नेभिगेशन
उपत्यका

भूमिसेवा वडामैः कर्मचारी तालिमसहित कार्यान्वयन सुरु

काठमाडौं (संवाददाता)– वडास्तरबाट भू–प्रशासन सेवा प्रारम्भ गर्ने तयारीस्वरूप काठमाडौं महानगरपालिकाले कर्मचारीहरूको क्षमता विकास तालिम सुरु गरेको छ । महानगरको ४७ औं कार्यपालिका बैठकले नमूना कार्यक्रमका रूपमा १० वडाबाट सेवा सुरु गर्ने निर्णय गरेअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र महानगरपालिकाको संयुक्त आयोजनामा प्रत्येक वडाबाट ३ जना कर्मचारी सहभागी हुने गरी तालिम सञ्चालन गरिएको हो । तालिममा वडा नम्बर ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ का कर्मचारी सहभागी छन् ।
उद्घाटन सत्रमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामले भू–सेवा स्थानीय तहबाटै प्रवाह हुँदा नागरिकले भोग्दै आएको झन्झट घट्ने बताए । ‘सेवाग्राहीको पहिचान र सनाखत स्थानीय जनप्रतिनिधिको रोहवरमा सहज हुन्छ, ढिलो सेवा हुने परिपाटी अन्त्य गर्नुपर्छ,’ उनले भने ।
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले नमूना कार्यक्रमको सिकाइका आधारमा अन्य वडामा पनि सेवा विस्तार गरिने बताइन् । उनले झन्झटरहित र वास्तविकतामा आधारित प्रणालीमार्फत नागरिकलाई संघीयताको लाभ महसुस गराउने प्रतिबद्धता व्यक्त गरिन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पूर्वाधार र जनशक्ति तयारीपछि अब नागरिकले महसुस हुने सेवा प्रदान गरिने बताए ।
कार्यक्रम सञ्चालन भएका वडाबाट अब भूमिको स्वामित्व तथा हकसम्बन्धी सेवा, लेखापढी, स्रेस्ता तथा अभिलेख व्यवस्थापन, रोक्का तथा फुकुवा सिफारिस, कर तथा राजस्वसम्बन्धी सेवा उपलब्ध हुने महानगरले जनाएको छ । सेवाग्राहीको पहिचान सुनिश्चित गर्न बायोमेट्रिक विवरण संकलन र राजस्व वडा कार्यालयमै लिने व्यवस्था गरिनेछ ।
सहभागीलाई मालपोत कार्यालय डिल्लीबजारका प्रमुख काजीबहादुर विष्टसहित मन्त्रालय र विभागका अधिकारीहरूले प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षणमा लिखत पारित, नामसारी, न्यूनतम मूल्यांकन, रजिष्ट्रेसन शुल्क, रोक्का दस्तुर गणना तथा ‘पाम’ प्रणालीसम्बन्धी विषय समावेश छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्