नेभिगेशन
सूचना प्रविधि

च्याटजीपीटीले आत्महत्या गर्न उक्सायो

१६ वर्षीय एडम रेइन मानसिक तनावमा थिए र बारम्बार आत्महत्या गर्ने विचार व्यक्त गर्दै आएका थिए । उनले च्याटजीपीटीसँग कुराकानी गरे । त्यहाँ उनले आफ्नो निराशा र आत्मघाती सोचका बारेमा पनि बताएका थिए ।

सामान्यतया प्रणालीले यस्तो अवस्थामा सहयोगी संस्था वा विशेषज्ञहरूसँग सम्पर्क गर्न सुझाव दिनुपर्ने भए पनि, परिवारको दाबी अनुसार च्याटजीपीटीले उल्टै उसको आत्महत्या गर्ने भावनालाई जायज ठहर्‍यायो । त्यसपछि उनले आत्महत्या गरे भन्ने आरोप परिवारजनको छ ।

यसपछि मे र जुन महिनामा एडमको परिवारले अनुसन्धान थाल्यो । के पाइयो भने एडमले प्रयोग गरेको च्याट लग सुरक्षित थियो । त्यही च्याट लगका आधारमा परिवारले कानूनी विकल्प खोज्न थाले र वकिल जे एडेल्सनसँग सम्पर्क गरे ।

च्याटजीपीटीले किशोरलाई खतरनाक अवस्थामा पुर्‍याएको आरोपलाई कानूनी आधारमा तयार पार्न थालियो । वकिल एडेल्सनले औपचारिकरूपमा तयारी पूरा गर्दै ओपन एआईविरुद्ध लापरबाही र गलत किसिमले मृत्यु रोज्न उक्साउकोमा मुद्दा दायर गर्ने घोषणा गरे ।

गएको साता अमेरिकाको क्यालिफोर्नियास्थित सुरु अदालतमा मुद्दा दायर गरियो । ओपन एआईविरुद्ध दायर गरिएको यो पहिलो ‘गलत मृत्यु’ सम्बन्धी कानूनी उपचार खोज्ने प्रक्रिया थियो । परिवारले अदालतमा प्रस्तुत गरेको प्रमाणमा एडम र च्याटजीपीटी बीचको वार्तालाप समावेश गरिएको बताइएको छ ।

मुद्दा दायर भएपछि ओपनएआईले सार्वजनिक प्रतिक्रिया दिँदै कहिलेकाहीं प्रणालीले अपेक्षाअनुसार संवेदनशील अवस्थामा व्यवहार नगरेको स्वीकार गर्‍यो । कम्पनीले नयाँ अभिभावक नियन्त्रण सुविधा ल्याउने घोषणा गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्