नेभिगेशन
अर्थतन्त्र

दोस्रो त्रैमासको आर्थिक वृद्धिदर ४.५ प्रतिशत

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८२÷८३ को दोस्रो त्रैमास (कात्तिक–पुस) मा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले विस्तार हुने अनुमान गरेको छ । कार्यालयले मंगलबार सार्वजनिक गरेको त्रैमासिक राष्ट्रिय लेखा तथ्यांकअनुसार विद्युत् उत्पादन र वितरण, वित्तीय तथा बीमा सेवा, पशुजन्य उत्पादन, फलफूल तथा तरकारी उत्पादन, व्यापार सेवा, पर्यटक आगमन र औद्योगिक गतिविधिमा भएको वृद्धिले समग्र अर्थतन्त्रमा सकारात्मक योगदान पुगेको हो ।
यस अवधिमा औद्योगिक वर्गीकरणअनुसार सबै १८ क्षेत्रको वृद्धिदर धनात्मक छ । सरकारले यो वर्ष साढे ६ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर प्राप्त गर्ने लक्ष्य राखेको भए पनि निर्माण सामग्री आयात, धानबाली उत्पादन र केही घरेलु वस्तु उत्पादनमा आएको गिरावटका कारण दोस्रो त्रैमासको वृद्धिदर अपेक्षाभन्दा कम रहेको कार्यालयले जनाएको छ ।
मौसमी प्रभाव समायोजित तथ्यांकअनुसार पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा अर्थतन्त्र २.०४ प्रतिशतले विस्तार भएको छ । यस अवधिमा १८ औद्योगिक क्षेत्रमध्ये १६ क्षेत्रमा वृद्धि र २ क्षेत्रमा संकुचन देखिएको छ । विशेषतः निर्माण र खानी तथा उत्खनन क्षेत्रमा गिरावट आएको छ ।
कृषि क्षेत्रमा २.२१ प्रतिशतको वृद्धि देखिएको छ भने विद्युत् तथा ग्याससँग सम्बन्धित गतिविधिमा २२.७५ प्रतिशतको उल्लेखनीय वृद्धि भएको छ । वित्तीय तथा बीमा सेवामा १२.५१ प्रतिशत, यातायात तथा भण्डारणमा ९.६५ प्रतिशत, आवास तथा भोजनमा ५.१८ प्रतिशत र थोक तथा खुद्रा व्यापारमा ४.११ प्रतिशत वृद्धि हासिल भएको छ ।
सार्वजनिक सेवामा भने पानी आपूर्ति, ढल निकास र फोहोर व्यवस्थापनमा ०.५५ प्रतिशत, सार्वजनिक प्रशासन तथा रक्षा र अनिवार्य सामाजिक सुरक्षा क्षेत्रमा १.११ प्रतिशत र शिक्षामा १.१६ प्रतिशत मात्र वृद्धिदर देखिएको छ । अघिल्लो आवको दोस्रो त्रैमासमा अर्थतन्त्र १ प्रतिशतले घटेको थियो । चालु आवको पहिलो त्रैमासमा आर्थिक वृद्धिदर ३.२४ प्रतिशत रहेकोमा दोस्रो त्रैमासमा वृद्धिदर बढेर ४.५ प्रतिशत पुगेको छ ।
तथ्यांक अधिकृत ढुण्डीराज लामिछानेका अनुसार कार्यालयले हरेक त्रैमासिक अवधि समाप्त भएको ९० दिनभित्र तथ्यांक सार्वजनिक गर्दै आएको छ । यस वर्षको पहिलो त्रैमासमा जेनजी आन्दोलनका कारण अर्थतन्त्रमा अन्योल थियो भने दोस्रो त्रैमासमा चुनावी सरकारले विभिन्न प्रयासमार्फत अर्थतन्त्रलाई गति दिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्