नेभिगेशन
अर्थतन्त्र

यातायात सुधारका लागि १० बुँदे निर्देशन

मोरङ । कोशी प्रदेशसभाको न्याय, प्रशासन तथा विधायन समितिले प्रदेशका यातायात व्यवस्था कार्यालयहरूको स्थलगत अनुगमनपछि तयार पारेको प्रतिवेदन र सुझावसहितको १० बुँदे निर्देशन सरकारलाई बुझाएको छ । सोमबार बसेको समितिको बैठकपछि समितिकी सभापति कमला दर्नालले आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीलाई प्रतिवेदन हस्तान्तरण गरेकी हुन् ।

प्रतिवेदनमा इटहरीस्थित यातायात व्यवस्था कार्यालयको अवस्थालाई गम्भीररूपमा चित्रण गरिएको छ । प्रतिवेदन अनुसार ‘जेनजी’ आन्दोलनका क्रममा भएको आगजनीबाट कार्यालयका महत्वपूर्ण दस्तावेज र अभिलेख जलेर नष्ट भएका छन् । त्यसकारण सवारीसाधन नामसारी, नवीकरण तथा लाइसेन्स वितरणजस्ता संवेदनशील सेवामा गम्भीर समस्या देखिएको उल्लेख छ ।

हाल कार्यालयले झ्याल–ढोकामा पाल टाँगेर सेवा प्रवाह गरिरहेको जनाइएको छ । उदयपुरमा लाइसेन्स वितरण गर्ने कार्यालय र सवारीतर्फको कार्यालय टाढा–टाढा रहेकाले सेवाग्राहीले कठिनाइ भोग्नुपरेको र दुवै कार्यालयलाई नजिकै व्यवस्थापन गर्न समितिले सुझाव दिएको छ ।

धनकुटा, विराटनगर र ओखलढुंगाका यातायात कार्यालयहरू भाडाको साँघुरो भवनमा सञ्चालन हुँदा पार्किङमा समस्या देखिएको प्रतिवेदनमा उल्लेख छ । धनकुटा, इलाम र उदयपुरका कार्यालयमा बैंकको उपस्थिति नहुँदा संकलित नगद राजस्व साँझ बैंकसम्म पुर्‍याउँदा सुरक्षा चुनौती उत्पन्न भएको समितिको ठहर छ ।

कानूनी तथा प्रक्रियागत सुधारका सन्दर्भमा विदेशमा रहेका सवारीधनीको स्वामित्व हस्तान्तरणमा विद्यमान कानूनी व्यवस्थाले अवरोध सिर्जना गरेको गुनासो आएपछि त्यसमा संशोधन गर्न निर्देशन दिइएको छ । अपांगता भएका व्यक्तिले चलाउने अपांगमैत्री सवारीका लागि लाइसेन्स वितरणसम्बन्धी स्पष्ट कानूनी व्यवस्था गर्न तथा विद्युतीय सवारीको प्रयोगात्मक परीक्षा (ट्रायल) विद्युतीय साधनबाटै लिन पाउने व्यवस्था मिलाउन समितिले सरकारलाई निर्देशन दिएको छ ।

प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन र नियमावली बने पनि मजदुर संगठनका प्रतिनिधि मनोनयन नहुँदा ‘यातायात व्यवस्थापन समिति’ पूर्ण नहुँदा काम प्रभावित भएको प्रतिवेदनमा औंल्याइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्