नेभिगेशन
अर्थतन्त्र

‘पर्यटन विस्तारका लागि फितुर ऐतिहासिक अवसर’

काठमाडौं । युरोपकै सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय पर्यटन मेला फितुर २०२६ मा नेपालको सक्रिय उपस्थितिले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको छवि थप मजबुत बन्नुका साथै अन्तर्राष्ट्रिय साझेदारी र व्यापार विस्तारका लागि ऐतिहासिक अवसर भएको सहभागीहरूले बताएका छन् । स्पेनको मड्रिडमा जनवरी २१ देखि २५ सम्म सम्पन्न ४६औं संस्करणको फितुरले नेपाललाई पश्चिम युरोपेली बजारमा विविध पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न रणनीतिक भूमिका खेलेको उनीहरूको भनाइ छ ।

फितुर २०२६ मा नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ ट्राभल एण्ड टुर एजेन्सीजको संयुक्त सहकार्यमा ३० वटा नेपाली ट्राभल, टुर तथा पर्यटन उद्यमी संस्थाहरू सहभागी भएका थिए । मेलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, बोर्डका सीईओ दिपकराज जोशीसहित अधिकारीहरूको सहभागिता थियो ।

नेपाल पभेलियन उद्घाटन समारोहमा पर्यटन सचिव निरौलाले नेपाली पर्यटन व्यवसायीलाई बधाई दिँदै यस्ता अवसरलाई नेपालले सदुपयोग गर्नुपर्ने बताए । त्यस्तै पर्यटन बोर्डका सीईओ जोशीले नेपाल केवल ट्रेकिङ र पर्वतारोहण मात्र नभई संस्कृति, जातीय विविधता, भाषा, जैविक विविधता र दिगो पर्यटनका लागि पनि उत्कृष्ट गन्तव्य भएको सन्देश अन्तर्राष्ट्रिय बजारमा प्रवाह भएको उल्लेख गरे ।

मेलाको दोस्रो दिन आयोजित ‘नेपाल कनेक्ट’ नेटवर्किङ कार्यक्रममा ५० भन्दा बढी अन्तर्राष्ट्रिय टुर अपरेटरहरू सहभागी भएका थिए । कार्यक्रममा सचिव निरौलाले विदेशी व्यवसायीलाई नेपाली पर्यटन उद्यमीसँग सहकार्य गर्न आग्रह गर्दै गुणस्तरीय सेवा र सुरक्षित पर्यटनको सुनिश्चितता व्यक्त गरे । कार्यक्रममा स्पेनस्थित नेपाली दूतावास, यूएन टुरिजम, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम, ब्लगर, भ्लगर तथा इन्फल्युन्सरहरूको उपस्थिति थियो ।

नेपाल पेभेलियनमा अन्तिम दुई दिन आयोजना गरिएको नेपाली सांस्कृतिक कार्यक्रम मेलाको प्रमुख आकर्षण बन्यो । नेपाली नृत्य, गीत, संगीत र संस्कृतिको विविध प्रस्तुतीले ठूलो संख्यामा दर्शक तान्यो । मलेसियाका कलाकारहरूले समेत सहभागिता जनाउँदै कार्यक्रमलाई थप जीवन्त बनाएका थिए । यस वर्षको फितुर २०२६ मा ६१ देशका करिब १० हजार कम्पनी सहभागी भएका थिए, जुन अघिल्लो वर्षको तुलनामा ५ प्रतिशतले बढी हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्