नेभिगेशन
उपत्यका

निर्वाचन लोकतन्त्रको नवीकरणः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ मा हुने निर्वाचनलाई केवल एउटा प्राविधिक प्रक्रिया मात्र नभइ नेपाली राजनीतिको जटिल परिस्थितिको निकासका रूपमा व्याख्या गरेका छन् । राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै उनले निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ परिपक्व र भरपर्दो बनाउने विश्वास व्यक्त गरेका छन् । 
विगतका उपलब्धिहरूको जगमा उभिएर भविष्यको मार्गचित्र कोर्नुपर्नेमा जोड दिँदै उनले भनेका छन्, ‘यो निर्वाचन केवल प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रिया मात्र होइन, यो संघीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने ऐतिहासिक अवसर पनि हो ।’
राष्ट्रपति पौडेलले लामो संघर्षबाट प्राप्त समावेशी राज्यसंरचना र अधिकारको प्रत्यायोजनलाई जोगाउनु नै आजको मुख्य चुनौती भएको बताएका छन् । ‘यो निर्वाचनले निरंकुशताविरुद्ध लामो संघर्ष र बलिदान गरेको अघिल्ला पुस्ता र त्यसमा आफ्नो जीवन बलिदान गर्ने सहिदहरूको सपना, नवयुवाहरूको सुशासनको माग, पारदर्शिता र जवाफदेहिताप्रतिको अपेक्षा पूरा गर्नेछ,’ उनले भनेका छन् । राजनीतिक दलहरूबीचको प्रतिस्पर्धालाई लोकतन्त्रको सुन्दरता मान्दै उनले सहिष्णुताको कसीमा बाँधिन सबैलाई आग्रह गरेका छन् । उनले निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन सबै पक्षको सक्रिय साथ रहने विश्वास पनि व्यक्त गरेका छन् । 
‘हामीले संघीय शासन प्रणालीलाई संस्थागत गर्दै प्रदेश र स्थानीय तहसम्म अधिकार प्रत्यायोजन गरेका छौं । सामाजिक सुरक्षा कार्यक्रम विस्तार गर्दै ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरू, दलित, महिला तथा विपन्न समुदायको अधिकारलाई मजबुत बनाउने प्रयास सुरु भएका छन्,’ उनले भनेका छन्, ‘पछिल्लो दशकमा शिक्षा, स्वास्थ्य, सडक, ऊर्जा र सञ्चार पूर्वाधारमा देश उल्लेख्य प्रगतिका साथ अगाडि बढिरहेको छ । जगजाहेर छ कि, यी उपलब्धिहरू सहजै प्राप्त भएका होइनन्, यी जनताको बलिदान र अटुट विश्वासको साथै उनीहरूको सक्रिय सहभागिताको परिणाम हुन् ।’
सुशासन, सामाजिक न्याय, उत्तरदायी शासन र सेवा प्रवाहका क्षेत्रमा भने अझै काम गनुपर्नेमा उनको जोड छ । ‘मलाई विश्वास छ, आगामी निर्वाचनले त्यही भावधारालाई संस्थागत गर्दै लोकतन्त्रलाई नयाँ ऊर्जा प्रदान गर्ने,’ उनले भनेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्