नेभिगेशन
उपत्यका

एमाले अध्यक्ष ओलीलाई पितृशोक, आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृशोक परेको छ। उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा भक्तपुरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा शुक्रबार बिहान निधन भएको हो। केही समयदेखि स्वास्थ्य समस्याका कारण उनको सोही अस्पतालमा उपचार भइरहेको थियो। दिवङ्गत मोहनप्रसाद ओलीको पार्थिव शरीरको शुक्रबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। अन्त्येष्टिका क्रममा अध्यक्ष ओलीले ज्येष्ठ पुत्रका रूपमा दागबत्ती दिएका थिए। श्रद्धाञ्जलि दिन विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उपस्थिति थियो। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा लगायतले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि व्यक्त गर्दै अध्यक्ष ओलीप्रति समवेदना प्रकट गरेका छन्। दिवङ्गत मोहनप्रसाद ओलीका दुई छोरा र तीन छोरी छन्। उनको निधनप्रति विभिन्न राजनीतिक दल तथा व्यक्तित्वहरूले दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्