नेभिगेशन
अचम्मको संसार

के वास्तवमै एलियनहरू हुन्छन् ?

यो ब्रह्माण्डमा पृथ्वी भन्ने ग्रह छ । यो ग्रहमा मानव र अन्य प्राणीहरू छन् । उसो भए यो ब्रह्माण्डमा रहेका अन्य ग्रहहरूमा मान्छेजस्तै अन्य प्राणीहरू छन् कि छैनन् भन्नेबारे लामो समयदेखि चर्चा चलिरहेको छ । 
यदि त्यस्ता प्राणीहरू छन् भने कस्ता होलान् भन्ने कल्पना गरेर विज्ञानकथाका रचनाकारहरुले आकार प्रकार पनि बताउने नगरेका होइनन् । यो कल्पनालाई हलिउडले धेरै लामो समयदेखि फिल्म र टेलिभिजन शृंखला बनाएर दोहन ग¥यो । बलिउडले पनि यो काम मनोयोगपूर्वक ग¥यो ।
यतिबेला यो ब्रह्माण्डमा एलियन हुन्छन् कि हुँदैनन् भनेर पुनः चर्चा चल्न थालेको छ । यदि वास्तवमै एलियनहरू छन् र उनीहरूले हामीलाई वा हामीले बनाएको यो संसारलाई हेरे भने हाम्रा बारेमा के सोच्छन् होला ? अनि यदि एलियनहरू हाम्रो संसारमा आए भने उनीहरूलाई देख्ने, खोज्ने वा जान्ने कुरा हाम्रो हातमा होला कि नहोला ?
हालै हलिउडले बनाएको ‘हेल मेरी’ फिल्ममा पनि मान्छे र एलियनबीचको सम्बन्धका बारेमा उठाएको छ । हुन त, केहीले यो चर्चाको मूल कारण हलिउडले बनाएको फिल्मको प्रचारका लागि पनि हो भनेर एलियनका बारेमा चासो राख्नेहरुले टिप्पणी गरेका छन् ।
यसका बाबजूद पनि के यो विशाल ब्रह्माण्डमा हाम्रो ग्रहमा मात्र जीवन र प्राणीको बसोबास छ भन्ने प्रश्नले भने छोडेको छैन । के अन्त कतै कुनै अर्को ग्रहमा पनि जीवन फस्टाइरहेको होला ? यदि छ भने, त्यो जीवन कस्तो होला ? ती जीवहरू कस्ता होलान् ? हामी जस्तै, हाम्रा ग्रहका अन्य जीवजस्तै वा हाम्रो कल्पनाभन्दा पनि बाहिरका, कस्ता होलान् ? धेरै पुस्तादेखि हामी मानिसहरू एलियनको कल्पना गर्दै यस्ता प्रश्नहरू सोच्दै र सोध्दै आएका छौं तर यदि एलियनहरू भए र उनीहरूले हामीलाई तथा हाम्रो संसारलाई देखे भने हाम्रा बारेमा के सोच्छन् होला भनेर हामीले विरलै सोध्ने गरेका छौं ।
सन् २०२६ को अप्रिल महिना सुरु भइसकेको छ र एलियनप्रतिको जिज्ञासा अनि त्यससँग जोडिएका अनगिन्ती प्रश्नहरूका सम्बन्धमा अमेरिकामा धेरै नयाँ कुराहरू भइसकेका छन् । फेब्रुअरीमा एउटा पोडकास्टमा पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामालाई ‘के वास्तवमै एलियन छन् ?’ भनेर प्रश्न सोधिएको थियो । यसमा ओबामाले जवाफ दिए, ‘ती वास्तवमै छन्, तर मैले उनीहरूलाई देखेको छैन । अनि उनीहरूलाई एरिया ५१ मा पनि राखिएको छैन ।’
अति गोप्य फाइलहरूसम्म पहुँच भएका अमेरिकाका पूर्व राष्ट्रपतिले जब ‘एलियनहरू साँच्चै छन्’ भन्छन्, तब चर्चा हुनु स्वाभाविक नै हो । चर्चा यसरी भयो कि मानौँ ओबामाले एलियनको अस्तित्वमा छाप नै लगाइदिए । त्यसपछि ओबामाले स्पष्टीकरण दिँदै एउटा बयान जारी गरे ।
त्यसमा लेखिएको थियो, ‘तथ्याङ्कअनुसार हेर्ने हो भने ब्रह्माण्ड यति विशाल छ कि त्यहाँ जीवन हुने राम्रो सम्भावना छ तर सौर्यमण्डलहरू बीचको दूरी यति धेरै छ कि एलियनहरू हाम्रोमा आएका होलान् भन्ने सम्भावना कम छ । र, राष्ट्रपतिको रूपमा आफ्नो कार्यकालमा मैले अन्य ग्रहका जीवहरूले हामीसँग कुनै सम्पर्क गरेको त्यस्तो कुनै प्रमाण देखेको छैन । साँच्चै !’
यसलगत्तै, फेब्रुअरी १९ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत एउटा घोषणा गरे । ट्रम्पले लेखे— यस विषयमा मानिसहरूको निकै चासो रहेकाले उनले अमेरिकी रक्षा मुख्यालय ‘पेन्टागन’ लगायत अन्य सरकारी एजेन्सीहरूलाई परग्रही जीव र यूएफओ सँग सम्बन्धित जानकारी तथा फाइलहरू पहिचान गरी सार्वजनिक गर्न निर्देशन दिइरहेका छन् । यति मात्र होइन, ट्रम्पले ओबामाले गोप्य जानकारी सार्वजनिक गरेको आरोप पनि लगाए । ट्रम्पले यूएफओको अस्तित्वबारे आफ्नो राय दिँदै भने कि उनी आफैँलाई पनि यूएफओ वास्तविक हुन् वा होइनन् भन्ने थाहा छैन ।
त्यसपछि मार्चको अन्तिम दिन अमेरिकी सांसद तथा रिपब्लिकन पार्टीकी सदस्य एना पालिना लुनाले रक्षा मन्त्री पिट हेगसेथलाई एउटा पत्र पठाइन् । उनले पत्रमा यूएपी (अनआइडेन्टिफाइड एनोमलस फेनोमेना) देखिएका भनिएका करिब चार दर्जन फाइलहरू ‘ओभरसाइट कमिटी टास्क फोर्स’लाई बुझाउन माग गरेकी छन् । उनले अमेरिकाका संवेदनशील सैन्य प्रतिष्ठानहरू वरपर आकाशमा यूएपीको उपस्थिति सेनाको सुरक्षाका लागि खतरा भएको तर्क गरेकी छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अचम्मको संसार