नेभिगेशन
अर्थतन्त्र

टेलिकमको डेटा प्याकेजमा स्वचालित ब्यालेन्स कटौतीको व्यवस्था अन्त्य

काठमाडौं । नेपाल टेलिकमले डेटा प्याकेजको प्रयोगमा सुधार गर्दै डेटा सकिएपछि स्वचालित रूपमा ब्यालेन्स कटौती गर्ने व्यवस्था अन्त्य गरेको छ । टेलिकमले ग्राहकको सुविधालाई ध्यानमा राखी मंगलबारदेखि लागु हुने गरी यो व्यवस्था गरेको हो ।
टेलिकमका अनुसार अब एनटिसीको सिम प्रयोगकर्ता ग्राहकलाई इन्टरनेट डेटाको ९० प्रतिशत खपत भइसकेको अवस्थामा एसएमएस वा मोबाइल एपमार्फत सूचित गरी प्याकेज रिन्यु गर्न अनुरोध गरिनेछ । 
हालसम्म नेपाल टेलिकमका ग्राहकले डेटा सकिएपछि आफ्नो मुख्य ब्यालेन्सबाट थप शुल्क कटौती गरिरहेको अवस्थामा थियो । यो नयाँ व्यवस्था लागू भएपछि ग्राहकले चाहेको अवस्थामा मात्र ८४४४३ नम्बर डायल गरी ‘पे एज यु गो’ प्रणाली अन–अफ गर्न सक्ने सुविधा उपलब्ध हुने टेलिकमले जनाएको छ ।
यो व्यवस्था गरी ग्राहकलाई डेटा उपयोगको बढी नियन्त्रण दिने र अनावश्यक शुल्क कटौतीबाट बचाउने प्रयास गरिएको हो । यो नयाँ सुविधा नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पहलमा कार्यान्वयनमा आएको टेलिकमले जनाएको छ ।
ग्राहकले एसएमएस वा एपमार्फत पठाइने सूचना पाएपछि मात्र डेटा प्याकेज नवीकरण गर्न सक्ने हुँदा अब अनावश्यक रूपमा ब्यालेन्स कटौती हुने समस्या समाधान हुने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । यो परिवर्तनले नेपाल टेलिकमको डेटा सेवा अझ पारदर्शी र ग्राहकमैत्री हुने अपेक्षा गरिएको छ ।
वर्तमान गृहमन्त्री सुदन गुरुङले गोरखा–१ बाट निर्वाचित भएलगत्तै टेलिकमले इन्टरनेट डेटा प्याक सकिएलगत्तै ग्राहकलाई जानकारी नै नदिई ब्यालेन्स काटिने गरेको कुरा सम्बोधन हुनुपर्ने विषय उठाएका थिए । सर्वसाधारणसँग जोडिएको उनले उठाएको विषय मन्त्रालयको पहलमा सम्बोधन भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्