नेभिगेशन
अर्थतन्त्र

निर्माण उद्योगका समस्या समाधानमा मन्त्री लम्सालको प्रतिबद्धता

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री सुनिल लम्सालले निर्माण उद्योगमा विद्यमान समस्याहरू समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष निकोलस पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलसँगको आइतबार भएको छलफलमा मन्त्री लम्सालले निर्माण उद्योगलाई अब सूचना प्रविधिको उच्चतम प्रयोग गरी ‘भ्रष्टाचार शून्य’ बनाइने दृढता व्यक्त गरे ।

पश्चिम एशियाको युद्धका कारण इन्धन र निर्माण सामाग्रीहरूमा अत्यधिक मूल्यवृद्धि भएको भन्दै मन्त्री लम्सालले दुई हप्ताभित्रै निर्देशिका जारी गरी मूल्यवृद्धि समस्या सम्बोधन गर्ने प्रतिबद्धता गरे । मन्त्री लम्सालले एक वर्ष अवधि भएका सबै ठेक्काको हकमा पनि मूल्यवृद्धिको व्यवस्था गरिने जानकारी दिए ।

निर्माण उद्योगमा अब आइन्दा भुक्तानीको समस्या नरहने गरी रकमान्तरको निर्णय भएको बताउँदै मन्त्री लम्सालले मोबिलाइजेशन पेश्कीको सदुपयोग भए नभएको अनुगमन गर्न विशेष प्रणाली स्थापना गरिएको बताए । उनले भुक्तानी र भि.ओमा अब विलम्ब नहुने गरी आयोजना प्रमुखलाई जिम्मेवार बनाइने बताए ।

निर्माण उद्योगमैत्री हुने गरी सार्वजनिक खरिद ऐन संशोधनको प्रक्रिया अघि बढेको बताउँदै मन्त्री लम्सालले उक्त संशोधन प्रक्रियामा महासंघको पनि संलग्नता रहने स्पष्ट पारे । 

अध्यक्ष पाण्डेले रुग्ण ठेक्काहरूको समस्या समाधानका लागि मन्त्री लम्सालको ध्यानाकर्षण गराउँदै ठेक्काहरूलाई सकेसम्म ‘रुग्ण’ हुनै दिन नहुने बताए । उनले आवश्यक वर्गिकरण गरी अधिकतम लचकता अपनाई रुग्ण ठेक्काको समस्या हल गरिने बताए ।

निर्माण उद्योगमा अब ‘थर्ड पार्टी’ ले कुनै समस्या सिर्जना नगर्ने दाबी गर्दै उनले यदि कोही कसैले त्यसो गरेमा सजायको भागिदार हुने बताए । उनले निश्चित मूल्य मान्यतामा आधारित भएर सरकारी र व्यवसायीले कार्य सम्पादन गरेमा निर्माण उद्योगमा कुनै समस्या नआउने दाबी गरे । महासंघको २६ औं साधारण सभा एवं १३ औं अधिवेशनबाट निर्वाचित कार्य समितिसँगका अन्य पदाधिकारीहरूको जिज्ञासको जवाफमा मन्त्री लम्सालले निर्माण उद्योगका समस्याहरू समाधान गर्न सरकार र व्यवसायी दुवै जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्ने धारणा राखे ।

सोही अवसरमा महासंघका नवनिर्वाचित अध्यक्ष निकोलस पाण्डेले नवनियुक्त मन्त्री लम्सालको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्