पुस्तकालयहरू सदियौंदेखि ज्ञानको भण्डारका रूपमा स्थापित हुँदै आएका छन् । परम्परागतरूपमा पुस्तकालयहरूले पुस्तकहरूको संरक्षण गर्ने, अध्ययनलाई सहज बनाउने र अनुसन्धानलाई सहयोग गर्ने भूमिका खेल्दै आएको परिप्रेक्ष्यमा २१औं शताब्दीमा सूचना प्रविधिको तीव्र विकाससँगै पुस्तकालयहरूको स्वरूपमा क्रान्तिकारी परिवर्तन आएको छ ।
आजका पुस्तकालय केवल पुस्तक भण्डारण केन्द्र मात्र नभई डिजिटल स्रोत, एआई, क्लाउड कम्प्युटिङ, बिग डाटा आदि प्रविधिमा आधारित स्मार्ट लाइब्रेरीका रूपमा विकसित भइरहेका छन् । जसले पुस्तकालयको स्वरूपमा नै परिवर्तन ल्याइदिएको छ । हामीमध्ये धेरैलाई क्याम्पसको पुस्तकालयमा सानो झ्याल वा प्वालबाट पुस्तक मागेको अझै याद होला ।
त्यतिबेला पुस्तकालयमा कार्यरत कर्मचारीले र्याक छाम्दैछाम्दै खोजेर पुस्तक ल्याइदिने गर्थे । पुस्तकालय प्रायः सानो अँध्यारो कोठामा सीमित हुन्थ्यो जहाँ धुलोले ढाकिएका केही सीमित दराजहरूमा पुस्तकको संग्रह रहन्थ्यो ।
तर, आजसम्म पनि हाम्रा धेरै पुस्तकालय त्यही पुरानै अवस्थामा अड्किएका छन् । उता विश्वमा पुस्तकालयको परम्परागत छविमा ठूलो परिवर्तन आइसकेको छ । पुस्तकालय अन्तरक्रियात्मक र डिजिटल ज्ञानको केन्द्र बन्दै गएका छन् ।
आधुनिक प्रविधि प्रयोग गररे परम्परागत पुस्तकालय स्मार्ट लाइब्रेरीका रूपमा स्थापित भएका छन् । यसै क्रममा ई–लाइब्रेरी, डिजिटल लाइब्रेरी, भर्चुअल लाइब्रेरी, नलेज हबजस्ता नयाँ अवधारणा जन्मिएका छन् ।
अब एउटा स्मार्टफोन वा ल्यापटपमार्फत नै पुस्तकालयहरूले आफ्ना प्रयोगकर्तालाई ज्ञान, सूचना र स्रोतहरूसम्म सहज पहुँच उपलब्ध गराइरहेका छन् । यसरी पुस्तकालयहरूले आफूलाई स्मार्ट, पाठकमैत्री र समयसापेक्ष संस्थाका रूपमा निरन्तर विकसित गरिरहेका छन् । सूचना प्रविधिको तीव्र विकाससँगै इन्टरनेटको आगमनले पुस्तकालयहरू पाठकलाई अन्तर्राष्ट्रिय सञ्जालसँग जोड्ने माध्यम भएका छन् । डिजिटल प्रविधि र वायरलेस इन्टरनेटले पुस्तकालय सेवालाई स्मार्ट बनाएको छ ।
पाठकहरूलाई अनलाइन पुस्तक, जर्नल, डाटाबेस तथा अन्य डिजिटल स्रोतहरू सहजै उपलब्ध हुने अवस्था छ । यसरी पुस्तकालय अब केवल पुस्तकको भण्डारमात्र नभई ज्ञान र सूचनामा पहुँच दिलाउने स्मार्ट हबका रूपमा विकसित भएको छ ।
केन्द्रीय पुस्तकालयमा कार्यरत पुस्तकालय सहायक शान्तिकृष्ण के.सी.का अनुसार पहिले सातजना कर्मचारीले समेत पाठकहरूलाई पुस्तकको लेनदेन गर्न नभ्याउने अवस्था थियो, तर अहिले स्वचालित प्रणालीको प्रयोगले एकै क्लिकमा पुस्तकको लेनदेन गर्न सकिने भएको छ ।
विजय शर्मा
पुस्तकालय अधिकृत, त्रिवि केन्द्रिय पुस्तकालय
जसले सेवाप्रवाहलाई सहज र प्रभावकारी बनाएको छ । पुस्तकालयमा बारकोड, आर.एफ.आई.डी. ट्याग, सेन्सर गेट, क्लाउड कम्प्युटिङ, कृत्रिम बौद्धिकता जस्ता आधुनिक प्रविधिको प्रयोगले सेवामा सहजता, पारदर्शिता र गुणस्तरमा उल्लेखनीय सुधार ल्याएको छ ।
डिजिटल प्रविधिमार्फत चौबिसै घण्टा, सातै दिन पुस्तकालय सेवा उपलब्ध गराउन सकिन्छ । यसबाट पाठकहरू पुस्तकालयको भौतिक सीमाभित्र मात्र बस्नु नपर्ने सहज अवस्था विकास भइरहेको छ । अब चाहेको समयमा आवश्यक सूचना सहजै प्राप्त गर्न सकिन्छ । यसको अर्थ भौतिक पुस्तकालय आवश्यक छैन भन्ने चाहिँ हुँदै होइन । भौतिक पुस्तकालय सँगसँगै डिजिटल स्रोतको पहुँच पनि अनिवार्य भएको छ ।
नेदरल्याण्डस्थित अन्तर्राष्ट्रिय पुस्तकालय महासंघ (इफ्ला)को सन् २०२२ मा गरेको एक सर्भेअनुसार विश्वका ६५ प्रतिशतभन्दा बढी पुस्तकालयहरूले ई–स्रोतलाई प्राथमिकता दिएको पाइन्छ । पुस्तकालयमा च्याटबट जस्ता कृत्रिम बौद्धिकताको प्रयोगले पाठकहरूलाई तत्काल रिफरेन्स सेवा प्रदान गर्न सुरु गरेको छ ।
पुस्तकालयहरूले पुराना पुस्तक तथा दस्तावेजहरू स्क्यान गरी डिजिटल रूपान्तरण गरका छन् भने पीडीएफ स्वरूपका दस्तावेजहरूलाई अप्टिकल क्यारेक्टर रिकग्निसन प्रविधिको प्रयोगमार्फत सहजै खोजयोग्य बनाएको छ ।
पाठकहरूको खोजलाई अझ प्रभावकारी बनाउन लेखक, शीर्षक, विषय, प्रकाशक, की–वर्डलगायत विविध आधारमा हजारौं दस्तावेजहरू स्वचालित अनुक्रमणिकाको व्यवस्था गरिएको छ । जसले आवश्यक जानकारी छिटो फेला पार्न सहयोग गर्छ । साथै मानव भाषालाई कम्प्युटरले बुझ्ने र विश्लेषण गर्ने भाषा प्रशोधन प्रविधिको प्रयोगमार्फत विभिन्न भाषाबाट खोजी गर्न सकिन्छ ।
पुस्तकालयमा आर.एफ.आई.डी. कार्ड वा बायोमेट्रिक प्रणालीको प्रयोगले स्वचालित पुस्तक लेनदेन तथा यसको प्रयोगले स्टक भेरिफिकेशन गर्न पनि सजिलो भएको छ । पाठक सचेतनाका लागि एआईको प्रयोगबाटै पाठकको रुचिअनुसार पढ्न चाहिने सामग्री सिफारिस गर्ने गरिएको छ ।
सिंगापुरलगायतका देशमा राष्ट्रिय पुस्तकालयमा लिबकल प्रयोग गरी पाठकहरूको सीट बुकिङ गर्ने व्यवस्था समेत गरेको पाइन्छ । विश्वका विकसित देशका पुस्तकालयहरूले प्रयोग गर्दै आएको प्रविधि हाम्रो जस्तो देशका लागि नयाँ र महँगो हुन सक्छ । यसको लागि पर्याप्त पूर्वाधार, विश्वसनीय इन्टरनेट कनेक्टिभिटी र प्रविधिमैत्री पुस्तकालयकर्मी तथा पाठक अनिवार्य छ ।
तथापि, पुस्तकालयमा प्रविधिको प्रयोग मात्र स्मार्ट पुस्तकालयको अवधारणा हो भन्नु गलत हुनेछ । प्रविधिको प्रयोगले विभिन्न स्रोतबाट डेटा विश्लेषण गरी सहजरूपमा उपलब्ध गराउने हो । त्यसैले पुस्तकालयले पाठकको चाहना र भावनालाई मध्यनजर गर्दै स्रोत सामग्री उपलब्ध गराउन र व्यक्तिगतरूपमा पाठकलाई सन्तुष्ट बनाउन सक्नु नै स्मार्ट पुस्तकालयको वास्तविक अर्थ हो भन्ने मत शिक्षा मन्त्रालयका उप–सचिव प्रेमराज अधिकारीको रहेको छ ।
विशेष गरी नेपालजस्तो देशमा लोकतान्त्रिक विकास, शैक्षिक उन्नति र सामाजिक चेतना आवश्यक छ । स्मार्ट पुस्तकालय शिक्षा, अनुसन्धान र नवप्रवर्तनको आधारशिला बन्नुपर्दछ । यसले पुस्तकालयलाई केवल पुस्तक राख्ने कोठाबाट ज्ञान र प्रविधिको मिलनविन्दुमा रूपान्तरण गरिदिन्छ ।
नेपालमा स्मार्ट पुस्तकालय विकासका लागि पाठकको भावना अनुसार डिजिटल पूर्वाधार विस्तार, मानव स्रोत विकास तथा नीतिगत समर्थन अपरिहार्य छ । स्मार्ट पुस्तकालयले मात्र सबै वर्ग, उमेर र समुदायको प्रतिनिधित्व गर्ने भएकाले ज्ञानमा समान पहुँच सुनिश्चितताका लागि स्मार्ट पुस्तकालय अनिवार्य छ ।
स्मार्ट पुस्तकालयले भविष्यको दिशाको प्रतिनिधित्व गर्छ । पुस्तकालयलाई केवल पढ्ने ठाउँमा सीमित नराखी सीप विकास, अनुसन्धान, सामुदायिक सचेतना केन्द्र तथा सामाजिक अन्तर्घुलनको सङ्गमस्थलका रूपमा विकास गर्नु आवश्यक छ । नेपालका पुस्तकालयहरूले पनि प्रविधिको प्रयोगमार्फत समुदायको आवश्यकता विश्लेषण गरी सामुदायिक पुस्तकालयको स्वरूपमा समाजमा स्थापित हुन थालेका छन् ।
यसरी स्मार्ट पुस्तकालय ज्ञान र पाठकबीच अर्थपूर्ण सम्बन्ध कायम गर्ने माध्यम बन्ने देखिन्छ । जब देशमा स्मार्ट पुस्तकालयको अवधारणा विकास हुन्छ, तब मात्र अठारौं पुस्तकालय दिवसको नारा ‘हाम्रो पुस्तकालय : हाम्रो भविष्य’ले सार्थकता पाउने छ ।