नेभिगेशन
उपत्यका

महानगरपालिकाले सुरु ग-यो सुक्खा फोहर व्यवस्थापन

काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका लागि महानगरपालिकाले १० वडाबाट छुट्टै सुक्खा फोहर व्यवस्थापनको कार्य सुरु गर्न थालेको छ ।
यसरी सुक्खा फोहर व्यवस्थापनको कार्य सुरु भएसँगै काठमाडौं उपत्यकाबाट ल्यान्डफिल साइटमा दैनिक करिब ३.१९ मेट्रिक टन कम फोहर व्यवस्थापन हुन थालेको महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरीता राईले जनाइन् । महानगरपालिकाले ३२ वटै वडाबाट घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहर बिक्री गर्न आफ्नो भौगोलिक क्षेत्रलाई सात क्षेत्रमा वर्गीकरण गरेर छुट्टाछुट्टै प्रतिस्पर्धाबाट करसहित वार्षिक रु ६ करोड आठ लाख ७२ हजारमा आय ठेक्का लगाएको उनले बताइन् ।
अहिले महानगरपालिका–७, १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ वडाबाट सुक्खा फोहर व्यवस्थापनको कार्य सुरु गरिएको छ । हरेक क्षेत्रमा एक–एकवटा फोहरमैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहर व्यवस्थापन केन्द्रसमेत राखिएको छ । आय ठेक्का कार्यविधि २०७९ बमोजिम प्रतिस्पर्धीमध्येबाट क्षेत्र नं १ का लागि नेप्सेम्याक सेवा प्रालि छानिएको छ । यस क्षेत्रमा वडा नम्बर २, ३, ४, ५ र ७ पर्छन् ।     
क्षेत्र नम्बर २ मा प्राक्टिकल वेस्ट सोलुसन प्रालि छनोटमा परेको छ । यसमा वडा नम्बर १, ११, २८, २९ र ३० पर्छन् । क्षेत्र नम्बर ३ मा क्रियटिभ सरसफाइ प्रालिले वार्षिक ५५ लाख ३५ हजार ८९१ रुपैयाँ आय ठेक्का कबोल गरेको छ । यस क्षेत्रमा वडा नम्बर ६, ८ र ९ पर्छन् ।
क्षेत्र नम्बर ४ मा मेची पोली इन्डष्ट्रीले एक करोड १५ लाख चार हजार ४०४ रुपैयाँ कबोल गरेको छ । यसमा वडा नम्बर १६, १७ र २६ पर्छन् । वडा नम्बर १३, १४ र १५ समेटेर क्षेत्र नम्बर ५ मा तोकिएको छ । यस क्षेत्रका लागि नेपाल ऊर्जा विकास कम्पनीले जिम्मा लिएको छ । वडा नम्बर १०, ३१ र ३२ समेटेर क्षेत्र नम्बर ६ तोकिएको छ । यस क्षेत्रमा पोली वेस्ट म्यानेजमेन्टले जिम्मा पाएको छ ।
यसअघि नै महानगरले जनाए अनुसार फोहोरलाई मोहोर बनाउने योजनाअनुसार सुक्खा फोहर बिक्री गर्न करसहित वार्षिक ६ करोड ८ लाख ७२ हजार ३७१ रुपैयाँमा आय ठेक्का लगाएको थियो । महानरले घरेलु फोहरलाई व्यवस्थित विसर्जन गर्न ३२ वटा वडालाई ७ क्षेत्रमा विभाजन गररी हरेक क्षेत्रमा एकएक वटा फोहरमैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहर व्यवस्थापनका लागि मेटेरियल रिकभरी सुविधा सञ्चालन गर्ने योजना बनाएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्