नेभिगेशन
अर्थतन्त्र

गभर्नर बन्न नपाएका भट्टलाई योजना आयोगको कमान्ड

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा. भट्टलाई नियुक्त गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. भट्टको लामो समयदेखि आर्थिक नीति, योजना निर्माण र संस्थागत सुधारका क्षेत्रमा सक्रिय रहँदै आएका छन् । त्यसैले पनि उनको नियुक्तिलाई एउटा प्रशासनिक निर्णयका रूपमा मात्र नभई नेपालको विकास नीति निर्माणमा विशेष योगदान पु¥याउने हिसाबले हेरिएको छ । अनुभव, अध्ययनशीलता र व्यावहारिक दृष्टिकोणका कारण उनी नीति निर्माणका क्षेत्रमा सक्षम र विश्वसनीय व्यक्तिका चिनिन्छन् ।
नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाको जोडबलका बीच तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टलाई नेपाल राष्ट्र बैंकको गभर्नर बन्नबाट रोकेका थिए । अहिले बालेन्द्र शाह नेतृत्वको रास्वपा सरकारले उनलाई त्योभन्दा माथिको पदमा आसिन गराएको छ । योजना आयोग उपाध्यक्ष नेपाल सरकार तथा प्रधानमन्त्रीको मुख्य आर्थिक सल्लाहकार पनि हो । सरकारका योजना निर्माण, अनुगमन र मूल्यांकनसम्मका काम यसै निकायबाट हुने गर्छन् ।
कांग्रेस–एमाले सत्ता खिचातानीको सिकार बनेका भट्टले कात्तिकमा अवकाश पाएका थिए । राष्ट्र बैंकमा रहँदा उनले कर्जा सूचना केन्द्रको अध्यक्ष, धितोपत्र बोर्डको सञ्चालक तथा ग्रामीण विकास बैंक सञ्चालक भएर काम गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा सर्वोत्कृष्ट अंक हासिल गरी स्वर्ण पदक हासिल गरेका उनले अमेरिकाको मासाच्युसेट्सको विलियम्स कलेजबाट स्नातकोत्तर गरेका छन् । त्यस्तै वेन स्टेट युनिभर्सिटी अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनले ‘फाइनान्सियल डेभलपमेन्ट एन्ड हेल्थ क्यापिटल एकुमुलेसन’ शीर्षकमा सन् २०१३ मा विद्यावारिधिको अनुसन्धान सम्पन्न गरेका हुन् ।
राजस्व परामर्श समितिमा रहेर काम गरेको अनुभवसमेत उनीसँग छ । डा. प्रकाशशरण महत अर्थमन्त्री हुँदा उनी मन्त्रालयको अवैतनिक प्रमुख आर्थिक सल्लाहकारको भूमिका थिए । भट्टले राष्ट्र बैंकको अनुसन्धान विभाग, नियमन विभागलगायत महत्वपूर्ण विभागमा रहेर काम गरेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्