नेभिगेशन
अर्थतन्त्र

एकैदिन १ खर्ब बढ्यो लगानीकर्ताको सम्पत्ति

काठमाडौं । सेयर बजार परिसूचक नेप्से साताको पहिलो दिन आइतबार ५७.५५ अंकले बढेको छ । नेप्सेमा सूचीकृत सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक नेप्से २.१२ प्रतिशतले बढेर २७७२.१७ अंकमा उक्लिएको छ ।

आइतबार होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ३.३५ प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ १.७९, विकास बैंक १.६, वित्त १.७३, जलविद्युत् २.७४, लगानी २.४, जीवन बिमा २.०३, उत्पादन तथा प्रशोधन २.९७, लघुवित्त १.६, म्युचुअल फन्ड ०.९७, निर्जीवन बिमा १.९७, अन्य १.५७ र व्यापार १.५२ प्रतिशतले बढेको छ ।

आठवटा कम्पनीको सेयर मूल्यमा सकात्मक सर्किट लागेको छ । एसवाई प्यानल, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, बन्दीपुर केबलकार एन्ड टुरिजम, हिम स्टार ऊर्जा कम्पनी, माबिलुङ इनर्जी, रिलायन्स फाइनान्स र आँखुखोला जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै, त्रिशूली जलविद्युत कम्पनी, क्रिस्ट माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल वेयर हाउजिङ कम्पनी, बरुण हाइड्रोपावर, स्वस्तिक लघुवित्तलगायतका कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । कुल २४० कम्पनीको सेयर मूल्य बढ्दा १९ वटाको घटेको छ भने एउटाको सेयर मूल्य स्थिर छ ।

आइतबार सबैभन्दा धेरै आँखुखोला जलविद्युत कम्पनीको ४३ करोड ५८ लाख, ग्रिन भेन्चर्सको ३९ करोड ७७ लाख, शिवम् सिमेन्ट्सको ३२ करोड, युनाइटेड मोदी हाइड्रोपावरको ३० करोड १४ लाख र बन्दीपुर केबलकारको २९ करोड ६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बिहीबार ९ अर्बहाराहारीको कारोबार भएको सेयर बजारमा आइतबार १३ अर्ब ७८ करोड ५७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

नेप्सेमा उच्च अंकको वृद्धि हुँदा कुल बजार पुँजीकरण झन्डै १ खर्बले बढेको छ । बिहीबार कुल बजार पुँजीकरण ४५ खर्ब ५७ अर्ब ८९ करोड रहेकोमा आइतबार ४६ खर्ब ५४ अर्ब ५३ करोड नाघेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्