नेभिगेशन
अर्थतन्त्र

एसियन हाइवे दुई वर्षमा ३५ प्रतिशत प्रगति

मोरङ । सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ काँकरभिट्टाबाट लौकही सडकखण्डमा निर्माण सुरु भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको छ ।

आइतबारदेखि झापाको पाडाजुगीबाट पश्चिम सडक पहिलो चरणको एक लेन कालोपत्रे सुरु भएको आयोजनाअन्तर्गत पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले जानकारी दिए । निर्माण सम्झौता भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको हो ।

प्रमुख प्रजापतिका अनुसार एसियन राजमार्ग नं २ अन्तर्गत काँकरभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५.७६ किमि सडक मात्र ठेक्का लागेर काम भइरहेको छ । पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको हो ।

हालसम्म दुवै खण्डमा गरी करिब २० किलोमिटर एकतर्फी सडकमा पहिलो चरणको कालोपत्र सकिएको छ । आयोजना पूर्वीखण्ड दमक कार्यालयका प्रमुख सुनीलबाबु पन्तका अनुसार पूर्वीखण्डमा पनि करिब ३५ प्रतिशत काम सम्पन्न भएको छ ।

निर्माण सामग्री उपलब्धतामा सहजता भएमा कामले तीव्रता पाउने पन्तले बताए । पूर्वी खण्डमा बिजुलीका खम्बा सार्ने काम करिब ८० प्रतिशत सकिएको छ भने पश्चिम खण्डमा करिब ४० प्रतिशत मात्र काम भएको छ । बजार क्षेत्रका खम्बा सार्न बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पूर्वी खण्डका ठूला पुल निर्माणमा २३ प्रतिशत प्रगति भएको छ भने पश्चिम खण्डमा २५ प्रतिशत प्रगति भएको छ ।

एसियन हाइवे थाइल्याण्डको बैंककबाट सुरु भई म्यान्मा, बंगलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाका साथ एसियाली विकास बैंकको आर्थिक सहयोगमा २०८० माघ १९ देखि सडक निर्माण काम सुरु भएको हो ।

आयोजना निर्माणमा ३० करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । तीन वर्गमा निर्माण हुने उक्त सडक बजार क्षेत्र, जंगल क्षेत्र र ग्रामीण क्षेत्र भनेर छुट्याइएको छ । बजार क्षेत्रमा ५० मिटर, जंगल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्