नेभिगेशन
अचम्मको संसार

सन्तान जन्माउन ह्वेलको सहयोग

गत महिना एउटा बच्चा जन्माउन लागेकी पोथी स्पर्म ह्वेललाई उसको सामाजिक समूहका अन्य १० वटा पोथीहरूले सहयोग गरे । गैर–प्राइमेट (मानव वा बाँदर प्रजाति बाहेकका) प्राणीहरूमा यस्तो घटना देखिएको यो पहिलो पटक हो । सन् २००५ देखि क्यारिबियन क्षेत्रमा स्पर्म ह्वेलहरूको एउटा समूहलाई निगरानी गरिरहेका वैज्ञानिकहरूले सन् २०२३ को जुलाईमा उक्त समूहका सबै ११ वटा पोथीहरू सतह नजिकै भेला भएको फेला पारेका थिए । संयोगवश अनुसन्धानकर्ताहरूसँग त्यस बेला ड्रोनहरू भएकाले उनीहरूले सो घटनालाई नजिकबाट हेर्न र रेकर्ड गर्न सफल भए ।
त्यसको केही समयपछि नै आमाको शरीरबाट बच्चाको पुच्छर बाहिर निस्कन थाल्यो । त्यसपछिका आधा घण्टासम्म सुत्केरी प्रक्रिया चलिरहँदा अन्य पोथीहरूले आमा र नवजात बच्चाको सुरक्षाका लागि निकै मिलेको घेरा बनाएका थिए । बच्चा जन्मिएलगत्तै पोथी ह्वेलहरूले त्यसलाई पालैपालो पानीको सतहभन्दा माथि उठाउन मद्दत गरे । जन्मिएको सुरुवाती केही घण्टासम्म स्पर्म ह्वेलका बच्चाहरू आफैँ पानीमा तैरिन सक्दैनन् र सतहमा रहन असमर्थ हुन्छन् । त्यसैले तिनीहरूलाई डुब्नबाट जोगाउन यस्तो सहयोग निकै महŒवपूर्ण मानिन्छ ।
न्यू योर्कस्थित ‘प्रोजेक्ट सेटी’मा आबद्ध टोली सदस्य शेन गेरोका अनुसार गैर–प्राइमेट प्राणीहरूमा जन्मको समयमा सहयोग गरिएको यो पहिलो प्रमाण हो । यस्तो जटिल व्यवहार पहिले मानिसमा मात्रै सीमित हुने ठानिन्थ्यो र हालैका वर्षहरूमा मात्र अन्य प्राइमेटहरूमा देखिएको थियो । गेरो भन्छन्, ‘स्पर्म ह्वेलको समाज बलियो महिला नेतृत्वबाट चल्छ जहाँ ज्ञान एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन्छ । एउटी बज्यैले सुत्केरी व्यथा लागेकी आफ्नी छोरीलाई दिएको सहारा र नाता नपर्ने अन्य पोथीहरूको सहयोग देख्नु साँच्चै उत्साहजनक छ ।’
बच्चा जन्मिएको करिब १८ मिनेटपछि त्यहाँ ‘सर्ट–फिन्ड पाइलट ह्वेल’ हरू आइपुग्दा पोथी स्पर्म ह्वेलहरूले कडा सुरक्षात्मक प्रतिक्रिया जनाएका थिए । नर्थइस्टर्न युनिभर्सिटी लण्डनका टोली सदस्य जोभानी पेट्रीका अनुसार उनीहरूले नवजात बच्चा र पाइलट ह्वेलहरूको बीचमा कम्तीमा एउटा वयस्क ह्वेललाई सुरक्षाका लागि सधैँ तैनाथ राखेका थिए । धेरै पटक वयस्क ह्वेलहरूले आफ्नो बङ्गारा खोलेर र टाउको हल्लाएर नजिक आउन खोज्ने पाइलट ह्वेलहरूलाई तर्साउने प्रयास गरे । एक पटक त एउटा पाइलट ह्वेलले बच्चाको सबैभन्दा नजिक रहेकी वयस्क पोथीको नाकमा तीव्र गतिमा ठक्करसमेत दियो ।
गेरोका अनुसार टोलीले अहिलेसम्म उक्त बच्चा भाले वा पोथी के हो भन्ने कुरा पत्ता लाग्न सकेको छैन । आगामी केही महिनामा फेरि देख्न पाएमा त्यसको नाम राखिने उनी बताउँछन् । यो बच्चाले आफ्नो जीवनको पहिलो एक वर्ष सफलतापूर्वक पार गरिसकेको छ, जुन समयमा यस्ता बच्चाहरूको मृत्यु हुने सम्भावना निकै उच्च हुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्