आजको मोबाइल, ट्याबलेट र कम्प्युटरले भरिएको दुनियाँमा बालबालिकाका लागि कति मिडिया समय उपयुक्त हुन्छ भन्ने प्रश्न बारम्बार उठ्छ । यद्यपि यसबारे ठ्याक्कै वैज्ञानिक तथ्य कमै पाइन्छ, केही आधारभूत सिद्धान्तहरूमा भने अधिकांश विशेषज्ञहरू सहमत छन् ।
अध्ययन र सिफारिसहरू भए पनि बालबालिकाका लागि कति स्क्रिन समय सुरक्षित हो भन्ने अन्तर्राष्ट्रिय स्तरको समान नियम अझै छैन । प्रत्येक बच्चाको आवश्यकता फरक हुन्छ र जबसम्म विज्ञानले पर्याप्त तथ्य सङ्कलन गर्छ, तबसम्म प्रविधि र सामाजिक मान्यताहरू धेरै अगाडि पुगिसकेका हुन्छन् ।
तर चिकित्सक, मनोवैज्ञानिक, कुलतसम्बन्धी अनुसन्धानकर्ता र मिडिया शिक्षाविद्हरू केही आधारभूत बुँदामा सहमत छन् । यी कुरा बालबालिकाको विकासका चरणसँग जोडिएका छन् र सावधानीको सिद्धान्तअनुसार लागू हुन्छन् । निष्कर्ष के छ भने— इलेक्ट्रोनिक उपकरणहरूले हानि पुर्याउँछन् भन्ने वैज्ञानिक शंका मात्र भए पनि पहिले नै सचेत हुनु उत्तम हुन्छ ।
शिशुको संसार बुझ्ने समय
जर्मनीमा ‘३ वर्षसम्म स्क्रिन–मुक्त’ भन्ने नारालाई अचेल लोकप्रिय बनाइएको छ । बालरोग विशेषज्ञ उर्लिके गैसरका अनुसार, यस चरणमा बालबालिकालाई स्क्रिन सामग्री न त आवश्यक हुन्छ न त बुझ्ने क्षमता नै ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भने दुई वर्षभन्दा माथिका बच्चाका लागि दिनमा एक घण्टा भन्दा बढी स्क्रिन नहेर्न सिफारिस गरेको छ तर अझ कम समयमा सीमित गर्नु राम्रो मानिन्छ ।
जीवनका पहिलो दुई वर्ष बच्चाले आफ्नो वरपरको वातावरण अनुभव गरेर ध्यान केन्द्रित गर्न सिक्नुपर्छ । यस क्रममा उनीहरूले रोएर मात्र नभई धैर्यपूर्वक प्रतीक्षा गर्न पनि सिक्नुपर्छ । यसरी नै प्रतीक्षा गर्ने र स्वीकार गर्ने जीवनका आधारभूत दुई सीपहरू विकसित हुन्छन् ।
स्क्रिनले विकासको समय चोर्छ
जेना विश्वविद्यालयकी बाल–मनोवैज्ञानिक जुलिया एसब्रान्डका अनुसार, बच्चाले संसारलाई वयस्कभन्दा फरक ढंगले बुझ्छन् । सानाबालबालिकाले फिल्म वा सामाजिक सञ्जालमा देखेको कुरा पनि वास्तविक जस्तो मान्न सक्छन् । त्यसले उनीहरूलाई डराउन सक्छ । त्यसैले अभिभावकले बच्चाले के हेरे भन्ने सोध्नु आवश्यक हुन्छ ।
स्क्रिन समय बढ्दै जाँदा बच्चाले आफ्ना अभिभावकलाई सुन्ने शब्दहरू घट्ने अनुसन्धानले देखाएको छ । हरेक मिनेट स्क्रिन अगाडि बिताउँदा बच्चाले ६ शब्द कम सुन्छ । लामो समयसम्म यसले भाषिक विकासमा ठूलो घाटा पुर्याउँछ । अत्यधिक स्क्रिनले भाषिक क्षमता मात्र होइन, सानो मोटर–सीप, ध्यान केन्द्रित गर्ने क्षमता र सामाजिक व्यवहारमा पनि असर गर्छ ।
बालविहार उमेर
विद्यालय जानुअघि बालबालिकाले घण्टौँ समय खेल्न, वरपर अनुभव गर्न र अरूसँग अन्तरक्रिया गर्न आवश्यक हुन्छ । यसरी उनीहरूले सहकार्य, असहमति, र कहिलेकाहीँ असफलता पनि अनुभव गर्छन् ।
यो चरणमा कल्पनाशक्ति विकास गर्न अति महत्वपूर्ण हुन्छ । बालबालिकाले आफ्नै ‘भित्री चित्र’ बनाउने अवसर पाउँदैन भने यो सीप कमजोर हुन्छ । त्यसैले यस उमेरमा ३० मिनेटभन्दा बढी स्क्रिन समय उपयुक्त मानिँदैन ।
विद्यालयः मूल्य सिकाउने ठाउँ
६ देखि ९ वर्ष उमेरमा बच्चाले पहिलो पटक नैतिक कम्पास विकास गर्छन् । गैसर भन्छिन्, ‘के हामीले के सिकाउने वा नसिकाउने भन्ने नैतिक कम्पास इन्टरनेटलाई छोडिदिने ?’ यो उमेरमा अनुशासन, ज्ञान हासिल गर्ने बानी र आत्मनिर्भरता सिकाउनुपर्छ ।
जर्मनीमा सिफारिसअनुसार यस उमेरका लागि अधिकतम ३०–४५ मिनेट मात्र स्क्रिन हेर्न दिनुपर्छ, त्यो पनि अभिभावकको निगरानीमा ।
यद्यपि डिजिटल युगमा धेरै कुरा अनलाइनमा नै हुन्छन् । बच्चा साथीहरूको ह्वाट्स एप समूह नभए उनीहरूले आफू बहिष्कृत महसूस गर्न सक्छन् । त्यसैले पूर्णतः स्क्रिनबाट टाढा राख्न नसकिने विज्ञहरूको भनाइ छ ।
किशोरावस्थामा नियन्त्रण चुनौती
९ देखि १२ वर्ष उमेरका लागि ४५–६० मिनेट, १२ देखि १६ वर्षका लागि १–२ घण्टा र १६ देखि १८ वर्षका लागि करिब २ घण्टा स्क्रिन समय सिफारिस गरिएको छ ।
यस समयमा खुला प्रश्न सोधेर बच्चाले के हेरिरहेका छन् भन्ने बुझ्न अभिभावकले प्रयास गर्नुपर्छ । किशोरकिशोरीहरूले गोप्य रूपमा हेर्ने इन्टरनेटमा छिर्ने बानी बसाले, यस्तो अवस्थामा उनीहरू खतरामा पर्न सक्ने विज्ञहरूको भनाइ छ । खासगरी उनीहरू अनलाइन ठगी वा वयस्कका सामग्रीको जालमा पर्न सक्छन् ।
सबै प्रविधि खराब होइनन्
गैसरका अनुसार, वास्तविक कुरा समय मात्र होइन, सामग्री हो । बच्चाले के हेर्छन् र त्यसलाई कसरी बुझ्छन् भन्ने कुरा नै महत्वपूर्ण हुन्छ । इन्टरनेटमा उत्कृष्ट कुरा पनि हुन्छन् ।
उनीहरूले त्यहाँ भाषा सिक्न, अध्ययन गर्न, साथी बनाउन, वा आफ्नै आवाज बुलन्द गर्न सिक्न सक्छन् । सामाजिक सञ्जालले परिवारसँग सम्पर्कमा रहन पनि मद्दत गर्न सक्छ ।
यस्तो अवस्थामा अभिभावकले आफ्ना सन्तानलाई सकेसम्म स्क्रिन अगाडि एक्लै छोड्नु हुँदैन । उनीहरूले के हेरे भन्नेबारे छलफल गर्नुपर्छ । सम्भावित खतराबारे अभिभावकले जानकारी दिनुपर्छ । खासगरी डिजिटल मिडिया लत लाग्न सक्नेबारे उदाहरणसहित बुझाउनुपर्छ ।
आफ्ना सन्तान इन्टरनेटमा एक्लै बस्न रुचाउन थाले, कुरा लुकाउन थाले, अन्य किसिमका गतिविधि छोड्न थाले वा उदास हुन थाले ध्यान दिनुपर्छ ।
प्राविधिक रूपमा निश्चित समयसीमा र नियम बनाउनुपर्छ । उदाहरणका लागि, राति ८ बजेपछि सबै उपकरण ‘स्लीप मोड’ मा राख्ने । बच्चालाई मात्र होइन, अभिभावकले पनि यसमा अभ्यस्त हुनु जरुरी हुन्छ ।