नेभिगेशन
उपत्यका

लुटिएका गोली र हतियार जफत

काठमाडौं । जेनजी आन्दोलनका क्रममा विभिन्न ठाउँबाट लुटिएका सुरक्षा निकायका हतियार र गोलीगट्ठाहरू बरामद हुने क्रम बढेको छ । यसैक्रममा भक्तपुर जिल्लाको सल्लाघारीको चौरमा रहेको ह्युमपाइपभित्र लुकाएर राखिएको अवस्थामा ४१ राउन्ड गोली प्रहरीले जफत गरेको छ । ती गोली नेपाल प्रहरीको भएको पुष्टि भएको छ ।
रुमालमा बाँधेर पाइपभित्र लुकाइएका ती गोली केही दिनअघि मात्रै त्यहाँ लुकाइएको हुनसक्ने प्रहरीले जनाएको छ । ती गोली जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट लुटिएका हुनसक्ने प्रारम्भिक अनुमान छ ।
नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्काका अनुसार ती गोली प्रहरीका हतियारमा प्रयोग हुने प्रकारका हुन् र प्रयोगयोग्य अवस्थामा रहेका छन् । उनका अनुसार थ्रिनट थ्री राइफलका २० राउन्ड र अन्य विभिन्न हतियारमा प्रयोग हुने थप २१ राउन्ड गरी कुल ४१ राउन्ड गोली फेला परेका हुन् । ती गोली प्रहरीको कुन कार्यालयबाट लुटिएका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।
खड्काका अनुसार ह्युमपाइपभित्र गोली रहेको विशेष सूचना पाएपछि प्रहरी टोली सल्लाघारी चौर पुगेको थियो । चौरको छेउतिर थुपारेर राखिएका ह्युमपाइमध्ये एउटामा गोली भेटिएका हुन् । अन्तै कतै लुकाइएको ती गोली केही दिन अघि मात्र त्यहाँ ल्याएर राखिएको हुनसक्ने प्रहरीको अनुमान छ । यदि ती गोली पहिल्यै त्यहाँ थिए भने पक्कै पनि पहिल्यै थाहा हुने प्रहरीले जनाएको छ ।
यसैगरी काठमाडौंको बौद्धस्थित जम्बुडाँडाको झाडीमा पनि लुकाएर राखिएको अवस्थामा हतियारसहित १०० राउन्ड गोली बरामद गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार गोकर्णेश्वर नगरपालिका–५ स्थित जम्बुडाँडाबाट एक थान पेस्तोल र १०० राउन्ड गोली बरामद गरिएको हो ।
खिया लागेको अवस्थामा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ । पेस्तोल पुनः प्रयोग गर्न मिल्छ कि मिल्दैन भन्ने विषयमा प्राविधिक परीक्षणका लागि पठाइएको भट्टराईले बताए । जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते आन्दोलनकारीले उक्त पेस्तोल लुटेर लगेको प्रहरीको अनुमान छ । घटनास्थलबाट तीन थान म्यागजिन पनि बरामद गरिएको छ ।
जम्बुडाँडाको पहेंलो पुल नजिकैको खोला किनारबाट १ थान पेस्तोल, ३.७ एमएम म्यागजिनका १३ राउन्ड र ९ एमएमका ८७ राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ । पेस्तोल कहाँबाट लुटिएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हतियार लुट्ने व्यक्तिको पहिचानका लागि पनि अनुसन्धान जारी रहेको छ । प्रहरीका अनुसार लुटिएका हतियार तथा गोली फेला पर्नु सुरक्षा दृष्टिकोणले सकारात्मक मानिएको छ । हाल लुटिएका हतियार र गोली फेला पर्ने क्रम बढ्दै गएको प्रहरीले जनाएको छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप उपत्यका
एमाले अध्यक्ष ओलीलाई पितृ शोक

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

निर्वाचन प्रहरीको बिदाइ

निर्वाचन प्रहरीको बिदाइ