नेभिगेशन
अर्थतन्त्र

शेयर बजारमा १०५.५० अंकको पहिरो

काठमाडौं । ठूलो व्यापारिक घरानामाथि सरकारले अनुसन्धानात्मक कार्बाही अघि बढाएसँगै शेयर बजारमा आइतबार १०५.५० अंकको पहिरो गएको छ । साताको पहिलो दिन नेप्से परिसूचक कारोबार खुलेदेखि ओरालो लाग्दै  अन्तिममा ३.७९ प्रतिशत घटेर २६७६.६८ विन्दु कायम भएको छ । 
१३ मा सबै उपसमूहका सूचक ओह्रालो लाग्दा बजार घटेको हो । अन्य उपसमूहका लगानीकर्ताले सर्वाधिक ६.०९ प्रतिशतले गुमाएका छन् । जलविद्युत् ४.८४, विकास बैंक ४.३२, फाइनान्स ३.९४, निर्जीवन बिमा ३.८७, जीवन बिमा ३.५९, व्यापार ३.५८, लघुवित्त ३.४३, वाणिज्य बैंक र लगानी समान ३.३२ प्रतिशतले घटेका छन् ।
२६१ कम्पनीको शेयर मूल्य घट्दा ७ कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । नारायणी विकास बैंक, हिमालयन रि इन्स्योरेन्स, भूगोल इनर्जी डेभलपमेन्ट, गार्डियन माइक्रो लाइफ, सप्तकोशी विकास बैंक, पियोर इनर्जी र सान्भी इनर्जीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।
सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान तीव्र बनाउँदै ठूला लगानीकर्तामध्येका दीपक भट्ट र उनका व्यावसायिक साझेदार शंकर समूहका सञ्चालकहरु शंकर अग्रवाल र उनका छोरा सुलभलाई नियन्त्रणमा लिएको छ । यसको असर उनीहरु सम्बद्ध कम्पनीको शेयर कारोबारमा सोझै परेको आइतबारको सूचकले देखाएको छ । हिमालयन रि इन्स्योरेन्सका संस्थापकहरु एकपछि अर्को गरी अनुसन्धानको घेरामा परेपछि शेयर बजारमा लगानीकर्ता आत्तिएको देखिएको छ । बजारमा हिमालयन रिबारे अनेक हल्ला चलाइएका छन्, जसका कारण शेयर मूल्यमै प्रभाव परेको हो । 
हिमालयन रि इन्स्योरेन्सको संस्थापक लगानीकर्तामा इन्फिनिटी होल्डिङ्स छ, जसका प्रमुख दीपक भट्ट हुन् । उनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । इन्फिनिटी होल्डिङ्ससँग हिमालयन रिको ४५ लाख कित्ता संस्थापक शेयर छ । शंकर समूहको विभिन्न कम्पनीमा लगानी छ ।  
बजारमा ७ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ । यसका पनि ६ कम्पनीको शेयरमा पोजेटिभ सर्किट लागेको छ । रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, होटल फरेस्ट इन, सुपर खुदी र सूर्यकुण्ड हाइड्रोपावरको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । यी कम्पनी आईपीओ ल्याएर दोस्रो बजार कारोबारमा आएयता लगातार सर्किट लागेका छन् । 
रास्वपाको बहुमतसँगै हौसिएको बजार सरकार गठनयता भने घट्दैछ । नेप्से २७४ अंकले ओरालो लागिसकेको छ । आइतबार १२ अर्ब ३८ करोड ९ लाख रुपैयाँको ३ करोड १२ लाख ६ हजार १६२ कित्ता शेयर किनबेच भएको छ । बजारमा हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै ५८ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लगानीकर्ता आत्तिएको देखिएको छ । बेच्ने धेरै हुँदा कारोबार मूल्य घटेर प्रति कित्ता ७०४ रुपैयाँ ७० पैसामा आइपुगेको छ । 
यस्तै शिवम् सिमेन्टको ४५ करोड २५ लाख, ङादी ग्रुप पावरको ४२ करोड ६ लाख, नेशनल हाइड्रोपावरको ३६ करोड ७६ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको ३४ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्