नेभिगेशन
सूचना प्रविधि

एसएमसी एप्लिकेसनको नाममा १२ करोड ठगी

काठमाडौं — एसएमसी एप्लिकेशनमार्फत अनलाइन ठगी गर्ने गिरोह चलाएको आरोपमा ११ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एकजना चिनियाँ नागरिक र १० जना नेपाली छन् । प्रारम्भिक अनुसन्धानमा यो गिरोहले हालसम्म १२ करोड ८ लाख रुपैयाँभन्दा बढी ठगी गरेको खुलेको छ ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक ३७ वर्षीय ही जियाङजिङ, काठमाडौं बुढानिलकण्ठ–१० बस्ने रामेछापका २१ वर्षीय मिलन श्रेष्ठ, मण्डिखाटार बस्ने तनहुँका १९ वर्षीय सौगात थापा, लोलाङ बस्ने नुवाकोटका ३३ वर्षीय वीरबहादुर तामाङ, चितवन खैरहनी–६ की २३ वर्षीया सोनम खातुन, टोखा–८ बस्ने २३ वर्षीया प्रिया केसी, गुल्मी कालीगण्डकी–७ की २२ वर्षीया मोनिका गुरूङ, धादिङ गंगाजमुना–३ की २१ वर्षीया गीता गुरूङ, पर्सा वीरगंज–१ का ३७ वर्षीय नासिर मिया अनसारी, काठमाडौं–४ की ६६ वर्षीया सायरा खातुन र बाराका ६७ वर्षीय राम निवास कलवार छन् । उनीहरूलाई पक्राउ गरिएको प्रहरीले सोमबार सार्वजनिक गरेको  हो ।

उनीहरूले चितवन खैरहनी–६ मा एसएमसीएन एड्भर्टाइजिङ सर्भिस सेन्टर प्रालि नामक कम्पनीको आवरण प्रयोग गरी एसएमसी एप्लिकेसनमार्फत नेटवर्क विस्तार गरी ठगीको कारोबार सञ्चालन गर्दै आएको प्रहरीको अनुसन्धानमा खुलेको हो । प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले कम्पनी दर्ता भएको प्रमाणपत्र देखाइ कार्यालयसमेत स्थापना गरेर सर्वसाधारणमा यो पूर्णतया कानूनी काम हो भन्ने भ्रम फैलाएका थिए ।

तत्कालीन अनुसन्धानमा खुल्न आएको तथ्य अनुसार उनीहरूले विश्व प्रसिद्ध फिल्म कम्पनीहरू जस्तै युनिभर्सल, वार्नर ब्रोज, डिज्नीसँग सहकार्य रहेको र चलचित्रको विज्ञापन हेरेबापत पैसा पाइने झूटो दाबी गरी मानिसहरूलाई ‘एसएमसी’ मोबाइल एपमा आबद्ध गराएका थिए ।

नयाँ सदस्य भर्ना गरेबापत आकर्षक कमिसन दिने प्रलोभन देखाएर पोन्जी मोडल अनुसार पुराना सदस्यलाई नयाँ सदस्यको पैसाबाट प्रतिफल दिँदै आएका थिए ।

प्रहरीले प्रारम्भिक तथ्यांक अनुसार उनीहरूले हालसम्म १२ करोड ८ लाख १६ हजार ३ सय ७२ रुपैयाँ बराबर ठगी गरेको पत्ता लगाएको जनाएको छ ।

उनीहरूलाई तीय माध्यम सम्बद्ध ठगी तथा संगठित अपराधअन्तर्गत कार्बाहीका लागि काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सूचना प्रविधि