नेभिगेशन
सूचना प्रविधि

एमजीले मिनी–मर्सिडिजप्रेरित साइबर एक्स ल्याउने

काठमाडौं । ब्रिटिश ब्रान्ड एमजी मोटरले नयाँ इलेक्ट्रिक एसयूभी साइबर एक्स उत्पादनमा ल्याउने तयारी गरेको छ । दुई वर्षभित्र बजारमा उपलब्ध हुने यो मोडललाई कम्पनीले परिवारमैत्री, कम्प्याक्ट र बजेटमैत्री इलेक्ट्रिक एसयुभीका रूपमा प्रस्तुत गर्ने तयारी गरेको हो ।

साइबर एक्स पहिलोपटक शांघाई अटो शोमा कन्सेप्टका रूपमा सार्वजनिक भएको थियो । बक्सी र एङ्गुलर डिजाइनमा तयार गरिएको यस गाडीलाई एमजी यूकेका प्रोडक्ट प्लानिङ प्रमुख डेविड एलिसनले ‘सुजुकी जिम्नीको आध्यात्मिक उत्तराधिकारी’ भनेका छन् । ५ ढोकाको लेआउटसहितको यस मोडलले मर्सिडिज इक्यूबीजस्ता प्रिमियम एसयूभीलाई झल्काउने बताइएको छ ।

साइबर एक्समा परम्परागत हेडलाइट, आकर्षक इन्टिरियर, ठूलो सेन्ट्रल टचस्क्रिन र फुल्ली डिजिटल इन्स्ट्र‘मेन्ट क्लस्टर रहनेछन् । परिवारका लागि पर्याप्त हेडरूम र लेगरूमको सुविधा हुनेछ ।

यसमा एमजीको नयाँ सेमी–सोलिड–स्टेट ब्याट्री प्रविधि प्रयोग हुने अपेक्षा गरिएको छ । चालकको दक्षता र ब्याट्री छनोटअनुसार यसले करिब ४८२ किलोमिटरसम्म रेन्ज दिन सक्ने कम्पनीको दाबी छ । सिंगल–मोटर फ्रन्ट ह्वील ड्राइभ भर्सन प्राथमिक हुने र उच्च स्पेक्समा अल ह्वील ड्राइभ उपलब्ध हुन सक्ने बताइएको छ ।

विश्वव्यापीरूपमा ३० हजार युरोभन्दा कम मूल्यमा उपलब्ध हुने अनुमान गरिएको छ । कम्पनीले यसलाई शहरी प्रयोग, पारिवारिक आवश्यकता र हल्का अफ–रोड ड्राइभिङलाई सन्तुलन गर्ने पहुँचयोग्य इलेक्ट्रिक विकल्पका रूपमा प्रस्तुत गर्ने जनाएको छ ।

एमजी मोटर, एसएआईसी मोटर कर्पोरेसनको स्वामित्वमा रहेको कम्पनी हो, जसले पेट्रोल, हाइब्रिडदेखि लिएर फुल्ली इलेक्ट्रिक मोडलसम्म दिगो र उन्नत सवारीसाधन उत्पादन गर्दै आइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्