नेभिगेशन
उपत्यका

इरानी आक्रमणबाट यूएईमा १५ नेपाली घाइते, उपचारपछि अधिकांश काममा फर्किए

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा इरानको आक्रमणका क्रममा हालसम्म १५ जना नेपाली घाइते भएका छन्। तीमध्ये १४ जना उपचारपछि आफ्नो काममा फर्किसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव रामजी खड्काले इरानले प्रहार गरेको मिसाइल र ड्रोन आक्रमणका कारण १५ जना नेपाली सामान्य घाइते भएको जानकारी दिए। उनका अनुसार एक जना भने अझै उपचाररत छन् र उनको अवस्था पनि सामान्य रहेको छ।

हाल इजरायल–अमेरिका र इरानबीच आक्रमण तथा प्रत्याक्रमण भइरहेको छ। इरानले खाडी तथा पश्चिम एसियाका विभिन्न देशहरूमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै ड्रोन तथा मिसाइल आक्रमण गर्दै आएको बताइएको छ।

यसअघि यस्तै ड्रोन आक्रमणका क्रममा गोरखाका विवेक श्रेष्ठको यूएईमा मृत्यु भएको थियो। उनको शव नेपाल ल्याएर अन्त्येष्टि गरिसकिएको छ। श्रेष्ठका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन यूएईस्थित नेपाली दूतावासमार्फत पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अन्य क्षेत्रमा रहेका नेपाली नागरिक भने सुरक्षित रहेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्