नेभिगेशन
अचम्मको संसार

‘अस्थि अपार्टमेन्ट’ चीनमा बढ्दो अनौठो चलन

बेइजिङ । चीनले आफ्ना मृतक आफन्तको अस्थि (खरानी) राख्नका लागि खाली रहेका उच्च–तल्लाका अपार्टमेन्टहरु प्रयोग गर्न थालेको एउटा अध्ययनमा देखिएको छ । यस्ता अपार्टमेन्टलाई ‘बोन एश अपार्टमेन्ट’ भनिन्छ । उता चिनियाँ सरकारले भने यस्तो चलन अपनाउने परिवारमाथि कडाइ सुरु गरेको छ । चर्को हुँदै गएको चिहान खर्चबाट बच्न पछिल्लो समय ‘अस्थि अपार्टमेन्ट’को अभ्यास बढ्दै गएको छ ।
आज मंगलबार जारी गरिने नयाँ कानूनले यस्तो अभ्यासलाई अवैध बनाउने छ । तीव्र वृद्धावस्थातर्फ जाँदै गरेको जनसंख्या र सम्पत्ति बजारमा आएको गिरावटले गर्दा आवासीय अपार्टमेन्टहरू चिहानभन्दा सस्तो विकल्पका रूपमा देखिन थालेपछि यस्तो प्रवृत्ति बढेको फाइनान्सियल टाइम्सले जनाएको छ ।
‘बसोबासका लागि बनेको स्थानलाई मानिसहरूले नयाँ अर्थ दिन थालेका छन् । र धेरैका लागि त्यो अर्थ अस्थि राख्ने स्थान बनेको छ,’ क्यालिफोर्निया विश्वविद्यालय, इरभाइनकी पीएचडी विद्यार्थी तथा यस विषयमा अध्ययन गर्ने शिनयी वुको भनाइ छ ।
यो नयाँ कानून आउँदो अप्रिल ५ मा पर्ने चिङमिङ (चिहान सफा गर्ने) पर्वअघि लागू हुन लागेको हो । चिङमिङ पर्वमा चिनियाँहरुले आफ्नो दिवंगत अभिभावकहरुको चिहान तथा समाधिस्थल सफा गर्ने, पूर्वहरुलाई सम्झने काम गर्छन् । पछिल्लो समय चीनमा तीव्र शहरीकरणले चिहान स्थलको माग बढाएको छ । शहरी क्षेत्रमा खुम्चिदो चिहानजन्य भूमिका कारण यसको मूल्य चर्को रुपमा बढ्न थालेको छ ।
यससँगै चीनको जनसंख्या पनि इतिहासमै तीव्र गतिमा वृद्ध हुँदै जाँदैछ । सन् २०२५ मा सर्वसाधारणको मृत्यु संख्या १ करोड १३ लाख पुगेको छ । यो संख्या २०१५ को ९८ लाख थियो भने गत वर्ष ७९ लाख जन्मदर रहेको थियो ।
यसको विपरीत, राष्ट्रपति सि जिनपिङको ‘घर बसोबासका लागि हो, लगानीका लागि होइन’ भन्ने धारणा राखेका थिए । सो धारणापछि अपार्टमेन्टको मूल्य घट्दै गएको छ भने चिहान स्थलको भाउ अचाक्ली महँगो बन्न पुगेको छ ।
बीमा कम्पनी सनलाइफको सन् २०२० को विश्वव्यापी सर्वेक्षणअनुसार, चीनमा अन्त्येष्टि खर्च औसतमा ३८,७३७ डलर (झण्डै ५४ लाख रुपैयाँ) पुगेको छ, जुन जापानपछि विश्वकै दोस्रो महँगो हो ।
चीनमा आवासीय सम्पत्तिमा ७० वर्षसम्म प्रयोग अधिकार पाइने भए पनि चिहान स्थलका लागि मात्र २० वर्षको लिज हुन्छ । वुका अनुसार नयाँ कानूनले खुलेआम ‘अस्थि अपार्टमेन्ट’ बिक्री गर्न रोक लगाए पनि सर्वसाधारणले गोप्य रूपमा यस्तो अभ्यास जारी राख्ने सम्भावना छ ।
विश्लेषकहरुका अनुसार, यस्तो चलन विशेषगरी पारिवारिक सम्पत्ति धेरै भएका वा कुल–परम्परामा विश्वास गर्ने परिवारहरूमा बढी देखिन्छ । उनीहरू यी अपार्टमेन्टलाई भविष्यमा मूल्य बढे बेच्न सकिने सम्पत्तिका रूपमा पनि हेर्छन् ।
मृत्युजस्तो विषयमा चीनमा सामाजिक निषेध र केही नकारात्मक अनलाइन प्रतिक्रियाबीच पनि, केही युवा भाडा घट्ने भए छिमेकीको घरमा अस्थि राखिएको स्वीकार्न तयार देखिन्छन् ।
‘यदि अर्को फ्ल्याटमा अस्थि राख्दा मेरो आफ्नै खर्च घट्छ भने, त्यो मेरालागि खासै ठूलो कुरा नहुन सक्छ,’ एक युवाले आफ्नो सामाजिक सञ्जालमा टिप्पणी गर्दैै लेखेका छन् ।
नयाँ कानूनअन्तर्गत सरकारले वैकल्पिक अन्त्येष्टि विधिलाई प्रोत्साहन गरिरहेको छ । परिस्थितिजन्य यो विधिमा अस्थिलाई समुद्रमा विसर्जन गर्ने जस्ता उपाय समेत अपनाइने गरेको छ । यो विधि सस्तो त छ नै, वातावरणमैत्री पनि उत्तिकै भएकाले सरकारले यस्ता विकल्पलाई प्रोत्साहित पनि गरिरहेको छ ।
बेइजिङमा अहिले ३० देखि ४० प्रतिशत ग्राहकहरूले यस्ता पारिस्थितिक अन्त्येष्टि रोजिरहेको क्युइये नामक चिहान सेवा प्लेटफर्मका परामर्शदाता लीको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्