काठमाडौं, ८ भदौ - मुलुकको अर्थतन्त्र विगतका वर्षको तुलनामा सुधारोन्मुख देखिएको छ । मुद्रास्फीति वाञ्छित सीमाभित्र रहँदा वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्स हालसम्मकै उच्च स्तरमा पुगेको छ । रेमिट्यान्स आप्रवाहमा देखिएको तीव्र वृद्धिका कारण शोधनान्तर खाता, चालु खाता तथा विदेशी मुद्रा सञ्चितिमा उल्लेखनीय सुधार भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
यी सूचकले अर्थतन्त्रमा तत्कालका लागि सकारात्मक सन्देश दिएको छ । तर, रेमिट्यान्समा आएको वृद्धिले सुधारिएका सूचकहरूका कारण अन्तर्राष्ट्रिय स्तरमा समस्या हुने वित्तीकै कुनै पनि बेला नेपालको अर्थतन्त्रमा पनि असन्तुलन आउने जोखिम कायम नै छ । दीर्घकालीन
स्थायित्वका लागि रेमिट्यान्समा मात्रै निर्भर रहँदा अर्थतन्त्रकमा कुनैपनि बेला समस्या आउन सक्छ । त्यसका लागि उत्पादन र निर्यातमा पर्याप्त वृद्धि अपरिहार्य छ ।
मूल्यवृद्धि वाञ्छित सीमाभित्रै
वार्षिक औसत उपभोक्ता मुद्रास्फीति (महँगी) ४.०६ प्रतिशत कायम भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१-८२को तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा महँगी वृद्धि केही कम देखिएको हो । आर्थिक वर्ष २०८०-८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत थियो । गत आर्थिक वर्षमा सरकारले मुद्रास्फीति ५.५ प्रतिशतको सीमाभित्र रहने अनुमान गरेको थियो ।
मूल्यवृद्धि वाञ्छित सीमाभित्र भए पनि गैरखाद्य वस्तुमा भन्दा दैनिक उपभोग्य खाद्य वस्तुमा मूल्य बढेको देखिन्छ । उपभोक्ताको भान्सामा प्रयोग हुने तरकारी समूहको मूल्यवृद्धि १०.७१ प्रतिशत पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षमा ८.२९ प्रतिशत थियो । यसबाहेक अन्य खाद्य वस्तुको मूल्यवृद्धिमा भने केही कमी आएको छ ।
तथ्यांकअनुसार गत आर्थिक वर्षमा घ्यू तथा तेलको ८.७२ र दाल तथा गेडागुडीको ७.९० प्रतिशत मूल्यवृद्धि छ । अघिल्लो आर्थिक वर्षमा घ्यू तथा तेलको १०.९९, दाल तथा गेडागुडीको ९.९६ प्रतिशत थियो । गतवर्ष मरमसला उपसमूहको मूल्य सूचकांक २.६२ प्रतिशत र माछा तथा मासुको ०.३४ प्रतिशतले घटेको देखिएको छ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरू उपसमूहको मूल्यवृद्धि ९.३९, कपडाजन्य तथा जुत्ताचप्पलको ६.०९, मदिराजन्य पेय पदार्थको ५.६५, फर्निसिङ तथा घरायसी उपकरणको ४.७८ र सुर्तीजन्य पदार्थको ४.३७ प्रतिशत छ ।
त्यस्तै, गत आर्थिक वर्षमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.६९ प्रतिशत छ । अघिल्लो वर्ष उक्त समूहको मुद्रास्फीति ६.४७ प्रतिशत रहेको थियो । गैरखाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.७१ प्रतिशत रहेको छ ।
अघिल्लो वर्ष उक्त समूहको मुद्रास्फीति ४.६४ प्रतिशत थियो । गत वर्ष काठमाडौँ उपत्यकाको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ३.७७, तराईको ४.१४, पहाडको ३.८६ र हिमालको ४.८९ प्रतिशत छ । यस्तै, ग्रामीण क्षेत्रको वार्षिक औसत उपभोक्ता मूल्य सूचकांक ४.४० प्रतिशत र सहरी क्षेत्रको ३.९४ प्रतिशतले बढेको छ ।
‘अर्थतन्त्रको गतिरोधमा कुनै सुधार छैन’
रेमिट्यान्समा आएको वृद्धिका कारण सुधारिएका सूचकहरूबाट अर्थतन्त्रको गतिरोधमा सुधार भएको मान्न सकिँदैन । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक एवं अर्थशास्त्री नरबहादुर थापाले दीर्घकालीन स्थायित्वका लागि रेमिट्यान्समा मात्रै निर्भर हुन नहुने बताए । उनले भने, ‘रेमिट्यान्सले अर्थतन्त्रलाई थामेको अवस्था हो, यो भनेको वनमारा जस्तै हो, जसले कृषि र उद्योग चौपट हुन्छ, तर सेवा क्षेत्रमा केही सहयोग पुगेजस्तो देखिन्छ ।’ उनले अहिले पनि अर्थतन्त्रमा गतिरोध नै रहेको बताए ।
उपभोग गर्ने जनसंख्या जति विदेश गएकाले उत्पादन बढ्न नसकेको उनले बताए । विदेशी मुद्रा सञ्चितिमा उच्च वृद्धि हुनु पनि समस्या भएको उनले बताए । ‘अर्थतन्त्रमा रहेको गतिरोधमा कुनै सुधार आएको छैन, गतिशील भएको छैन, अर्थतन्त्रमा बोसो पलाएको छ, यसरी वैदेशिक मुद्रा सञ्चिति बढ्दै जानुले अर्थतन्त्रमा राम्रो संकेत गर्दैन ।’ युवाहरूले देश छोडेर पठाएको रेमिट्यान्सबाट बढेको अर्थतन्त्रलाई राम्रो मान्न नसकिने उनको तर्क छ । उत्पादन बढाइ निर्यात गर्ने परिपाटी नहुँदासम्म अर्थतन्त्रमा स्थायित्व आउन नसक्ने पनि थापाले बताए । उनले भने, ‘निर्यात बढेर सञ्चिति बढेको भए राम्रो हो, किनभने निर्यात बढेको भए उत्पादनमा वृद्धि हुन्थ्यो ।’
प्रदेशगत रूपमा कोशीको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.४६, मधेशको ४.१४, बागमतीको ३.५७, गण्डकीको ३.३२, लुम्बिनीको ३.७०, कर्णालीको ३.३१ र सुदूरपश्चिम प्रदेशको ५.०२ प्रतिशत छ ।
एक वर्षमा भित्रियो १७ खर्ब २३ अर्ब रेमिट्यान्स
रोजगारीमा गएकाहरूबाट प्राप्त हुने रेमिट्यान्स पछिल्लो एक वर्षमा १९.२ प्रतिशत बढेको छ । आर्थिक वर्ष २०८१-८२मा १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १९.२ प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्ष २०८०-८१मा १४ खर्ब ४५ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएको थियो । गतवर्ष अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशत बढेर १२ अर्ब ६४ करोड पुगेको छ ।
शोधनान्तर बचत पाँच खर्ब ९४ अर्ब
शोधनान्तर स्थितिमा पनि अघिल्लो वर्षमा भन्दा सुधार भएको छ । आर्थिक वर्ष २०८१-८२मा शोधनान्तर स्थिति पाँच खर्ब ९४ अर्ब ५४ करोड रुपैयाँ बचतमा छ । जुन अघिल्लो वर्ष पाँच खर्ब दुई अर्ब ४९ करोड बचतमा थियो । निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको सारांश शोधनान्तर स्थिति हो ।
शोधनान्तर बचत भएमा बाह्य क्षेत्र कारोबारबाट विदेशी मुद्रा आप्रवाह बढ्छ भने घाटा भएमा विदेशी मुद्रा बाह्य प्रवाह बढी हुन जान्छ । अर्थात् विदेशी मुद्रामा आयात भुक्तानी र बाह्य ऋण तिर्ने क्षमता बलियो भएको संकेत गर्छ । तथ्यांकअनुसार अघिल्लो वर्ष अमेरिकी डलरमा ३ अर्ब ७७ करोड बचतमा रहेको शोधनान्तर स्थिति अहिले बढेर ४ अर्ब ३७ करोड पुगेको छ ।
यस्तै, चालु खाता ४ खर्ब ९ अर्ब २० करोडले बचतमा छ । अघिल्लो वर्ष २ खर्ब २१ अर्ब ७१ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष १ अर्ब ६७ करोडले बचत रहेको चालु खाता गत असारसम्म बढेर ३ अर्ब १ करोडले बचतमा छ । चालु खाता भनेको निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति वा संस्थाबीच भएका चालु प्रकृतिका आर्थिक कारोबारको सारांश हो ।
चालु खाता घाटा भएमा अन्य देशहरूबाट खुद सापटी लिइएको र बचत भएमा अन्य देशहरूलाई खुद सापटी दिइएको भन्ने बुझन्छि । चालु खाता बचत बढ्दै जानु भनेको देशले विदेशसँग धेरै कमाएर कम खर्च गरिरहेको छ भन्ने हो । तर यसको कारण के हो भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड डलर
रेमिट्यान्स आप्रवाह बढ्दै जाँदा विदेशी मुद्रा सञ्चितिमा पनि वृद्धि भएको छ । २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेको विदेशी मुद्रा सञ्चिति २०८२ असार मसान्तसम्म २७.७ प्रतिशत बढेर १९ अर्ब ५० करोड अमेरिकी डलर पुगेको छ । नेपाली रुपैयाँमा विदेशी विनिमय सञ्चिति २०८१ असारमा २० खर्ब ४१ अर्ब १० करोड रहेकोमा २०८२ असार मसान्तसम्म ३१.२ प्रतिशत वृद्धि भई २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ बराबर छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ छ । बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १८ महिना ६ दिनको वस्तु आयात र १५ महिना १२ दिनको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
विदेशी मुद्रा सञ्चिति बढ्नु अर्थतन्त्रका लागि सामान्यतया सकारात्मक संकेत हो । जसले आयात क्षमता बढ्छ, विनिमय दरमा स्थिरता आउँछ, सरकारको ऋण तिर्ने क्षमतामा वृद्धि हुन्छ, विदेशी लगानी आकर्षित गर्न सजिलो हुन्छ भने देशमा आर्थिक स्थायित्व कायम गर्न सजिलो हुन्छ । सञ्चिति वृद्धि निर्यात र उत्पादन बढेर भएको हो भने अर्थतन्त्रमा दीर्घकालीन फाइदा हुन्छ । तर रेमिट्यान्स बढेर, आयात घटेर वा ऋण प्राप्तिबाट मात्रै भएको हो भने त्यो अस्थायी हुन सक्छ ।
विदेश भ्रमण र शिक्षामा दुई खर्ब २३ अर्ब बाहिरियो
पछिल्लो एक वर्षमा नेपालबाट विदेश घुम्न र अध्ययन गर्न जानेहरूले २ खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ खर्च गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा १८.१ प्रतिशत धेरै हो । विदेशमा पढ्ने विद्यार्थीले मात्रै एक वर्षमा एक खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ बराबर खर्च गरेका छन् । नेपालबाट विदेश घुम्न जानेहरूले ८५ अर्ब २४ करोड रुपैयाँ खर्च गरेका छन् ।
अघिल्लो वर्ष भ्रमण व्यय एक खर्ब ८९ अर्ब ४३ करोड रहेकोमा शिक्षातर्फ एक खर्ब २५ अर्ब १३ करोड खर्च भएको थियो । विदेशबाट नेपाल घुम्न आउने पर्यटकले गत आर्थिक वर्षमा ८८ अर्ब ६६ करोड खर्च गरेका छन् । जुन अघिल्लो वर्ष ८२ अर्ब ३३ करोड रुपैयाँ थियो । खुद सेवा आय ९० अर्ब ९४ करोडले घाटामा छ । अघिल्लो वर्ष ५५ अर्ब ८६ करोडले घाटामा थियो ।