नेभिगेशन
अर्थतन्त्र

'निजी क्षेत्र सुदृढीकरण र लगानी प्रवद्र्धनमा धेरै काम गरेका छौं'

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो कार्यकालमा पछिल्लो तीन वर्षमा नीतिगत सुधार, लगानी प्रवद्र्धन तथा निजी क्षेत्र सुदृढीकरणमा उल्लेखनीय उपलब्धि हासिल भएको बताएका छन् । महासंघद्वारा राजधानीमा आयोजित कार्यक्रममा बुधबार उनले देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको समयमा नेतृत्व सम्हालेको उल्लेख गर्दै निजी क्षेत्रको मनोबल उच्च राख्ने, आर्थिक गतिविधि चलायमान बनाउने र लगानीमैत्री वातावरण निर्माण गर्ने दिशामा काम गरेको बताए ।
उनका अनुसार महासंघले परम्परागत रूपमा माग राख्ने भूमिकाबाट अघि बढ्दै नीति निर्माण प्रक्रियामै सक्रिय सहभागिता जनाएको छ । राष्ट्रिय आर्थिक बहसको आयोजना गरी सरकार, राजनीतिक दल, नियामक निकाय र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याइएको र त्यसको परिणामस्वरूप उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन भई ३० भन्दा बढी कानुन सुधारका सिफारिसहरू आएको उनले जानकारी दिए ।
महासंघले निजी क्षेत्रलाई शान्ति क्षेत्रका रूपमा घोषणा गराउन पहल गर्नुका साथै सरकारबाट निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन रणनीति स्वीकृत गराउन सफल भएको पनि जनाएको छ । यसले निजी क्षेत्र, लगानी र व्यवसायको सुरक्षा तथा सम्मान सुनिश्चित गर्ने आधार तयार गरेको उनको दाबी छ ।
त्यसैगरी, राज्य र निजी क्षेत्रबीच सहकार्यमा आधारित सम्बन्ध स्थापना गरिएको उल्लेख गर्दै ढकालले सार्वजनिक–निजी साझेदारी सुदृढ बनाउन महत्त्वपूर्ण पहल गरिएको बताए । डेडिकेटेड फिडर तथा ट्रंक लाइन महसुल विवाद समाधानका लागि मध्यस्थताको भूमिका खेलेको पनि उनले बताए ।
लगानी प्रवद्र्धनतर्फ महासंघले आन्तरिक तथा बाह्य दुवै क्षेत्रमा पहल गरेको जनाएको छ । साना पुँजीलाई एकीकृत गर्दै १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरिएको र विभिन्न मुलुकहरूसँग द्विपक्षीय लगानी संवाद तथा सम्मेलनमार्फत नेपाललाई आकर्षक लगानी गन्तव्यका रूपमा प्रस्तुत गरिएको पनि उनले बताए ।
संस्थागत सुधारअन्तर्गत महासंघको विधान संशोधन गरी नेतृत्व चयन प्रक्रियालाई थप पारदर्शी, समावेशी र प्रतिस्पर्धी बनाइएको तथा निजी क्षेत्रलाई राष्ट्रको आर्थिक विकासको सहयात्रीका रूपमा स्थापित गर्ने आधार तयार गरिएको महासंघले जनाएको छ । ढकालले आफ्नो कार्यकालमा हासिल गरेका उपलब्धिहरूले मुलुकको आर्थिक विकास र समृद्धिमा निजी क्षेत्रको भूमिका अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्