नेभिगेशन
अर्थतन्त्र

अर्थमन्त्रीलाई नाडाको ३६ बुँदे सुझाव

‘सरकारको प्राथमिकतामा राजस्व वृद्धि, करको दरमा कमी र दायरा विस्तार’

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका प्रतिनिधिले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी नेपालको अटोमोबाइल क्षेत्रको वर्तमान अवस्थाका बारेमा छलफल गरेको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको मण्डलले सोमबार अर्थमन्त्रीलाई भेट गरी नेपालको अटोमोबाइल क्षेत्रलाई माथि उठाउन वर्तमान सरकारबाट आवश्यक नयाँ नीतिनियम आउने अपेक्षा रहेको जनाएको हो ।
यसबाट सरकारले प्राप्त गर्ने राजस्वमा पनि वृद्धि हुने र रोजगारी पनि बढ्ने उनीहरूको विश्वास छ । भेटमा मन्त्री वाग्लेले सरकार राजस्व संकलनमा कसरी वृद्धि ल्याउने भन्ने सम्बन्धमा विचार गरिरहेको, राजस्वमा वृद्धि हुनेगरी करको दर घटाउन चाहेको, राजस्वको दायरा विस्तार गर्न लागेको भन्दै निजी क्षेत्रमैत्री नीति ल्याइने आश्वासन दिएका छन् ।
यसैक्रममा मन्त्री वाग्लेले सरकारले अनियमितता हटाउन आवश्यक पहल गर्ने, सडक निर्माणका लागि ठूलो लगानी गर्ने र आउँदो बजेटका सन्दर्भमा नाडासँग पुनः छलफल गर्ने बताए । छलफलका क्रममा अध्यक्ष उपे्रतीले नेपालको अटोमोबाइल उद्योग फस्टाउनका लागि आयातित कच्चा पदार्थमा छुट दिनुपर्नेबारे अवगत गराए ।
‘टायर, ट्युब, ब्याट्री, लुब्रिकेन्ट्स र हेलमेट जस्ता विभिन्न अटोमोबाइल वस्तुहरू नेपालमै उत्पादन भइरहे पनि त्यसको गुणस्तर मापन गर्ने यन्त्रहरू सरकारसँग नभएकाले व्यवसायीले विभिन्न समस्याको सामना गर्नु परिरहेको छ,’ उनले भने, ‘सरकारले अटोमोबाइल वस्तुहरूको उत्पादनका लागि आवश्यक वातावरण तयार गरिदिनुपर्छ ।’
भेटमा अध्यक्ष उपे्रतीले नाडाको तर्फबाट ३६ बुँदे लिखित राय सुझावसमेत पेस गरेका छन् ।
छलफलको क्रममा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नेपालमा अटोमोबाइल कम्पोनन्ट उद्योगहरूको ठूलो सम्भावना रहेकोे बताए । त्यस्तै नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले लगानीमैत्री नीति नियमहरूको खाँचो रहेको भन्दै नेपालमा विद्युतीय सवारी साधनको सम्वर्धन र प्रवर्धनका लागि आवश्यक नीतिका बारेमा चर्चा गरे । श्रेष्ठले भारतमा जिएसटी घटेकोले चोरी निकासी बढेको हुँदा सीमा क्षेत्रमा कडाइ गर्नुपर्ने बताए ।
नाडाका उपाध्यक्ष विक्रम सिंघानियाले सरकारले नेपाली उद्योगलाई प्रश्रय दिनुपर्ने बताए । छलफलमा नाडाका उपाध्यक्षद्वय अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणी पाठकलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्