नेभिगेशन
अर्थतन्त्र

सार्वजनिक खरिद ऐन संशोधन गर्न निर्माण व्यवसायीको माग

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले मध्यपूर्वमा जारी युद्धका कारण निर्माण उद्योगमा अत्यधिक प्रयोग हुने डिजेल, पेट्रोल, मट्टितेललगायतका इन्धन सामग्रीसहित निर्माण कार्यमा व्यापक प्रयोग हुने बिटुमिन, सिमेण्ट, डण्डीजस्ता निर्माण सामग्रीमा निरन्तरको मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका महासचिव शिवहरि घिमिरेले सोमबार विज्ञप्ति जारी गरी निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धि र अभावले निर्माण उद्योग थप मर्कामा परेको उल्लेख गरेका हुन् । ‘निर्माण कार्य तीव्ररूपमा हुने समयमै इन्धन सामग्रीसहित निर्माण सामग्रीमा निरन्तर भइरहेको मूल्यवृद्धि एवं अभावले निर्माण व्यवसायीलाई ठूलो आर्थिक भार परेको छ,’ महासचिव घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ  ।
यसैबीच, महासंघको हालै सम्पन्न २६औं साधारण सभा एवं १३औं अधिवेशनबाट निर्वाचित कार्य समितिको सोमबार सम्पन्न पहिलो बैठकले पूर्वाधारमैत्री हुने गरी सार्वजनिक खरिद ऐन संशोधन गर्न सरकारसमक्ष अनुरोध गरेको छ । त्यस्तै प्रत्येक आयोजनामा मूल्यवृद्धि भएअनुरुप मूल्य समायोजनको मार्ग निर्देशिका–२ तत्काल जारी गर्न नेपाल सरकारका सम्बन्धित निकाय समक्ष बैठकले जोडदार माग गरेको छ ।
बैठकले महासंघका नवनिर्वाचित अध्यक्ष निकोलस पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलसँग भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री सुनिल लम्सालले गरेको छलफलमा शीघ्र निर्देशिका जारी गरेर मूल्यवृद्धिको समस्या सम्बोधन जनाएको प्रतिबद्धता सकारात्मक रहेको ठहर गरेको छ । प्रतिबद्धता कार्र्यान्वयनका लागि मन्त्री लम्सालको पुनः ध्यानाकर्षण गराउँदै बैठकले सबै अवधिका ठेक्काको हकमा पनि मूल्य समायोजनको व्यवस्था गरिने मन्त्री लम्सालको प्रतिबद्धताको स्वागत गरेको छ ।

पद तथा गोपनीयताको शपथ
महासंघको हालै सम्पन्न २६औं साधारण सभा एवं १३औं अधिवेशनबाट निर्वाचित अध्यक्ष, पदाधिकारी एवं कार्यसमिति सदस्यहरूले पद तथा गोपनियताको सपथ लिँदै कार्यभार सम्हालेका छन् । मुख्य निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता टंकप्रसाद दुलालले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई शपथ गराएका हुन् । 
शपथपछिको सभामा महासंघका नवनिर्वाचित अध्यक्ष निकोलस पाण्डेले आफू कर्ममा विश्वास गर्ने व्यक्ति भएको बताए । सबै तह र तप्काका निर्माण व्यवसायीको वृद्धि विकासका लागि इमानदार भएर काम गर्ने प्रतिबद्धता पनि उनले जनाए ।
विभागीय मन्त्रीसँगको छलफलमा आफूले निर्माण उद्योगमा विद्यमान समस्याहरूबारे जोडदार रुपमा ध्यानाकर्षण गराएको जानकारी गराउँदै अध्यक्ष पाण्डेले क्रमशः सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे । शपथ ग्रहण समारोहमा निवर्तमान अध्यक्ष रवि सिंह, निवर्तमान वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (एडी) लगायतले निर्माण उद्योगको बृहत्तर हितका लागि आफूहरूको सदैव साथ सहयोग रहने धारणा व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्