नेभिगेशन
अर्थतन्त्र

पर्वतबाट ३२ करोडको सुन्तला निर्यात

पर्वत । पर्वतबाट ३२ करोड रुपैयाँको सुन्तला निर्यात भएको छ । जिल्लाको सबैभन्दा बढी सुन्तला उत्पादन हुने स्थान बाँसखर्कबाट मात्र २० करोड रुपैयाँको सुन्तला निर्यात भएको छ ।          

त्यस्तै मल्लाजको पूर्णगाउँ, रातमाटा, शालिजा, भोटेडाँडा, मोदी गाउँपालिकाको देउपुर, बाजुङ, चित्रे, फलेवास नगरपालिकाको कुर्घा, पाङराङ, ठानामौला, लिमिठानालगायत स्थानमा उत्पादन भएका सुन्तला जिल्लाबाट अन्यत्र निर्यात भएको छ । कार्यालयका अनुसार यो वर्ष तीन हजार ४२१ मेट्रिकटन सुन्तला उत्पादन भएर निर्यात भएको छ । कृषकले प्रतिकिलो ९५ देखि १२० रुपैयाँसम्म बोटबाटै बिक्री भएको कृषि विकास कार्यलयले जनाएको छ । कार्यालयका सूचना अधिकारी सोविता सुवेदीले पर्वतमा चालु आर्थिक वर्षमा सुन्तला उत्पादन पनि राम्रो भएको र बजार मूल्य पनि राम्रो पाएको जानकारी दिए ।            

व्यावसायिक रुपमा सुन्तलाखेती गरिरहेका किसान यो वर्ष सुन्तलाको राम्रो मूल्य पाएको भन्दै हर्षित बनेका छन् । गाउँ–गाउँमा सडकको सुविधा पुगेसँगै काठमाडौँ , नारायणगढ, पोखरालगायत स्थानबाट व्यापारीले बगानमै आएर सुन्तला लगेका थिए ।        

गाउँमा सडक पुगेपछि आफैँले लगेर काठमाडौँ तथा बुटवलका बजारमा बिक्री गर्न पाएको तथा बजारका व्यापारी पनि गाउँमै आएर सुन्ताल किनेर लाने गरेको किसानहरूले बताएका हुन् । एउटै टोलबाटै एक करोडदेखि डेढ करोडसम्म सुन्तला बिक्री गर्न सफल भएको फलेवास नगरपालिका–११ का कृषक रामप्रसाद गौतमले बताए । सुन्तला कृषकलाई प्रोत्साहन दिनका लागि प्रदेश सरकार र स्थानीय तहहरूले पनि विभिन्न सहयोग गर्दै आएका छन् । किसानलाई विभिन्न स्थलगत तालिम दिनेदेखि, गोडमेल गर्ने, चुन, नीलोतुथो जस्ता विषादी पनि दिने गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्