नेभिगेशन
अर्थतन्त्र

पाँच कर्मचारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं । पोखरास्थित गण्डकीको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेलसहित पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ । गैरकानूनी रूपमा आर्जन गरिएको सम्पत्तिको स्रोत लुकाउने, छल्ने तथा स्वामित्व परिवर्तन गर्ने कार्यमा संलग्न रहेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा सोमबार आरोपपत्र दायर गरेको हो । 
आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार पौडेलले पदीय मर्यादा विपरीत आर्जन गरेको गैरकानूनी सम्पत्तिको वास्तविक स्रोत लुकाउन, छल्न र स्वामित्व परिवर्तन गर्न विभिन्न व्यक्तिसँग ऋण लिएको नक्कली कागजात तयार गरी बैंक तथा वित्तीय संस्थामार्फत जटिल आर्थिक कारोबार गरेको अनुसन्धानबाट पुष्टि भएको छ ।  
पौडेलले २ करोड ५८ लाख ६७ हजार ३२४ रुपैयाँ ५३ पैसा बराबरको सम्पत्ति शुद्धीकरण गरेको ठहर गर्दै आयोगले सोही बराबरको बिगो कायम गरी कैद र जरिवानाको माग गरेको छ भने १ करोड ७० लाख १३ हजार ५० रुपैयाँ ७७ पैसा जफत गर्नसमेत मागदाबी गरेको छ । यसअघि नै पौडेलविरुद्ध ६ करोड २६ लाख ९३ हजार १२९ रुपैयाँ ८२ पैसा बराबरको गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा दर्ता भई विशेष अदालतमा विचाराधीन छ । यस कसुरमा मतियारका रूपमा सहयोग गरेको अभियोगमा आयोगले हुमाकुमारी उपाध्याय, जमुनाकुमारी रोकाक्षेत्री, हरिप्रसाद पौडेल र शान्ति दराई पौडेललाई पनि प्रतिवादी बनाएको छ । उनीहरूलाई मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय मागदाबी गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्