नेभिगेशन
अर्थतन्त्र

बुढीगण्डकीमा लगानी गर्न निजी क्षेत्र तयार

काठमाडौं, माघ १५

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माण कार्य तत्काल अगाडि बढाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको १०औँ धादिङ महोत्सवमा उनले लामो समयदेखि चर्चामा रहेको १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना अगाडि बढाउनुपर्नेमा विशेष जोड दिए ।            

नेपालभरका उद्यमी, व्यवसायी तथा लगानीकर्ताको लगानीमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी स्थापना गरिएको र यस आयोजनामा स्रोतको कमी भएको भए निजी क्षेत्रको तर्फबाट यस कम्पनीमार्फत लगानी गर्न आफूहरू तयार रहेको उनले बताए ।                    

नेपालमा जलविद्युत विकासको अपार सम्भावना रहेको उनले बताए । अध्यक्ष ढकालले जलविद्युतको विकाससँगै यहाँका खनिज, कृषि उत्पादन तथा अन्य व्यवसायको सम्भावनालाई पनि थप उजागर गर्न सहयोग पुग्ने धारणा राखे ।                  

धादिङ जिल्लामा रहेका कुनै पनि सम्भावनाका क्षेत्रहरू जस्तैः खनिज, कृषि तथा अन्य कुनै पनि उद्यम, व्यवसायमा लगानी गर्न एनडीपी तयार रहेको उनले उल्लेख गरे । निजी क्षेत्रले कुनै पनि आयोजना तोकिएको समयमा, तोकिएको गुणस्तर र तोकिएकै बजेटमा सम्पन्न गर्ने गरेको उनले स्पष्ट पारे ।                

‘भदौको जेन–जी आन्दोलनका क्रममा निजी क्षेत्रका धेरै उद्योग, कलकारखाना, होटल तथा व्यावसायिक प्रतिष्ठानहरूमा आगजनी र क्षति भएको अवस्था थियो । तर, निजी क्षेत्रका धेरैजसोले अहिले ती व्यवसाय मर्मत, सम्भार र पुनर्निर्माण गर्दै सञ्चालनमा समेत ल्याई सकेका छौँ । निजी क्षेत्र कुनै पनि आयोजना तोकिएको समयमा, तोकिएको गुणस्तर र तोकिएकै बजेटमा सम्पन्न गर्ने गरेका छौँ,’ अध्यक्ष ढकालले भने ।                    

निजी क्षेत्रमाथि भएका धरपकड र निजी व्यवसायमाथि गरिएको प्रहारले निजी क्षेत्र भयभित भएको उनले बताए । ‘निजी क्षेत्रले उत्पादन गरेको छ । पूर्वाधार निर्माण गरेको छ । सेवा दिएको छ । रोजगारी सिर्जना गरेको छ । राजश्व तिरेको छ तर यो निजी क्षेत्र किन सधैँ उपेक्षित भएको हो ?’ उनले प्रश्न गरे ।                  

अध्यक्ष ढकालले स्थानीय रुपमा आयोजना गरिने मेला महोत्सवहरूले स्थानीय उत्पादनको प्रवर्धन तथा बजारीकरणमा उल्लेख्य भूमिका निर्वाह गर्ने बताए । यस्ता मेला महोत्सवहरूलाई महासंघले सदैव प्राथमिकतामा राख्ने गरेको उनले स्पष्ट पारे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्