जीवनमा धन, पद, सम्मान वा सफलता जे भए पनि, अन्ततः मानिसको मनलाई सन्तुष्टि दिने कुरा भनेको ‘कोही’ हो । त्यो कोही, जसले हामीलाई बुझ्छ, सुन्छ र आत्मीय साथ दिन्छ । जसले कहिले मित्रझैँ, कहिले गुरूझैँ, कहिले आत्मीय श्रोताझैं हामीसँगै हिँड्छ । ती ‘कोही’ सँग गरिने परामर्शले मानिसलाई आफ्ना समस्याको समाधान खोज्ने अवसर दिन्छ ।
जीवन नकारात्मक कथा बनाउने मात्र होइन। नयाँ दृष्टि र नयाँ सम्भावना खोज्ने यात्रा हो । आफ्नो सम्बन्ध, कर्म, र कृतज्ञतामा आधारित जीवनशैली अपनाउँदा मात्र हामी पूर्ण रूपमा “जीवित” भएको महसुस गर्न सक्छौँ । जसरी अन्धकारमा सानो दियोले उज्यालो ल्याउँछ, त्यस्तै जीवनमा “कोही” को आत्मिय उपस्थिति वा परामर्शले उज्यालो ल्याउँछ ।
त्यसैले हाम्रो दबाबपूर्ण जीवनमा नकारात्मक सोचलाई न्यून गरी सकारात्मक उर्जा बढाउन आध्यात्मिक परामर्श आवश्यक छ । यसले जीवनलाई नयाँ दृष्टिले हेर्नुका साथै आत्मस्वीकृति र आत्मप्रेम सिकाउँछ । कठिनाइलाई अवसरमा बदल्ने आँट दिन्छ ।
प्रेम, करुणा र कृतज्ञताको अभ्यासमार्फत जीवनलाई शान्त र अर्थपूर्ण बनाउन प्रेरित गर्छ । समस्या समाधानको बाटो तब सुरु हुन्छ जब हामी आफ्नो कथा कसैसँग बाँड्छौं । कृतज्ञता जीवनलाई पर्याप्तभन्दा बढी बनाउँछ । कोहीसँग कुरा गर्दा मन हलुका हुन्छ, अनि आत्मा स्वतन्त्र महसुस गर्छ ।
आज आर्थिक दबाब, सम्बन्धका समस्या, मानसिक तनाव, असफलता, शोक वा जीवनको उद्देश्यबारे उत्पन्न हुने द्वन्द्व लगायतका कारणले मानिसको मन भारी भएको छ । यस्तो अवस्थामा परामर्श आवश्यक हुन्छ, जसले व्यक्तिलाई मात्र होइन, परिवार र समाजलाई समेत सकारात्मक प्रभाव दिन्छ ।
आफ्नो पीडा नडराई भन्न सक्ने सुरक्षित स्थान प्राप्त गर्न, मन हल्का बनाएर र भावनात्मक दबाब कम गर्न अनि व्यवहारिक रूपमा समाधानका विकल्प खोज्न परामर्श चाहिन्छ । विवादलाई संवादमा लैजान, असहजतालाई सहजता प्रदान गर्न र एक आपसमा बढेको अविश्वासलाई विश्वासमा पुनःस्थापित गर्न परामर्शले सहायक हुन्छ ।
जीवनमा हरेक व्यक्तिले कुनै न कुनै समस्या, निरासा वा दुःख भोगेको हुन्छ । जीवनमा कहिले कसैसँग विश्वास भंग हुन्छ, नजिकका व्यक्तिबाट धोका पाइन्छ वा आफ्नै संघर्षले मष्तिस्क थिचेको हुन्छ ।
जब हामी आफैंलाई सुन्दैनौं, आफ्नो ब्रह्म र अन्तर्मनको ध्वनि सुन्दैनौं त्यसैले तनाव र चिन्तामा पुग्छौं । त्यसैले अरूलाई सुन्ने, बुझ्ने र जीवनलाई नयाँ दृष्टिले हेर्ने अवसर प्रप्त गर्न परामर्श आवश्यक पर्दछ । अझ आध्यात्मिक परामर्शले त आत्मचेतना, करुणा र आन्तरिक शान्ति जगाउँछ ।
धेरैजसो अवस्थामा हामी परामर्शलाई आँसु पुच्छ्ने, मौन बस्ने वा पीडा भुल्ने उपाय मात्र ठान्छौं । तर वास्तविक परामर्श भनेको पीडाबाट भाग्नु होइन, आफ्ना चोटहरूसँग सामना गर्दै फेरि हृदय खोल्ने र जीवनलाई पुनः अंगाल्ने साहस जुटाउनु हो । त्यसैले मानिसलाई बेलाबेलामा सामाजिक, मानसिक, भावनात्मक र आध्यात्मिक परामर्शको आवश्यकता पर्दछ ।
सही तरिकाले शरीर, मन, भावना, आत्मा सबै पक्षलाई एकसाथ परामर्श गर्न जान्ने व्यक्तिहरू र स्वयंले पनि यो पक्षलाई गहन तरिकाले हेर्नुपर्ने हुन्छ । परामर्श ख्याती प्राप्त विज्ञबाट मात्र प्राप्त हुन्छ भन्ने छैन, प्रकृति, रूखविरूवा, नदीनाला, पहाड र समुद्र अनि पन्छीको चिर्विर आवाजबाट पनि प्राप्त हुन्छ । यी सब चिजले जीवनलाई समष्टिसँग जोडेर हेर्न प्रेरित गर्छन् । प्रकृतिले समग्र आयामलाई हेरेर जीवनको महत्व बुझ्न इशारा गर्दछ ।
महाकवि देवकोटाले ‘उद्यानमा गई बस सब तत्व खुल्दछन्’ भन्नु पनि प्रकृतिलाई गहिराईमा बुझ्ने आह्वान हो । उनले ‘प्रश्नोत्तर’ कवितामा लखेका छन्– यस्तो रहस्यमय जीवन बुझ्नलाई - जानू कहाँ ? पढनु के ? गुरु को बनाई ?/फुल्दो (खुल्दो) गुलाबबिच ज्ञान अनेक फुल्छन् । उद्यानमा बस गई सब तत्व खुल्छन् ।
त्यसैले, हामीले आफूलाई बुझ्न, प्रकृतिलाई बुझ्न जो सँग पनि परामर्श गर्न सक्छौं । आफूभन्दा साना छोराछोरी, भाइबहिनीसँग पनि परामर्श गर्न । आखिर परामर्श भनेकै सुन्ने क्षमता र आत्मबल वृद्धि गर्ने माध्यम हो । परामर्श दिने र लिने दुवै पक्षले यसलाई आत्मसात गर्नुपर्ने हुन्छ ।
भय होइन आत्मियताको जीवनशैली
परामर्शबाट केवल भित्र शान्ति प्राप्त गर्नु मात्र होइन, आफ्नो हृदयलाई फेरि खोल्नु हो । जब जीवनमा दुःख, असफलता वा पीडा आउँछ, हामी स्वाभाविक रूपमा आफैंलाई विश्वास गर्न डराउँछौं, माया गर्न हिच्किचाउँछौं र अरूलाई हृदयको नजिक ल्याउन सक्दैनौं । तर वास्तविक परामर्श आफ्नो भित्री शक्ति जागृत गर्दै जीवनलाई खुलेर अंगाल्नु हो ।
डा. नम्रता पाण्डे
परामर्शको क्रममा अघि बढ्दा, मानिस बिस्तारै विश्वास गर्न सिक्छ, विना डर बाँच्न सिक्छ । विना रोकावट र शर्त प्रेम गर्न सिक्छ । अनि हृदयले बुझेको प्रेम बाँड्न थाल्छ, सीमा वा सर्तको कुनै पर्खाल बाँकी रहन्न । प्रत्येक सानो कदमले व्यक्तिलाई फेरि जीवित महसुस गराउँछ । पीडाबाट उठेर, आँसु पुछेर, नयाँ जीवनतर्फ अघि बढ्दा जीवनले दिनसक्ने वास्तविक अर्थ भेटिन्छ । त्यसैले, परामर्श आत्मशान्तिबाट मात्र सुरु हुँदैन; यो त हृदय फेरि खोल्ने साहसिक अभ्यास हो ।
जब हामी यस यात्रामा अघि बढ्छौं, हामीलाई थाहा हुन्छ जीवनको सुन्दरता डर वा सीमामा होइन, बरु प्रेम, विश्वास र असीमित आत्मीयतामा लुकेको छ । भयले मानिसलाई पर धकेल्छ । आत्मियता र करुणाले मानिसलाई वर ल्याउँछ । जब हामी डर हटाएर आत्मीय सम्बन्धलाई प्राथमिकता दिन्छौं, तब परिवार, समाज र कार्यस्थल सबैतिर सकारात्मक ऊर्जा बढ्छ ।
व्यक्तिगत र सामूहिक परामर्श
नेपालमा पछिल्ला वर्षहरूमा मानसिक स्वास्थ्यका समस्या बढ्दै गएको बताइन्छ । तथ्यांकहरूले आत्महत्याका घटनामा वृद्धि भइरहेको देखाएको छ । विशेष गरी किशोर–किशोरी र युवामाझ तनाव, डिप्रेशन र सामाजिक दबाब बढ्दै गएको देखिन्छ । यसबाट प्रष्ट हुन्छ परामर्श व्यक्तिगत मात्र होइन सामूहिक आवश्यकता बन्दै गएको छ ।
जब कुनै व्यक्तिले उचित समयमा उचित परामर्श पाउँछ उसले आफ्नो भित्री शक्ति जगाउन सक्छ । अनि ऊ मात्र होइन उसको परिवार र समुदाय पनि स्वस्थ र आनन्दित हुँदै जान्छ । उदाहरणका लागि, घरायसी हिंसाबाट पीडित महिलाले आत्मसहायता समूहमा सामेल भई आफ्नो अनुभव बाँड्दा, उनले मात्र शान्ति पाउदिनन्, अन्य महिलाले पनि बोल्ने साहस पाउछन् ।
यसरी व्यक्तिगत परामर्श सामूहिक परामर्शमा परिणत हुन्छ । समूहमा बसेर ध्यान एवं योगको अभ्यास गर्दा सामूहिक ऊर्जा र एक अर्काबाट सकारात्मक प्रभावको विकास हुन्छ । अरूका कुरा सुन्ने र मनन गर्नाले आफूमा भएका तनाव र अहंकार विसर्जन हुन्छन् । कुनै एक घटनाले र असफलताले आफ्नो जीवन नै बर्बाद भएको महसुस हुनेलाई समूहमा अरूको पनि त्यस्तै प्रकृतिको समस्या रहेछ भन्ने थाहा हुन्छ र अरू मार्फत आफूलाई बुझ्न सहजता हुन्छ ।
विश्व स्वास्थ्य संगठनले पनि मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको आधारभूत सूचक मानेको अवस्थामा प्रेम, करुणा, सहानुभूति र परस्पर विश्वास जगाउँदै मानसिक स्वास्थ्यलाई उन्नत पार्नुपर्ने देखिएको छ । त्यसैले परामर्शलाई समस्या पहिचान भन्दा पनि जीवन पुनः अंगाल्ने यात्राका रूपमा अघि लगाउनु पर्ने देखिएको छ ।
आध्यात्मिक परामर्श
मानिसमा दुःख, तनाव वा असफलताको महसुस हुनुको मूल कारण आत्मासँगको सम्बन्ध टुट्नु हो । आध्यात्मिक परामर्शले दुःख र असफलतालाई जीवनको एक आयाम मान्दै त्यो भन्दा गहिराईमा जीवनको उद्देश्य पत्ता लगाउन प्रेरित गर्दछ । म किन छु ? मेरो जीवनको मूल्य के हो ? भन्ने प्रश्नको उत्तर खोज्न अग्रसर हुनुले जीवनमा आउने सातातिना समस्याबाट माथि उठ्न सक्छ ।
‘म को हुँ ?’ भन्ने एक प्रश्नको उत्तरमा मानव जीवनको सारा क्लेश र दुःख कष्टको निदान हुने उपाय हामीलाई रमण महर्षिले सिकाएर गए । बुद्धको विपश्यनाको शिक्षाले पनि बाहिरफेर होइन आफैंलाई हेर्न र अन्तरमुखी हुन सिकाएको छ । त्यसैले, जब हामी ध्यान, योग, प्राणायाम र प्रार्थनाद्वारा मनलाई स्थिर बनाउने अभ्यासमा लाग्छौं तब आध्यात्मिक चेतनाको विकास हुन थाल्दछ ।
अनि जीवनमा लागेका समस्या र तनाव केही होइनन्, यी त नदी वा सागरमा आउने लहर जस्तै हुन् भन्ने वोध हुन्छ । नदी वा सागर सतत छ । हिजो पनि थियो । आज पनि छ । भोलि पनि रहला । तर तरंग केही छिनका लागि आयो, अनि गयो । वायुको प्रवाह र प्रभावले तरंग आएको हो । यदि जल सतहमा वायुको धक्का नलागेको भए तरंग आउने थिएन ।
यो प्रकृतिमा वायुको पनि उपस्थिति छ, जसका कारण तरंग आउँछ । त्यसैगरी सुख र दुःख पनि आउने जाने विषय हुन् । सतत रहने होइनन् भन्ने बुझाउँछ । आध्यात्मिक परामर्शले दुःख वा संकटमा पनि आशा जगाउँछ र जीवनप्रति सकारात्मकता दिन्छ । विगतका चिन्ता, द्वेष वा असफलतामा क्षमाशील हुन सिकाउँछ । आध्यात्मिक परामर्श र आध्यात्मिक जीवनशैली निर्मल हुने साधना हो ।
चुनौतीमा अवसर
सकारात्मक सोच जीवनको सबैभन्दा ठूलो शक्ति हो । अँध्यारोमा पनि उज्यालो खोज्ने दृष्टि नै वास्तविक विजयी हो । प्रत्येक चुनौतीमा अवसर खोज्ने बानीले जीवन बदल्छ । हामी जे सोच्छौं, त्यसले हाम्रो जीवनको दिशा निर्धारण गर्छ ।
सकारात्मकता मात्र होइन, धैर्य र विश्वासले पनि जीवनलाई सुन्दर बनाउँछ । सानो प्राप्तिमा पनि कृतज्ञता व्यक्त गर्न जान्ने व्यक्ति सधैं खुसीको बाटोमा हुन्छ । सानो कुराप्रति पनि आभार व्यक्त गर्न सक्ने हृदयले ठूलो खुसी अनुभव गर्छ ।
हाम्रो जीवनमा जे छ त्यसको कदर गर्दा नै शान्ति र सन्तोष प्राप्त हुन्छ कृतज्ञ हृदयले दुःखलाई एउटा पाठका रुपमा लिन्छ । कृतज्ञता वा धन्यवाद भाव केवल शिष्टाचार मात्र होइन, यो जीवन जिउने कला हुनुपर्छ । यसले हामीलाई अरूप्रति करुणा, सहिष्णुता र समझदारी बढाउन प्रेरित गर्छ ।
जीवनका चुनौती र कठिनाइहरूलाई बाधाको रूपमा मात्र नभई सिकाइ र अवसरको रूपमा हेर्ने दृष्टिकोण विकास हुन्छ । यसरी, हामी केवल जिउँदैनौं, हामी पूर्ण रूपमा जीवित महसुस गर्न र जीवनको सुन्दरता अनुभव गर्न सक्षम हुन्छौं ।