नेभिगेशन
अर्थतन्त्र

नेपालबाट पहिलो ‘रोटरी इन्टरनेशनल निर्देशक’ बनेका गोल्यानलाई सम्मान

काठमाडौं । गोल्यान ग्रुपको उपाध्यक्षसमेत रहेका बासुदेव गोल्यान रोटरी इन्टरनेशनलको जोन ५ र ६ का लागि रोटरी इन्टरनेशनल निर्देशक बनेका छन् । सन् २०२७–२०२९ कार्यकालका लागि निर्वाचित भएका उनी उक्त पदमा पुग्ने पहिलो नेपाली हुन् ।
रोटरी इन्टरनेशनलको गत फेब्रुअरी १० मा सम्पन्न निर्वाचनमा गोल्यान अन्तर्राष्ट्रिय निर्देशक निर्वाचित भएका हुन् । उनले कुल १ हजार ७५५ मतमध्ये ९८१ मत प्राप्त गरेका थिए । रोटरी इन्टरनेशनल जोन ६ अन्तर्गत १० वटा डिस्ट्रिक्सहरु छन्, जसमध्ये ९ वटा भारतमा छन् । रोटरी इन्टरनेशनल निर्देशकको प्रतिस्पर्धामा भारतबाट तीन जना उम्मेदवार भए पनि गोल्यान विजयी भएका हुन् ।
रोटरी इन्टरनेशल निर्देशक निर्वाचित भएको अवसरमा शनिबार रोटरी नेपालसँगको सहकार्यमा गोल्यान ग्रुपले उनको सम्मानमा कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाले गोल्यानलाई सम्मान गरे । कार्यक्रममा रोटरी इन्टरनेशनलका अध्यक्ष ओलायिन्का हाकिम बाबालोलाले भिडियो कलमार्फत गोल्यानलाई बधाई र शुभकामना दिएका थिए । 
कार्यक्रममा गोल्यान ग्रुपका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक पवन गोल्यान, ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक अक्षय गोल्यान, पूर्व रोटरी इन्टरनेशनल अध्यक्ष (२०११–२०१२) कल्याण बनर्जी, पूर्व रोटरी इन्टरनेशल निर्देशक एवं रोटरी फाउन्डेशनका ट्रस्टी (२०२६–३०) एएस वेन्काटेस र पूर्व रोटरी इन्टरनेशल निर्देशक (२०२३–२०२५) अनिरुद्धराय चौधरीलगायतको उपस्थिति थियो ।
कार्यक्रममा नेपाल र भारतका करिब २ सय पूर्वडिस्ट्रिक्ट गभर्नर्सका साथै अन्य उद्योगी–व्यवसायी र रोटरियन सहभागी थिए । उनीहरु सबैले इन्टरनेशनल निर्देशक गोल्यानलाई सम्मानसहित बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिए ।
सम्मान ग्रहण गर्दै गोल्यानले अझ धेरै जिम्मेवारी र इमानदारीका साथ सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘आज संसारलाई पहिलेभन्दा बढी रोटरीको आवश्यकता छ, हामी केबल रोटरीका सदस्यमात्र होइन आशाका दूत बन्नेछौं,’ उनले भने, ‘यसका लागि म रोटरीको मूल्य मान्यतालाई आत्मसात् गर्दै हाम्रो प्रभावलाई विस्तार गर्न र अझ बढी मानवताको सेवामा लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्