नेभिगेशन
उपत्यका

फेक ‘रेस्क्यु’मा संलग्न शेर्पा पक्राउ

काठमाडौं । फेक ‘रेस्क्यु’मा संलग्न आरोपमा बुधबार थप एक जना पर्यटन व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा पानेराम माउन्टेन ट्रेकका अध्यक्ष सोलु दूधकुण्ड–१ का ५० वर्षीय पासाङ शेर्पा छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको हो । 
उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकको उद्धार गरेको देखाई बिमा रकम दाबी गरी ठगी गरेको आरोमा उनीअघि १० जना पक्राउ परिसकेका छन् । ब्युरोका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकको उद्धार गरेको देखाइ बिमा रकम दाबी गरेको आरोपमा शेर्पालाई पक्राउ गरेको जानकारी दिए । 
उनका अनुसार शेर्पाले पानोरमा हिमालय ट्रेकिङ एण्ड एक्स्पिडिसन प्रालिमार्फत नक्कली कागजात बनाई बिमा रकम ठगी गरेको अनुसन्धानमा खुलेको छ । प्रहरीले यसअघि पनि फेक रेस्क्युमा संलग्न भएको आरोपमा १० जना पर्यटन व्यवसायी तथा अस्पतालको सञ्चालकलाई पक्राउ गरिसकेको छ । 
प्रहरीले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठामा आँच आउने कार्य गरे गराएकाले मुलुकी अपराध संहिता २०७४ को दफा ५१ राष्ट्रहित प्रतिकूल काम गर्न नहुने समेतको कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अनुसारको कसुरमा संलग्न भएको आरोपमा पक्राउ गरेको हो । पक्राउ परेका शेर्पालाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्