नेभिगेशन
उपत्यका

नयाँको चर्चाबीच मुद्दा ‘राजनीतिक अनुभव’ र ‘परिपक्वता’

काठमाडौं । एमालेका नेता ईश्वर पोखरेलले काठमाडौं–५ को सर्वाङ्गीण विकासका लागि आफूसँग स्पष्ट खाका र अनुभव रहेको बताउँदै मत मागिरहेका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका पोखरेलले यसपटकको निर्वाचनमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय संकल्पलाई स्थानीय विकाससँग जोडेर आफ्ना एजेन्डाहरू ल्याएका छन् । त्यस्तै, अहिले राष्ट्रिय राजनीतिमा नयाँको चर्चा भइरहँदा उनले भने राजनीतिक अनुभव र परिपक्वताको आवश्यकतामा जोड दिइरहेका छन् । 
पोखरेलको यसपटकको चुनावी घोषणापत्र र भाषणहरूको केन्द्रविन्दुमा टोखा–छहरे सुरुङमार्ग छ । उनले यस परियोजनालाई काठमाडौंको उत्तरी क्षेत्रको विकासको गेम चेन्जरको रूपमा प्रस्तुत गरेका छन् । उनले क्षेत्रमा आयोजित चुनावी सभामा भने, ‘यो मार्गले नुवाकोट र रसुवा मात्र जोड्दैन, चीनसँगको व्यापारिक नाकालाई सहज बनाउँदै यस क्षेत्रको आर्थिक गतिविधिमा क्रान्ति ल्याउनेछ ।’ तर, त्यसका लागि आफूले जित्नुपर्ने उनको भनाइ छ । 
पोखरेलले काठमाडौं–५ का भित्री सडकहरूको स्तरोन्नति, ढल निकास र खानेपानीको समस्यालाई उच्च प्राथमिकतामा राखेका छन् । टोखा र बूढानीलकण्ठ क्षेत्रका अव्यवस्थित शहरीकरणलाई नियन्त्रण गर्दै योजनाबद्ध विकास गर्ने उनको खाका छ । सार्वजनिक जग्गाको संरक्षण गरी त्यसलाई ज्येष्ठ नागरिक मिलन केन्द्र र सामुदायिक पार्कका रूपमा विकास गर्ने एजेन्डा पनि उनले अघि सारेका छन् । 
काठमाडौं–५ मा चुनावी प्रतिस्पर्धामा युवा उम्मेदवारहरूको चर्चा छ । पोखरेलले भने आफ्नो ‘राजनीतिक अनुभव’ र ’परिपक्वता’ लाई मुख्य आधार बनाएका छन् । नयाँ शक्तिहरूलाई हल्ला गर्ने समूह को संज्ञा दिँदै उनले देश चलाउन र जटिलता सुल्झाउन अनुभवी नेतृत्व नै चाहिने धारणा राखिरहेका छन् ।  ‘भावना र उत्तेजनाले मात्र देश बन्दैन, देश बनाउन नीति, विधि र बलियो संगठन चाहिन्छ, जुन एमालेसँग मात्र छ,’ पोखरेलको दाबी छ । 
राष्ट्रिय राजनीतिका मुद्दाहरूमा पनि पोखरेल उत्तिकै आक्रामक देखिएका छन् । उनले वर्तमान सरकारका कारण देशमा अस्थिरता र वैदेशिक हस्तक्षेप बढेको आरोप लगाउँदै राष्ट्रिय स्वाधीनताको रक्षाका लागि एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको बताएका छन् ।  भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहमा पारदर्शिता ल्याउने, ठूला पूर्वाधारका आयोजना, स्थानीय समस्याको समाधान र राष्ट्रियताको मुद्दालाई मुख्य चुनावी एजेन्डा बनाएर पोखरेल चुनावी मैदानमा छन् । ०७९ को चुनावमा पराजित पोखरेल यसपटक जित निकाल्नेमा आशावादी देखिन्छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्