार तथा अन्य दातृ निकायहरूसँग समन्वयकारी भूमिका गरिरहेका छौं ।

अर्कातर्फ विश्वविद्यालयको जग्गाको सुरक्षा गर्नु पनि प्रमुख दायित्व छ । नेपाल सरकारसमक्ष २०८१ साल मंसिर १४ गते संयोजक महेन्द्रकुमार थापालगायतका सदस्यहरूले पेश गरेको ‘त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पति खोजबिन समितिको प्रतिवेदन – २०८१’ लाई सूक्ष्मरूपमा अध्ययन गरी सरकारसँगको समन्वयमा ती जग्गालाई विविधसम्मत र प्रक्रिया मिलाएर त्रिवि मातहत ल्याउनु छ ।

यसैगरी शिक्षक तथा कर्मचारीहरूका माग र सेवा सुविधामा अनुसन्धानको अवसरलाई जोड्नुपर्ने पनि मैले देखेको छु। शिक्षक तथा कर्मचारीलाई अनुसन्धानात्मक कार्यक्रमतर्फ संवेदनशील भएर योजनाबद्ध किसिमले लागिपरेका छौं । मुख्यतः शैक्षिक गुणस्तर बढाउनुपर्ने जिम्मेवारी हाम्रो हो । चाहे त्यो विद्यार्थी केन्द्रित होस् वा प्राध्यापक केन्द्रित होस्, त्यसलाई कायम गर्न हामी अहोरात्र खटिइरहेका छौं ।

यी सबै कुरा कार्यान्वयन गर्न अलि समय लाग्छ । तत्कालै पनि हामीले धेरै काम गरिरहेका छौं । पहिलो त, परीक्षाफल प्रकाशनलाई हामीले नियमित गरिरहेका छौं । हरेक वर्ष हामीले चारदेखि पाँच लाख विद्यार्थीहरूलाई अध्यापन गराउँछौं । यस अर्थमा ठूलो संख्यामा हाम्रा विद्यार्थीहरू छन् । यत्रो ठूलो संख्याका विद्यार्थीको परीक्षाफल ठ्याक्कै समयमा आउन नसक्नु ठूलो कुरा होइन तर यसलाई व्यवस्थित गरेर लैजाने सिलसिलामा स्नातकोत्तरको त एक महिनाअगावै परिणाम दिइरहेका छौं । कम विद्यार्थी भएका विषयको परीक्षा फल त दुई दिनदेखि एक हप्ताभित्रै पनि प्रकाशन भएका छन् । स्नातक तह प्राविधिकतर्फ एक महिनाभित्रै परीक्षा फल आएका छन् । अप्राविधिक र जनरल विषयका अत्यधिक विद्यार्थी भएकामा पनि ७० देखि ७५ दिनमा रिजल्ट आउन थालेका छन् । यस मामिलामा धेरै सुधार भएको छ । कतिपयमा सुधार हुने क्रम जारी छ । कतिपय अवस्थामा हामीले प्रविधिको सदुपयोग गरेर चाँडोभन्दा चाँडो रिजल्ट निकाल्न प्रयासरत छौं । अब रिजल्ट प्रकाशन भएन भन्ने गुनासो गर्ने दिन आउने छैन भन्ने मलाई लाग्छ ।

तपाईं उपकुलपति भएर आउँदाका अप्ठ्यारा के के झेल्नुभयो?

हेर्नु, मैले अहिलेसम्म यो नियुक्ति गरिदे भनेर कसैबाट केही दबाब झेल्नुपरेको छैन । पहिलेदेखि नै समस्याका जुन चाङ थिए, ती बेथितिका चाङकै समस्यालाई समाधान गर्नुपर्ने छ । सिस्टम डेभलप नभएकाले सबैले दुःख पाएका थिए । परीक्षामा पनि सिस्टम बनाइएन, भर्नामा पनि सिस्टम भएन । जो आए पनि गर्न खोज्नेलाई तिनै सिस्टम नभएकाले अप्ठ् यारोमा पार्ने हो । त्यो सिस्टम बसाल्ने काममा मेरो मुख्य ध्यान केन्द्रित भइरहेको छ । नियम र विनियम धेरै भए । त्यसलाई हटाउने वा कम गर्नेतर्फ ध्यान गएको छ । म आउनुअघि नै बनाइएको एउटा महत्वाकांक्षी योजनाहरू छन् । काम गर्ने नै हो भने त्यो पर्याप्त छ । त्यसैलाई कार्यान्वयन गर्नेतर्फ मेरो जोड छ । अर्को वर्षदेखि अझ परिस्कृत नीति तथा कार्यक्रमहरू जोड्ने मेरो योजना छ ।

भदौ २३ र २४ को जेनजी आन्दोलनले सरकार परिवर्तन भयो। त्यसको असर केही पर्‍यो कि ?

म उपकुलपति भएको करिब तीन महिनामा नै जेनजी आन्दोलन भयो । त्यसको असर राज्यका अन्य निकायहरूमा जस्तै विश्वविद्यालयमा समेत परेको छ । अब विश्वविद्यालयले नयाँ सोचका साथ युवाहरूलाई रोजगारमा जोड्ने किसिमका पाठ्यक्रम निर्माण गर्ने, विभिन्न औद्योगिक संस्थाहरूसँग समन्वय गरी युवा स्वरोजगारको कार्यक्रममा जोड दिनुपर्ने शिक्षा नीतिको आवश्यकता देखिन्छ । कसरी युवाहरूलाई देशमै उत्कृष्ट शिक्षा र रोजगारीको व्यवस्था मिलाउने त्यसबारे शिक्षा मन्त्रालयसँग मिलेर केही काम गर्न खोजिरहेका छौं ।

उच्च शिक्षालाई कसरी उद्यमशीलता र रोजगारीमा जोड्ने त ?

वास्तवमा विदेशतिर अण्डरग्राजुएटदेखि पीएचडीसम्मका विद्यार्थीहरूलाई ठूला कम्पनीले पढ्दापढ्दै कामको अफर गरेको देखेर आएको हुँ । त्यस्तो काम नेपालमै गर्न केले रोकेको छ भन्ने लाग्थ्यो । त्यसैले मैले युवापुस्ताको असन्तुष्टि निराकरणका लागि त्यस्तै कार्यक्रम ल्याउन सकिन्छ कि भनी उद्यमीहरूसँग पनि छलफल अगाडि बढाइरहेको छु। अहिले नै हामीले हाम्रो सिनेटमा प्रख्यात उद्यमीहरू उपेन्द्र महतो तथा चन्द्र ढकालहरूलाई निमन्त्रणा गरेका छौं । यसैगरी, हामीकहाँ एउटा गतिलो सम्मेलन केन्द्र छैन । त्यो बनाउन ठूलो रकम लाग्छ । सरकारसँग बजेट माग्न गयौं भने सरकारले पैसाको कुरा सुन्न चाहँदैन । त्यसैले यस्ता भवन निर्माणका लागि हामीले ठूला उद्यमी तथा औद्योगिक घरानाहरूलाई पनि जोड्ने प्रयास गरिरहेका छौं ।

मैले जापान पढ्दाताका विश्वविद्यालयमा टोयोटाले बनाइदिएको भव्य भवन थियो । यस्तै भवन नेपालका उद्यमी वा कम्पनीहरूले पनि बनाइदिए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । त्यसका लागि हामीले उद्यमी तथा कम्पनीहरूलाई पनि विश्वविद्यालयसँग जोड्ने प्रयास थालिसकेका छौं ।

त्रिभुवन विश्वविद्यालय त बेरोजगार उत्पादन गर्ने थलो हो भनेर भनिन्छ नि ?

यो कुरा मान्न चाहिँ म तयार छैन । प्राविधिक शिक्षामा हाम्रो उत्कृष्टता कति छ भने संसारभर नै नेपाली विद्यार्थीले राम्रो प्रदर्शन गरिरहेका छन् । हाम्रो शिक्षा विभागले उत्पादन गरेका विद्यार्थीहरू ९९ प्रतिशत नै रोजगार छन् । त्यसैले बेरोजगार उत्पादन गर्ने थलो हो भन्ने म मान्न तयार छैन ।

दोस्रो कुरा, हामीले दक्ष जनशक्ति उत्पादन गर्ने हो । बाँकी प्रतिस्पर्धाको काम चाहिँ विद्यार्थीको नै हो । कसैले पनि थालमा पस्किएर जागिर दिँदैन । कुनै सीमित पदका लागि असीमित विद्यार्थीहरू प्रतिस्पर्धामा हुन्छन् । त्यसमा विद्यार्थी आफूले पनि प्रतिस्पर्धा गर्नुपर्‍यो, अरुलाई उछिन्ने गरी मिहिनेत गर्नुपर्‍यो । आधारभूत शिक्षा र त्रिविको इज्जत हामीले दिएका छौं, बाँकी मिहिनेत चाहिँ विद्यार्थी आफूले पनि गर्नुपर्छ । नत्र त, अहिलेको प्रतिस्पर्धी समयमा मैले यति नम्बर ल्याएको थिएँ भनेर मात्र हुँदैन ।

त्रिविभित्रै सुधारका काम त टन्नै छन् नि ?

छन् । हाम्रो विश्वविद्यालय अन्तर्गत रहेका आंगिक तथा सामुदायिक कलेजहरूको भौतिक संरचना र पूर्वाधार सुधार गर्नुपर्ने अवस्था छ । कतिपय आंगिक कलेजको भवन जीर्ण र पुराना भइसकेका छन् । विविको भौतिक संरचनाका साथै प्रशासनिक, प्राज्ञिक क्षेत्रमा पनि पुनर्संरचना गर्नुपर्ने आवश्यकता छ । कतिपय अवस्थामा ऐन नियम परिवर्तन/परिमार्जन गर्नुपर्ने आवश्यकता छ । प्राध्यापक तथा कर्मचारीमा काम गर्ने शैली र सीप सुधार गर्नुपर्ने पनि देखिन्छ । हामीले आर्थिक मितव्ययिता अपनाउनुपर्ने, प्रविधिमैत्री प्रशासन र छिटोछरितोमा जोड दिएर संस्थागत सुधार गर्नुपर्ने कामहरू बाँकी नै छन् ।

सामुदायिक तथा आंगिक कलेजहरूको दुरावस्थाबारे यहाँको केही टिप्पणी ?

कतिपय सामुदायिक तथा आंगिक कलेज सक्षम छन् । तिनलाई नागरिक समाज, राजनीतिक दल र अभिभावकहरूले निकै सशक्त बनाएको पनि देखिन्छ । कतिपय भने सुधार गर्नुपर्ने अवस्थामा छन् । गुणात्मक सुधारका लागि राज्य तथा दातृनिकायबाट सहयोग आवश्यक छ । त्यसका लागि प्रधानमन्त्री, शिक्षामन्त्रीसँग छलफल भइरहेको छ । उहाँहरूबाट सहयोग पनि प्राप्त भइरहेको छ ।

त्रिविले विद्यार्थीको अनुसन्धान क्षमता बढाउन भूमिका खेल्न नसकिरहेको आरोपका सन्दर्भमा भने यहाँको के भनाइ छ ?

अध्ययन र काम जोड्ने, सीपमूलक शिक्षालाई विविले प्राथमिकतामा राखेको छ । पढ्दापढ्दै रोजगार प्राप्त गर्न विविले आवश्यक वातावरण मिलाउनेछ । त्यस्तै विद्यार्थी पलायनको अवस्था रोक्न पनि हामीले रोजगार, प्रविधि र सीपमूलक शिक्षालाई प्राथमिकता दिनुपर्ने अवस्था छ ।

हामीले यतिबेला स्नातकोत्तर तह अध्ययनरत विद्यार्थीहरू आफ्नो अन्तिम सेमेष्टरअन्तर्गतको अध्ययनमा राष्ट्रिय विकास सेवा कार्यक्रममार्फत अनुसन्धानात्मक कार्यहरू पालिकामै गएर गर्ने व्यवस्था मिलाइरहेका छौं । कोही कृषिमा अध्ययनरत छ भने उसले कृषि व्यवसाय व्यवस्थापनका बारेमा पालिकामै अनुसन्धान र कामहरू गर्नुपर्छ । त्यस्तै विद्यालय शिक्षणको पनि पालिकाको काममा सहयोग पुग्नेगरी गर्न सक्यौं भने यसबाट जे विषयमा शिक्षा लिइएको हो, त्यसैमा काम गर्ने व्यवस्था मिलाउन सकिन्छ । यसले शिक्षा र कामलाई जोड्न सकिने देखिन्छ ।

त्रिविको दीक्षान्त समारोहप्रति विद्यार्थीहरूको आकर्षण लगातार घट्दो क्रममा छ । यसतर्फ विद्यार्थीको आकर्षण बढाउन त्रिविले के–कस्ता योजना बनाउँदै छ त ?

त्रिविको आकर्षण घटेको होइन । एउटा रिपोर्टअनुसार, हाल प्रादेशिक विश्वविद्यालयसहित २० वटा विश्वविद्यालय छन् । कतिपय विविमा त त्रिविको एउटा विभागको कूल विद्यार्थीभन्दा कम विद्यार्थी छन् । यसर्थ, त्रिविको लोकप्रियता घटेको भन्न मिल्दैन । अर्कोतर्फ, इन्ट्रान्समा क्षमताभन्दा बढी विद्यार्थी हुने र पास भएकालेहरूले पनि पढ्न नपाउने स्थिति त्रिविमा छ ।

दीक्षान्त समारोहमा कम सहभागिता वा आकर्षण घटेको कुरामा भने मेरो अलि फरक मत छ । एउटा दार्चुलाको वा ताप्लेजुङको विद्यार्थी काठमाडौंसम्म आएर दीक्षान्तमा सहभागी हुनु निकै गाह्रो कुरा हो । हामीले यस्ता प्राविधिक अप्ठ्याराहरूलाई नसुल्झाउञ्जेलसम्म दीक्षान्त समारोहमा सहभागिता बढाउन गाह्रो हुन्छ ।

त्यसका लागि केही उपाय त होलान् नि, हैन र ?

उपायहरू छन् । हामीले त्यसतर्फ काम पनि गरिरहेका छौं । खासगरी टाढाका विद्यार्थीलाई तिमीहरू दीक्षान्तका लागि काठमाडौं नै आउनुपर्छ भन्नु पनि अस्वभाविक पक्ष हो । उनीहरूका लागि यो दोहोरो खर्च हुन्छ । त्यसैले हामीले अबका दिनमा क्षेत्रीय रूपमा दीक्षान्त समारोह आयोजन गर्ने हो कि ? तर कतिपय आंगिक क्याम्पसमा विद्यार्थी संख्या निकै कम देखिन्छ । ती कम संख्या भएका क्याम्पसको दीक्षान्त कसरी गर्ने भन्ने पनि उत्तिकै समस्या देखिन्छ । त्यसैले आवश्यकताका आधारमा हामीले दीक्षान्त कहाँ–कहाँ गर्ने, दीक्षान्तको विकेन्द्रीकरण पनि गर्नेतर्फ हामी छलफलमा छौं । त्यसैले प्रदेशस्तरीय दीक्षान्त समारोह गरी यसतर्फ आकर्षण बनाउन केही ऐन नियममा भएका व्यवस्थालाई परिमार्जन गरी नयाँ तरिका अवलम्वन पनि गरिरहेका छौं । अर्को कुरा, कुनै पनि विद्यार्थीका लागि यो गर्विलो क्षण हो । दीक्षान्तको यो गर्विलो क्षणलाई महसुस गराउन नसक्नु पनि विद्यार्थीहरूको आकर्षण घटेको हो कि ? त्यसैले हामीले यस्ता व्यवधानलाई पनि सम्बोधन गर्ने प्रयासहरू गरेका छौं ।

उच्च शिक्षा मात्रै प्रमाणपत्र ग्रहण गर्ने हिसाबले बुझ्नु भन्दा पनि विशिष्टीकृत शिक्षा आर्जन गरेको प्रमाण र औचित्य हो भन्ने कुरामा विद्यार्थीलगायत अभिभावक र समाजलाईसमेत बोध गराउन जोड दिनुपर्छ ।

यसैगरी दीक्षान्त समारोहमा विभिन्न रोजगारीमा संलग्न विद्यार्थीहरूलाई केही दिनका लागि बिदाको व्यवस्था उपलब्ध गराउने र ती विद्यार्थीहरूलाई रोजगार प्रदायक निकायहरूलाई विभिन्न माध्यमबाट जोड्न सकियो भने पनि दीक्षान्त समारोमा विद्यार्थीको उल्लेख्य संख्यामा उपस्थिति हुन सक्ने देखिन्छ । यस्ता कामहरू गर्न अझै बाँकी नै छन् । यी भएका खण्डमा दीक्षान्त समारोहमा विद्यार्थीहरू वृद्धि हुनेमा विश्वास गर्न सकिन्छ ।

अघि तपाईंले त्रिविमा विदेशी विद्यार्थीहरूलाई जोड्ने, उनीहरूको आकर्षण बढाउने विषयमा कुरा गर्दै हुनुहुन्थ्यो। तपाईंको मार्गचित्र कस्तो छ ?

हाम्रो विश्वविद्यालयमा नेपाली विद्यार्थीहरू मात्र पढ्दा एकआपसमा झै–झगडा मात्र गर्ने मनोवृत्ति पनि देखियो । यहाँ विदेशी विद्यार्थीहरूलाई ल्याउने कार्यक्रम जोड्न सके, विदेशी विद्यार्थीहरूलाई जोड्न अन्तर्राष्ट्रिय स्तरको होस्टेलको व्यवस्था गर्नु सबैभन्दा पहिलो जरुरी काम हो ।

त्यस्तै गुणस्तरीय शिक्षा प्रदान गर्न विषयगत तथा भाषागत समस्या नहुने अन्तर्राष्ट्रिय स्तरको दक्ष प्राध्यापक व्यवस्था गर्नु जरुरी छ । विदेशी विद्यार्थी समेट्नेगरी अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम निर्माण गर्न जरुरी छ । जब सबै किसिमका विद्यार्थीहरू एक ठाउँमा पढ्न बस्छन्, त्यो बेला नेपाली विद्यार्थीहरू पनि अनुशासित हुन्छन् । नत्र त आफूआफू लड्नेभिड्ने मात्र गर्नेहरू पनि हुन्छन् । आफ्नो देशको इज्जत जान्छ भनेर बन्द–हडताल रोक्नेतर्फ पनि विद्यार्थीहरू अग्रसर हुन सक्छन् ।

तर अन्तर्राष्ट्रिय विद्यार्थी आकर्षित गर्न त्यहीअनुरूपको पाठ्यक्रम, बन्दहडतालजस्ता कुरालाई निरुत्साहन, शैक्षिक क्यालेण्डरको नियमितताजस्ता कुरालाई प्राथमिकता दिनुपर्छ । फेरि हामीले मात्र यो काम गरेर हुँदैन, सरकारले पनि यसतर्फ अपेक्षित सहयोग गर्नुपर्छ । हाम्रो देशको जस्तो वातावरण छ, त्यति त अन्यत्र कतै छैन । हाम्रो देश कति रमणीय छ भन्ने त, हालै एनपीएलमा सहभागी हुन आएका खेलाडी तथा अन्य व्यक्तित्वहरूको प्रतिक्रियाबाट पनि बुझ्न सकिन्छ ।

यतिबेला हामी समारोहस्थल दशरथ रंगशालामा बसेर यो वार्ता गरिरहँदा भोलिको भव्य समारोहको झल्को दिइरहेको छ । त्यसमाथि नोबेल विजेता वैज्ञानिक ताकाआकी काजितालाई निम्त्याइएको रहेछ नि ?

यसपटक टोक्यो विश्वविद्यालयका प्राध्यापक नोबेल पुरस्कार विजेता वैज्ञानिक ताकाआकी काजिताले दीक्षान्त समारोहका लागि निम्त्याएका छौं । भौतिक शास्त्रमा सन् २०१९ मा पुरस्कार पाउनु भएका उहाँ सन् २०२० देखि २०२३ सम्म जापानको विज्ञान परिषद्को अध्यक्ष रहिसक्नु भएको छ भने २००८ देखि २०२२ सम्म टोक्यो विश्वविद्यालयको ब्रह्माण्डीय किरण अनुसन्धान संस्थाको निर्देशक रहेर काम गरिसक्नु भएको छ । उहाँले हाम्रो निमन्त्रणालाई स्वीकार्नु भनेको त्रिविको इज्जतको कुरा हो । त्यसै पनि हाम्रो र्‍याकिङ त्यति नराम्रो छैन । विश्वका प्रतिष्ठित १५ सय विश्वविद्यालयभित्र पर्छौं ।

यत्रो ठूलो संख्यामा विद्यार्थीहरू दीक्षित हुँदैछन्, कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?

१६ हजारभन्दा बढी विद्यार्थीहरूको सहभागिता हुने भएकाले हामीले पोहोरभन्दा काउण्टर बढाएका छौं । यसअघि ६३ वटा काउण्टर थिए, अहिले बढाएर ८० पुर्‍याएका छौं । यही काउण्टरबाट शैक्षिक योग्यताको प्रमाणपत्र लिने व्यवस्था मिलाएका छौं । अभिभावकका लागि बेग्लै बस्ने व्यवस्था मिलाएका छौं । दीक्षित विद्यार्थी तथा अभिभावकहरू गरी करिब ४० हजारभन्दा बढीको उपस्थिति रहने आकलन गरेका छौं । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्