नेभिगेशन
उपत्यका

पशुपति क्षेत्र विकास कोषले थाल्यो महाशिवरात्रिको तयारी

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रि पर्वको तयारी सुरु गरेको छ । तयारीका लागि कोषले अनौपचारिक छलफलसहित सेवा शिविर सञ्चालन गर्न चाहने धार्मिक, सांस्कृतिक, सामाजिक, शैक्षिक एवं औद्योगिक संघ संस्थाका लागि सूचना आह्वान गरेको छ ।

कोषले बिहीबार सूचना जारी गर्दै महाशिवरात्रिमा देशविदेशबाट आउने साधुसन्त, भक्तजन तथा तीर्थयात्रीका लागि निःशुल्क रुपमा भोजन, आवास, पिउने पानी, स्वास्थ्य सेवा, स्वयंसेवक सेवालगायतका विभिन्न प्रकारका सेवा शिविर सञ्चालन गरी सेवा प्रदान गर्न इच्छुक धार्मिक, सामाजिक, शैक्षिक, औद्योगिक संघसंस्था एवं प्रतिष्ठानबाट निवेदन आह्वान गरिएको सूचना अधिकारी अनिता भट्टले बताइन । सेवा सञ्चालन गर्न चाहनेले सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा नेपाल सरकारबाट प्रचलित कानुनबमोजिम दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपिसहित निवेदन आह्वान गरिएको छ ।

संस्थाहरूले सेवाको प्रकृति, संख्या, सेवा शिविर सञ्चालन हुने अवधिलगायतका आवश्यक विवरण स्पष्ट रुपमा उल्लेख गरी माघ २० गतेभित्र बुझाउने म्याद दिइएको छ । प्रक्रिया पुर्‍याइ आवेदन पेस नगर्नेलाई शिविर चलाउन ठाउँ उपलब्ध गराउन तथा सेवा कार्यमा सहभागी गराउन नसकिने पनि सूचना अधिकारी भट्टले बताइन । यस वर्षको महाशिवरात्रि पर्व रात्रिमा फाल्गुनकृष्ण चतुर्दशीका दिन आगामी फागुन ३ गते आइतबार परेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप उपत्यका