नेभिगेशन
उपत्यका

निर्वाचन नचाहने तत्व सक्रिय

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मौनअवधि सुरु भएसँगै देशका विभिन्न स्थानमा शान्तिसुरक्षामा प्रश्न उठाउने घटनाहरू भएका छन् । चुनाव नचाहने तत्वले दुई ठाउँ पार्किङका दुइटा कारमा आगजनी गरेका छन् भने मुलुकका विभिन्न स्थानमा शंकास्पद वस्तु राखेका छन् । 
काठमाडौंको महाराजगञ्ज र नैकाप क्षेत्रमा कारमा आगजनी गरेको भेटिएको हो । घटनास्थलमा दुर्गा प्रसाईंका राजनीतिक मागहरू उल्लेख भएका पर्चा फेला परेका छन् । पर्चामा संविधान खारेज गरी वैदिक सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य स्थापना गर्ने, प्रदेश संरचना खारेज गरी ५ विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्ला कायम गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्ने लगायतका एजेन्डा राखिएका छन् । यसबाहेक बैंक राष्ट्रियकरण, सहकारी पीडितको रकम राज्यले व्यहोर्ने र वैदेशिक रोजगारीमा रहेका युवालाई स्वदेश फर्काएर रोजगारी दिने माग पनि छ । 
काठमाडौंबाहिर शंकास्पद वस्तु भेटिने क्रम जारी छ । सुर्खेतको छिन्चु, कञ्चनपुरको कृष्णपुर नगरपालिका, रौतहटको चन्द्रनिगाहपुर, मोरङको विराटनगर, धनुषाको मिथिला नगरपालिका र महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । अधिकांश वस्तुहरू डर सिर्जना गर्न राखिएका थिए । नेपाली सेनाको बम डिस्पोजल टोलीले ती वस्तुहरूलाई सुरक्षित रूपमा निष्क्रिय बनाएको प्रहरीले जनाएको छ ।
धनुषामा विस्फोटको घटना पनि भएको छ । मधेश प्रदेशअन्तर्गत मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गको पुलमाथि अज्ञात वस्तु पड्किँदा दुई बालबालिका घाइते भएका छन् । १५ वर्षीय आशा भुजेल र ८ वर्षीय सुशील माझी सामान्य घाइते भएका हुन् । दुवैको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । अनुसन्धानमा उक्त वस्तु पटका जस्तो देखिएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्ले छिटपुट घटनाले निर्वाचनको वातावरण नबिथोल्ने बताउँछन् । ‘सुरक्षा निकायहरूले संवेदनशील क्षेत्रमा गस्ती बढाएका छन् भने मुख्य राजमार्ग र शहरी केन्द्रहरूमा निगरानी कडा पारिएको छ,’ उनले भने, ‘छिटपुट घटनाबाट डराउनु पर्दैन ।’ 
सुरक्षा अधिकारीहरूको भनाइ अनुसार निर्वाचन बहिष्कारको घोषणा गरेका विभिन्न समूहहरू यस्ता गतिविधिमा संलग्न हुन सक्ने शंका छ । विशेषगरी दुर्गा प्रसाईँ र नेकपा (बहुमत) निर्वाचन विथोल्ने गतिविधिमा सक्रिय देखिएका छन् । त्यस्तै, सीपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत), विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी–नेकपा र नेकपा जनपक्षले संयुक्त संघर्ष समिति बनाएर बहिष्कारको घोषणासहित चेतावनी जारी गरेका छन् ।
विभिन्न खालका निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा १३३ जना पक्राउ परेका छन्, जसमध्ये अझै ७० जना हिरासतमा रहेको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमा अफवाह फैलाउने ३२ जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीले सूर्यविनायक–८ सिपाडोलस्थित गणेश बस्तीबाट हतियारसहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यविनायक–८ भुम्डोल बस्ने गोरखा पालुङटार–९ का ३१ वर्षीय  आयन सेढाई रहेको भक्तपुरका डीएसपी प्रकाश जबेगुले बताए । उनीबाट एउटा सेल्फ लोडेड राइफल, त्यसमा प्रयोग हुने चार राउन्ड गोली पनि बरामद भएको छ ।
पूर्व एआईजी बुद्धिराज गुरूङ भन्छन्, ‘निर्वाचन नहोस् भन्नेहरूले छिटपुट घटना गराउन खोज्नु अनौठो होइन, सुरक्षा संयन्त्रले त्यसलाई गम्भीरतापूर्वक लिनुपर्छ । त्यस्ता तत्वमाथि निगरानी बढाउनुपर्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्