नेभिगेशन
अर्थतन्त्र

एचडीपी पाइपमा मूल्यवृद्धि, कारक अन्तर्राष्ट्रिय संकट

काठमाडौं । एचडीपी पाइपमा ३० देखि ४० प्रतिशतसम्म अस्वाभाविक मूल्यवृद्धि भएको विषयमा एचडीपी पाइप उत्पादक संघले  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले आइतबार विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि मनपरी नभई अन्तर्राष्ट्रिय आपूर्ति संकटका कारण भएको प्रष्ट पारेको छ ।
संघका अनुसार हाल मध्यपूर्व र पश्चिम एसियामा देखिएको भू–राजनीतिक तनावले कच्चा तेल आपूर्तिमा गम्भीर असर पारेको छ । सोही कारण एचडीपी पाइप निर्माणमा प्रयोग हुने कच्चा पदार्थ ‘एचडीपी ग्रानुल्स’ को आयात प्रभावित भएको छ । भारतलगायत तेस्रो मुलुकबाट हुने ढुवानी अवरुद्ध हुँदा कतिपय उद्योगमा कच्चा पदार्थको मौज्दात शून्य भइसकेको र केही उद्योग बन्द भइसकेका वा बन्द हुने अवस्थामा पुगेका छन् ।
संघले प्रतिस्पर्धात्मक बजारमा मूल्य निर्धारण माग र आपूर्तिले गर्ने उल्लेख गर्दै हाल कच्चा पदार्थकै मूल्य करिब ६२ प्रतिशतसम्म बढेको जनाएको छ । इन्धनको मूल्यवृद्धि, ढुवानी खर्च वृद्धि तथा अमेरिकी डलरको विनिमय दर बढ्दा थप लागत चाप परेको पनि संघले उल्लेख गरेको छ । यस्तो अवस्था सामान्य नहुँदासम्म मूल्य स्थिर हुने निश्चित आधार नरहेको संघको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्