नेभिगेशन
अर्थतन्त्र
मूल्य विश्लेषण प्रतिवेदन सार्वजनिक

खाद्यवस्तुको मूल्यमा विचौलिया हावी

सिन्डिकेट र कार्टेलिङ अन्त्य गर्दै स्वच्छ प्रतिस्पर्धी बजार निर्माण गर्न तथा नियमितरूपमा बजार अनुगमन गर्नुपर्ने सुझाव पनि अध्ययनमा समेटिएको छ ।

काठमाडौं । खाद्यवस्तुको मूल्य निर्धारणमा उत्पादकभन्दा विचौलिया हावी भएको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको पुस महिनाको मूल्य विश्लेषण प्रतिवेदनले बजारमा देखिएको मूल्य उतारचढावको मुख्य कारण विचौलिया रहेको औंल्याएको हो ।                

विभागका अनुसार तरकारी, फलफूललगायतका खाद्यान्नको मूल्य उत्पादन लागतअनुसार नभई विचौलियाको चलखेलका कारण अस्थिर बन्ने गरेको छ । प्रतिवेदनमा मूल्य स्थिरता कायम गर्न सरकारी संस्थानहरूलाई सक्षम बनाउँदै वैकल्पिक व्यापारिक संरचनाको विकास गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।                  

यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न संस्थान, सहकारी, व्यापारिक सञ्जाल तथा साझेदारीजस्ता माध्यममार्फत बजार व्यवस्थापन गर्नुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ । मूल्य नियन्त्रणका लागि उत्पादन वृद्धि, वितरण तहको कटौती, आपूर्ति व्यवस्थापन सुदृढीकरण तथा विचौलियाबाट हुने अनावश्यक मूल्यवृद्धिको अन्त्य आवश्यक रहेको विभागको निष्कर्ष छ ।                          

त्यसैगरी, सिन्डिकेट र कार्टेलिङ अन्त्य गर्दै स्वच्छ प्रतिस्पर्धी बजार निर्माण गर्न तथा नियमितरूपमा बजार अनुगमन गर्नुपर्ने सुझाव पनि अध्ययनमा समेटिएको छ । विभागले विराटनगर, वीरगंज, भैरहवा, नेपालगंज, धनगढी र काठमाडौंमार्फत खाद्य तथा अन्य उपभोग्य वस्तुको न्यूनतम र अधिकतम मूल्य अध्ययन गरेको हो ।                    

प्रतिवेदनअनुसार पुसमा विभिन्न सहरमा सोना मन्सुली, स्टिम जिरा, जनरल जिरा र मोटा चामलको मूल्यमा सामान्य उतारचढाव देखिएको छ । मंसिरको तुलनामा सोना मन्सुली चामलको मूल्य घटेको छ भने बासमती चामलको मूल्य बढेको छ ।              

यस्तै, दालको मूल्यमा केही वृद्धि भएको छ भने गेडागुडीको मूल्यमा सामान्य परिवर्तन देखिएको छ । राज्माको मूल्यमा मध्यम उतारचढाव पाइएको छ । तरकारी तथा मसलाजन्य वस्तुको औसत मूल्यमा मध्यम उतारचढाव देखिएको भए पनि आलु, काउली र प्याजको मूल्यमा सामान्य परिवर्तन देखिएको छ । अदुवा, गोलभेंडा, सुकेको लसुन र सुकेको खुर्सानीजस्ता मसलाजन्य खाद्यवस्तुको मूल्यमा भने ठूलो उतारचढाव देखिएको छ ।                      

फलफूलतर्फ स्याउ, अनारलगायतका मूल्यमा असामान्य उतारचढाव देखिएको छ, जसले विभिन्न सहरमा समान अनुपातमा मूल्य परिवर्तन भएको संकेत गर्छ । माछा, मासु र अण्डाको औसत मूल्यमा भने सामान्य परिवर्तन देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्