नेभिगेशन
अर्थतन्त्र
निजी क्षेत्र र सांसदबीच नीति संवाद

आर्थिक विकास र लगानीमैत्री वातावरणका लागि नीतिगत स्थायित्वमा जोड

ललितपुर । हालै सम्पन्न निर्वाचनपछि नयाँ संसद र सरकार गठन भएको परिस्थितिमा आर्थिक विकास,  लगानीमैत्री वातावरण, रोजगारी सिर्जनालगायत विषयमा केन्द्रित रहेर निजी क्षेत्र र प्रतिनिधिसभाका सदस्यहरुबीच नीतिगत संवाद गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनको सन्दर्भमा आयोजित नीति संवादमा प्रतिनिधिसभाका सदस्य र निजी क्षेत्रका प्रतिनिधिले आपसी सहकार्य गरी आर्थिक विकास, समृद्धि र लगानीमैत्री वातावरण निर्माणका लागि नीतिगत स्थायित्वमा जोड दिएका छन् ।
कार्यक्रममा प्रतिनिधिसभाका सदस्यहरुले मुुलुकको समृद्धि र रोजगारी सिर्जनामा निजी क्षेत्रको योगदानको चर्चा गर्दै यस क्षेत्रको समस्या र भोगिरहेको चुनौती सम्बोधनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद गणेश पराजुलीले निजी क्षेत्रसँग सहकार्यका लागि आफूहरु प्रतिबद्ध रहेको बताए । उनले युवापुस्ताको चाहनाअनुुसार मुलुकलाई अघि बढाउन सबै पक्षको सहकार्य आवश्यक भएको धारणा राखे ।
नेपाली कांग्रेसका सांसद नरेन्द्रराज केरुङले देशको अर्थतन्त्रलाई सबल तुुल्याउन निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताए । निजी क्षेत्रको पुँजीलाई मुुलुकको विकासमा सदुपयोगका लागि प्रोत्साहित गर्नुुपर्ने जनाए । नीतिगत स्थायित्वलाई सरकारले ध्यान दिनुपर्ने र प्रतिपक्षी दलको तर्फबाट समेत सहयोग गर्ने प्रतिवद्धता उनले बताए ।
यस्तै, नेकपा एमालेका सांसद गुरु बरालले समग्र उद्यमी व्यवसायीको समस्या समाधानका लागि सहजीकरण गर्न आफूहरु तयार रहेको बताए । सरकारले निजी क्षेत्रलाई त्रसित गर्नुको साटो जवाफदेही व्यवहार गर्नुुपर्ने उनको भनाइ छ ।
संवाद कार्यक्रमका महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले गत निर्वाचनमा सबैजसो दलले आफ्नो घोषणापत्रमा निजी क्षेत्रको विषयलाई प्राथमिकता दिएकोमा आभार प्रकट गरे । निजी क्षेत्र बोझिलो कर र नीतिगत अस्थिरताबाट पीडित भइरहेको भन्दै त्यसलाई अन्त्य गर्न सांसदको तर्फबाट भूमिका निर्वाह हुने अपेक्षा उनले व्यक्त गरे ।
त्यस्तै महासंघका कार्यकारिणी सदस्य शिवप्रसाद घिमिरेले नयाँ सरकार र निजी क्षेत्र मिलेर आर्थिक क्रान्ति गर्नुपर्ने बेला आएको बताए । महासंघका स्थल यातायात तथा पारवहन समितिका सभापतिसमेत रहेका घिमिरेले करको दरभन्दा पनि दायरा बढाउन आग्रह गरे ।
कार्यक्रममा रास्वपाका मनिष झा, विदुषी राना, नितिमा कार्की, शुलभ खरेल, सुनिल खड्का, प्रकाशचन्द्र परियारलगायत सांसद सहभागी भएका थिए । त्यस्तै, महासंघअन्तर्गतका वस्तुगत संघका ५० भन्दा बढी प्रतिनिधिले धारणा राखे । कार्यक्रममा महिला उद्यमी एवं नेपाल कृषि मेसिनरी संघकी उपाध्यक्ष सुनिता नेमाफुकीले नीति संवाद आयोजना गर्नुको औचित्य र महत्वबारे चर्चा गरिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्