नेभिगेशन
उपत्यका

सहरी क्षेत्रमा तापक्रम वृद्धि

काठमाडौं । यसपटक छिटै गर्मी उच्च हुनसक्ने अनुमान मौसम विभागले गरेको छ । देशका विभिन्न सहरमा गत मंगलबारयता अधिकतम तापक्रम क्रमशः बढेको छ । जल तथा मौसम विज्ञान विभागको तथ्यांकमा उतारचढाव देखिएको छ ।
विभागका अनुसार तराई तथा मधेशका धेरैजसो सहरमा तापक्रम क्रमशः बढ्दैछ । काठमाडौंमा गत मंगलबार २०–२२ डिग्री सेल्सियस रहेको अधिकतम तापक्रम बुधबार बढेर २४ डिग्री पुगेको थियो । बिहीबार मध्याह्नसम्म भने २५.४ डिग्री सेल्सियस पुगेको छ । 
मध्याह्नसम्म सबैभन्दा बढी सिरहा र बाँकेको अधिकतम तापक्रम ३१.१ डिग्री सेल्सियस पुगेको छ । मनाङ हुम्दे विमानस्थलको अधिकतम तापक्रम भने ३.२ डिग्री सेल्सियस छ । विराटनगरमा ३१–३३ डिग्री सेल्सियस पुग्ने अनुमान छ । त्यस्तै नेपालगञ्जमा भने ३०–३२ डिग्री सेल्सियस आसपास रहने अनुमान छ ।
गण्डकी प्रदेशको पोखरामा २६–२८ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । हिमाली क्षेत्रतर्फ जुम्लामा २३–२५ डिग्री सेल्सियससम्म पुग्ने देखिएको छ भने जोमसोममा पनि १७–१९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । समग्रमा आगामी तीन दिनमा देशका अधिकांश सहरमा दिउँसोको तापक्रम क्रमशः बढ्ने तथा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको विभागले जनाएको छ । 
विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार बिहीबार देशका अधिकांश स्थानमा मौसम सफा रह्यो छ । ‘हावाको आद्र्रता बढेसँगै तापक्रममा पनि वृद्धि भएको छ । आगामी दिनहरूमा देशभर क्रमशः तापक्रम बढ्दै जाने सम्भावना छ,’ उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्