नेभिगेशन
अर्थतन्त्र

राजनीति र नाफा बुकिङको दोहोरो प्रभावमा नेप्से

काठमाडौं । साताभरि नेप्से परिसूचक तीव्र उतारचढावको रह्यो । राजनीतिक घटनाक्रम, लगानीकर्ताको मनोविज्ञान र नाफा बुकिङको प्रभावले बजारमा अस्थिरता देखिँदा समग्र साता मिश्रित रह्यो ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से ७१.०५ अंकले घट्दै २८७९.११ बिन्दुमा झ¥यो । नयाँ सरकार गठनसँगै विकसित राजनीतिक घटनाक्रम, विशेषगरी केपी शर्मा ओली र रमेश लेखक पक्राउपछि उत्पन्न अन्योलले लगानीकर्तामा त्रास सिर्जना ग¥यो । यस दिन १५ अर्बभन्दा बढीको कारोबार हुँदा अधिकांश कम्पनीको मूल्य घट्यो, जसले बजारमा व्यापक बेचबिखन भएको संकेत दियो ।
सोमबार पनि बजारले गिरावटको क्रम रोकेन । नेप्से थप ४७.७१ अंकले घट्दै २८३१.३९ बिन्दुमा आइपुग्यो । कारोबार रकम पनि घटेर करिब १२ अर्ब ९६ करोड रुपैयाँमा सीमित भयो । सबै समूहका सूचक राताम्मे हुँदा बजारमा ‘प्यानिक सेलिङ’ देखिएको थियो । जसले लगानीकर्ताको विश्वास कमजोर बनेको देखायो । 
तर मंगलबार भने बजारले केही सुधारको संकेत दियो । नेप्से १९.७० अंकले बढ्दै २८५१.०९ बिन्दुमा उक्लियो । अर्थमन्त्री स्वर्णिम वाग्ले र गभर्नर विश्वनाथ पौडेलबीचको भेट तथा सरकारले बजार प्रतिकूल निर्णय नगर्ने संकेतले लगानीकर्तामा केही आत्मविश्वास फर्काएको देखियो । यद्यपि कारोबार रकम भने घटेर करिब ११ अर्बमा झ-यो, जसले सुधारप्रति अझै सतर्कता रहेको देखाउँछ । बुधबार पुनः बजारमा ठूलो गिरावट आयो । नेप्से ७४.७३ अंकले घट्दै २७७६.३६ बिन्दुमा झ-यो । प्रमुख दलका नेताहरूमाथि अनुसन्धान र आन्दोलनको घोषणाले बजारमा मनोवैज्ञानिक दबाब बढाएको विश्लेषण गरिएको छ । यस दिन कारोबार रकम भने बढेर १२ अर्ब नाघ्यो, जसले घट्दो बजारमा पनि सक्रिय कारोबार जारी रहेको देखायो ।
साताको अन्तिम कारोबार दिन बिहीबार भने नेप्से सामान्य सुधारसहित ५.८२ अंकले बढेर २७८२.१८ बिन्दुमा बन्द भयो । यद्यपि कारोबार रकम घटेर ८ अर्ब ८१ करोडमा सीमित रह्यो । केही समूहमा सुधार देखिए पनि समग्र बजार अझै स्थिर हुन सकेको छैन ।
समग्र साताको सूचक र कारोबारका प्रवृत्ति विश्लेषण गर्दा नेप्सेमा उच्च अस्थिरता देखिएको हो । आइतबार र सोमबारको तीव्र गिरावटपछि मंगलबारको सुधार क्षणिक रह्यो भने बुधबार पुनः ठूलो गिरावट आयो । बिहीबारको सामान्य वृद्धि पनि बजार स्थायित्वको स्पष्ट संकेत बन्न सकेको छैन ।
बजारलाई तीन मुख्य कारकले प्रभावित गरे – राजनीतिक अस्थिरता, नाफा बुकिङ र लगानीकर्ताको मनोवैज्ञानिक दबाब । राजनीतिक घटनाक्रमले अनिश्चितता बढाउँदा धेरै लगानीकर्ताले जोखिम घटाउन सेयर बेच्ने रणनीति अपनाए । त्यस्तै, अघिल्लो महिनादेखि बढेको बजारबाट नाफा सुरक्षित गर्ने प्रवृत्तिले पनि गिरावटलाई थप बल पु¥यायो ।
लगानीकर्ताको मनोविज्ञानमा ‘पर्ख र हेर’ अवस्था देखिएको छ । बजारमा दीर्घकालीन लगानीकर्ताभन्दा छोटो अवधिका व्यापारी सक्रिय देखिँदा उतार–चढाव तीव्र भएको हो । कारोबार रकम उच्च रहनु भने बजारप्रति चासो कायम रहेको संकेत हो ।
समग्रमा बजार अझै राजनीतिक र नीतिगत संकेतको प्रतीक्षामा रहेको देखिन्छ । स्पष्ट नीति, स्थिर राजनीतिक वातावरण र लगानीकर्ता विश्वास पुनःस्थापित भएमा मात्र बजारले दिगो उकालो समात्ने सम्भावना देखिन्छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्