सामान्यतया निद्रा भन्नेबित्तिकै हामी जटिल मस्तिष्क भएका प्राणीहरूको विश्राम लिने प्रक्रिया भनेर बुझ्छौँ । तर, समुद्रको गहिराइमा बस्ने एउटा यस्तो जीव छ, जसको न त हड्डी हुन्छ, न त जटिल मस्तिष्क नै । अचम्मको कुरा त के छ भने, यो जीवको सुत्ने शैली र बानी ठ्याक्कै हामी मानिससँग मिल्दोजुल्दो पाइएको छ ।
न्यू साइन्टिस्टमा प्रकाशित समाचारअनुसार ‘जेली फिस’ नामक यो पारदर्शी जीव दिनको करिब ८ घण्टा मस्त निदाउँछ । हालै गरिएको एउटा अनुसन्धानले यस जीवको निद्रासम्बन्धी यस्ता रहस्यहरू खोलेको छ, जसले जीवविज्ञानको क्षेत्रमा नयाँ बहस सिर्जना गरिदिएको छ ।
मान्छेजस्तै सुत्ने बानी
इजरायलको बार–इलान विश्वविद्यालयका अनुसन्धानकर्ता लियोर एपेलबाउम र उनको टोलीले जेली फिसको निद्रामाथि लामो अध्ययन गरेको थियो । उनीहरूले जेली फिसको सुत्ने शैलीलाई मानिससँग तुलना गर्दै एउटा रोचक तथ्य पत्ता लगाएका छन् । ‘हामी मानिसहरू जसरी आफ्नो जीवनको करिब एक तिहाइ समय सुतेर बिताउँछौँ, जेली फिसले पनि ठ्याक्कै त्यसै गर्छ,’ एपेलबाउमले भनेका छन् ।
यो अनुसन्धानका लागि वैज्ञानिकहरूले क्यासिपिया एन्ड्रोमेडा प्रजातिको जेली फिस रोजेका थिए । यो प्रजातिलाई ‘अपसाइड–डाउन’ (उल्टो भएर बस्ने) जेली फिस पनि भनिन्छ किनभने यसले आफ्नो टेन्टकल्स (तन्तु)हरू माथि फर्काएर समुद्रको पिँधमा बस्न रुचाउँछ ।
कसरी थाहा भयो जेली फिसको सुताइ ?
वैज्ञानिकहरूले जेली फिसलाई विशेष ट्याङ्कीमा राखेर २४ घण्टासम्म क्यामेराको निगरानीमा राखेका थिए । दिनको उज्यालोमा यी जीवहरू प्रति मिनेट औसत ३७ पटक आफ्नो शरीर खुम्च्याउने गर्थे र निकै सक्रिय देखिन्थे । उनीहरूलाई खाना दिँदा वा उज्यालो पार्दा तुरुन्तै प्रतिक्रिया जनाउँथे, जसले उनीहरू बिउँझिरहेको सङ्केत गर्थ्याे ।
तर, रातको समयमा भने तिनको व्यवहारमा नाटकीय परिवर्तन देखियो । रातमा उनीहरूको शरीर खुम्चिने दर निकै कम भयो र खाना वा प्रकाशप्रति प्रतिक्रिया जनाउन पनि उनीहरूले धेरै समय लगाए । यही सुस्त अवस्थालाई वैज्ञानिकहरूले जेली फिसको ‘निद्रा’ भनेर परिभाषित गरेका छन् । रोचक कुरा त के छ भने, मानिसहरूले दिउँसो एक छिन झुपुक्क सुतेर ‘न्याप’ लिएजस्तै जेली फिसले पनि दिउँसोको समयमा करिब १ देखि २ घण्टासम्म छोटो निद्रा लिने गरेको पाइयो ।
निद्रा नपुग्दा झर्को मान्छ रातभर सुत्दा निद्रा पुगेन भने हामी भोलिपल्ट दिउँसो ढल्कन खोज्छौँ । जेली फिसको हकमा पनि यही नियम लागू हुन्छ । प्रयोगका क्रममा जब अनुसन्धानकर्ताहरूले रातको समयमा पानी चलाएर जेली फिसको निद्रामा अवरोध पुर्याए, त्यो बेला ती जीवहरू भोलिपल्ट दिउँसो निकै थकित र सुस्त देखिए ।
‘यो ठ्याक्कै हामी जस्तै हो, यदि रातभर सुत्न पाइएन भने हामी भोलिपल्ट दिनभर उँघ्छौँ किनकि हाम्रो शरीर थाकेको हुन्छ,’ एपेलबाउमले व्याख्या गरे । यसले के प्रमाणित गर्छ भने, निद्रा केवल जटिल मस्तिष्क भएका प्राणीका लागि मात्र होइन, बरु शरीरका कोषहरूका लागि पनि उत्तिकै आवश्यक छ ।
किन महत्वपूर्ण छ यो खोज ?
स्तनधारी प्राणीहरूमा निद्राले मेटाबोलिक फोहोर सफा गर्ने काम गर्छ । तर जेली फिसजस्ता दिमाग नभएका र न्यूरोनहरू शरीरभर जालोजस्तै फैलिएका जीवहरूमा निद्राको विकास किन भयो भन्ने कुरा अझै पनि रहस्यको विषय बनेको छ । यो खोजले पृथ्वीमा जीवहरूको विकासक्रम कसरी भयो र निद्राको आवश्यकता किन सुरु भयो भन्ने बुझ्न ठूलो मद्दत पुर्याउने वैज्ञानिकहरूको विश्वास छ ।
हेर्दा सानो यो समुद्री जीवले हामीलाई एउटा ठूलो पाठ सिकाएको छ— चाहे त्यो मानिस होस् वा मस्तिष्क नभएको जेली फिस, शरीरलाई स्वस्थ राख्न पर्याप्त निद्राको अरु कुनै विकल्प छैन ।