नेभिगेशन
सूचना प्रविधि

जीवनमा आश जगाउँदै ‘मर्‍यौ कि क्या हो ?’

सांघाई – हालैका हप्ताहरूमा, चीनभरि एउटा अलि भयावह नाम भएको एउटा एपले व्यापक चर्चा पाएको छ । यो एपले संसारकै दोस्रो ठूलो जनसंख्या भएको चीनमा बढ्दो एक्लोपन र युवापुस्ताको असन्तुष्टिलाई छोएको देखिन्छ । ‘आर यू डेड ?’ (मर्यौ कि क्या हो?) नाम दिइएको यो एप एक्लै बस्ने मानिसलाई लक्षित गरिएको हो । यसको अवधारणा सरल छ: प्रयोगकर्ताले हरेक दिन एपमा ‘चेक–इन’ गर्नुपर्छ । यदि लगातार केही दिन चेक–इन भएन भने, एपले स्वतः प्रयोगकर्ताले तोकेको आपतकालीन सम्पर्क व्यक्तिलाई सूचना पठाउँछ ।

राज्य–नियन्त्रित ट्याब्लोइड ‘ग्लोबल टाइम्स’का अनुसार, पछिल्ला हप्ताहरूमा यो एप अत्यन्तै भाइरल भएको छ र शनिबार एप्पलको सशुल्क एप स्टोरको शीर्ष स्थानमा पुगेको थियो । त्यसपछि यसबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि समाचार प्रकाशित गरे, जसका कारण डाउनलोड अत्यधिक बढ्यो । सोही दबाबपछि एपले आफ्नो नाम परिवर्तन गर्दै सदस्यता शुल्क पनि लागू गरेको छ ।

यस एपको लोकप्रियताले चीनभरि देखिँदै आएको एउटा ठूलो सामाजिक प्रवृत्तिलाई उजागर गर्छ । १.४ अर्ब जनसंख्या भएको चीनमा एक्लै बस्ने मानिसहरूको संख्या तीव्र रूपमा बढ्दै गएको छ । उनीहरू प्रायः अलगाव महसूस गरिरहेका छन् वा मानसिक स्वास्थ्यका चुनौतीसँग जुधिरहेका छन् ।

‘ग्लोबल टाइम्स’ ले रियल–इस्टेट अनुसन्धान संस्थाहरूलाई उद्धृत गर्दै जनाएअनुसार, सन् २०३० सम्म चीनमा एकल–व्यक्ति परिवारको संख्या २० करोडसम्म पुग्न सक्छ ।

यसका पछाडि केही मुख्य कारण छन् । चीनको जनसंख्या तीव्र रूपमा वृद्ध हुँदै गएकाले एक्लै बस्ने ज्येष्ठ नागरिकहरूको संख्या बढिरहेको छ । पछिल्लो दशकभरि, करोडौं युवा रोजगारीको खोजीमा आफ्ना गाउँ–घर छाडेर टाढाका शहरतर्फ सरेका छन् । यसले गाउँहरू सुनसान बन्दै गएका छन् भने वृद्ध अभिभावकहरू झन् एक्ला बनेका छन् ।

युवापुस्तामाझ पनि विवाह र डेटिङको दर घट्दो क्रममा छ । सन् २०२४ मा चीनमा भएका नयाँ विवाहको संख्या सन् १९८६ देखि सरकारले तथ्यांक सार्वजनिक गर्न थालेयताकै सबैभन्दा न्यून स्तरमा झरेको थियो । यसले जन्मदरमा आएको गिरावटलाई पनि प्रतिविम्बित गर्छ, जसलाई उल्ट् याउन सरकारले प्रयास गरे पनि सफलता पाएको छैन ।

यससँगै, पछिल्ला वर्षहरूमा युवामाझ डिप्रेसन, चिन्ता र निराशाको भावना व्यापक बनेको छ । ऐतिहासिकरूपमा उच्च युवा बेरोजगारी दरसँगै यी समस्याहरू बढेका छन् । यस्तो अवस्थामा, यति गम्भीर नाम भएको एपले देशभरका प्रयोगकर्तामा किन प्रभाव पारेको हो भन्ने बुझ्न गाह्रो छैन ।

एप स्टोरमा राखिएको विवरणमा भनिएको छ, ‘एक्लै भए पनि एकान्त होइन, तपाईंको सुरक्षामा साथ ।’ यसले ‘एक्लो कार्यालयकर्मी, घरबाट टाढा बस्ने विद्यार्थी, वा एकान्त जीवनशैली रोज्ने जो–कोही’सम्म पुग्ने उद्देश्य राखेको बताइएको छ ।

‘हराउनु नै सबैभन्दा डर लाग्दो कुरा’ धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले यो एपलाई स्वागत गरेका छन् । उनीहरूले आफूलाई कसैले ‘देखेको’ वा ढाडस मिलेको महसुस भएको बताएका छन् ।

चिनियाँ माइक्रोब्लगिङ प्लेटफर्म वेइबोमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘पहिलो पटक कसैले म जिउँदो छु कि मरेको छु भनेर चासो देखाएको छ ।’

अर्का प्रयोगकर्ताले एपको मूल्य (८ युआन, करिब १.१५ अमेरिकी डलर) उल्लेख गर्दै लेखेका छन्, ‘एक्लै बस्ने धेरै युवाका लागि यो ८ युआनको एप अन्तिम सम्मान जस्तै बनेको छ । सबैभन्दा डर लाग्दो कुरा एक्लोपन होइन, हराउनु हो ।’

हङकङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीका सामाजिक विज्ञान तथा सार्वजनिक नीतिका प्राध्यापक स्टुअर्ट गिटल–बास्टेनका अनुसार, यो प्रतिक्रियाले एपले ‘व्यक्तिहरू टुक्राटुक्रा भएर अलग–अलग परिरहेको, लामो कामका घण्टाका कारण सामाजिकरूपमा एक्लिएको अनुभूति’ समातेको देखाउँछ ।

‘धेरै युवाहरू आफूले चाहेजस्तो सामाजिक जीवन बिताउन सकेका छैनन्,’ उनले भने ।

तर उनले थपे, चिनियाँ समाजले यस एपवरपरको चर्चालाई एक्लो वृद्ध र युवालाई कसरी राम्रो सहयोग दिन सकिन्छ भन्ने सोच्ने प्रारम्भिक बिन्दुका रूपमा लिनुपर्छ ।

‘यदि यस्तो कुनै एप वा प्रविधिले एक जना मानिसलाई एक्लै मर्नबाट, वा आत्महत्या गर्नबाट जोगाउन सक्छ भने, र सानो भए पनि कुनै सम्बन्धको अनुभूति दिन सक्छ भने, त्यो निश्चय नै सकारात्मक हो,’ उनले भने, ‘तर यसले कहिल्यै पनि अर्थपूर्ण सामाजिक सम्बन्धको विकल्प बन्नुहुँदैन ।’

कतिपयले भने एपलाई अझ सकारात्मक वा तटस्थ नाममा पुनः ब्राण्ड गर्न पनि आग्रह गरेका छन् ।

‘ग्लोबल टाइम्स’ का पूर्व सम्पादक तथा टिप्पणीकार हु सिजिनले एक्ला वृद्धलाई सहयोग पुर्‍याउने एपको प्रशंसा गरे पनि यसको नाम ‘आर यू अलाइभ’ (के तपाईं जिउँदो हुनुहुन्छ?) राख्न सुझाव दिएका थिए ।

एपले यो सुझावलाई सुनेको जस्तो देखिन्छ । मंगलबार, विदेशी प्रयोगकर्ताबाट ठूलो ध्यान पाएपछि विश्वव्यापी संस्करणमा ‘डेमुमु’ नाम अपनाउने घोषणा गरेको छ । साथै, मूल्य १ युआनबाट बढाएर ८ युआन पुर्‍याइने पनि जनाएको छ ।

नयाँ नाममा पनि पुरानो नामको सानो संकेत भने राखिएको छ । विकासकर्ताहरूले एक राज्य–सम्बद्ध समाचार संस्थालाई बताएअनुसार, ‘डेमुमु’को ‘डे’ अंग्रेजी शब्द ‘डेथ’बाट लिइएको हो भने ‘मुमु’लाई अझ मैत्रीपूर्ण सुनिनका लागि जोडिएको हो ।

यसअघि वेइबोमा गरिएको एउटा पोस्टमा, विकासकर्ता टोलीले प्रयोगकर्ता र सञ्चारमाध्यमलाई धन्यवाद दिँदै आफूहरू सन् १९९५ पछि जन्मिएका तीन सह–संस्थापकको समूह भएको बताएका थिए ।

‘ग्लोबल टाइम्स’ का अनुसार टोलीको वक्तव्यमा भनिएको छ, ‘यति व्यापक ध्यान पाउँदा हामी सम्मानित र गहिरो रूपमा आभारी छौं ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्