नेभिगेशन
उपत्यका

वैदिक अनुसन्धान गुठीको ‘वैदिक पञ्चांगम्’ प्रकाशित

काठमाडौं । वैदिक अनुसन्धान गुठी (वाग्) ले प्रकाशित गरेको २०८३ सालको ‘वैदिक पञ्चांगम्’ बजारमा आएको छ । नवपाठक, ज्योतिषशास्त्र तथा धर्मशास्त्रमा चासो राख्नेहरू, पुरोहित तथा गृहस्थहरूलाई उपयोगी हुने उद्देश्यले पञ्चांग प्रकाशन गरिएको गुठीले जनाएको छ ।
नेपाल पञ्चांग निर्णायक विकास समितिको स्वीकृतिमा हरेक वर्ष विभिन्न प्रकाशन संस्था र ज्योतिषीहरूले पञ्चांग प्रकाशन गर्दै आएका छन् । ती पञ्चांगहरूको तुलनामा ‘वैदिक पञ्चांगम्’मा केही भिन्न विशेषता समेटिएका छन् । यसले सामान्य प्रयोगकर्तादेखि धर्मशास्त्र र ज्योतिषशास्त्रमा रुचि राख्ने पाठकका लागि थप उपयोगी सामग्री उपलब्ध गराएको छ । नयाँ पाठकलाई लक्षित गरी सामग्री समेटिनु पनि यस पञ्चांगको अर्को विशेषता हो ।
पञ्चांगमा नेपालको ७७ जिल्लाको अक्षांश, देशान्तर र समयान्तरसम्बन्धी विवरण समावेश गरिएको छ । यसबाट प्रत्येक जिल्लाको समयान्तर कति छ भन्ने स्पष्ट हुन्छ । यसैगरी पात्रो हेर्नका लागि आवश्यक आधारभूत जानकारी पञ्चांगकै प्रारम्भमा समेटिएको छ । तिथि, बार, नक्षत्र, योग, करण, पञ्चक, भद्रा, आनन्दादि योग, अयन, संवत्सर, राशि, सौरमास, चान्द्रमासलगायत विषयका आधारभूत जानकारी नयाँ पाठकका लागि उपयोगी हुने विश्वास गरिएको छ ।
पञ्चांगमा वर्षभरि पर्ने प्रमुख चाडपर्वमा गरिने पूजाअनुष्ठान र स्नान विधिबारे जानकारी दिइएको छ । वेदद्वारा निर्देशित नित्य, नैमित्तिक र काम्य कर्मका लागि आवश्यक शास्त्रीय मन्त्रहरू पनि समेटिएका छन्, जसले कर्मकाण्डमा रुचि राख्नेहरूलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसैगरी ग्रहशान्तिका लागि आवश्यक निर्देशन, नवग्रहलाई दान गर्ने वस्तु, वैदिक तथा तान्त्रिक मन्त्र, स्तोत्र तथा ग्रहदशाअनुसार धारण गर्नुपर्ने रत्नबारे पनि विवरण दिइएको छ ।
गुठीले संस्कृत वाङ्मयअन्तर्गत वेद, व्याकरण, छन्द, शब्दकोश तथा सनातन संस्कारसँग सम्बन्धित विषयमा शास्त्रीय तथा व्यावहारिक ग्रन्थ प्रकाशन गर्दै आएको छ । झण्डै एक दशकयता विद्यालय तहदेखि संस्कार शिक्षा तथा वैदिक अनुसन्धानका क्षेत्रमा पनि गुठी सक्रिय रहेको जनाएको छ । गौरीघाटस्थित गुठीको कार्यालयमा बालबालिकाले निःशुल्करूपमा संस्कार शिक्षा अध्ययन गर्दै आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै