नेभिगेशन
सूचना प्रविधि

ओपनएआईले एनिमेटेड फिल्म बनाउँदै

विश्वभर कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगले विभिन्न क्षेत्रलाई हल्लाइरहेको छ । अब भने अमेरिकी टेक कम्पनी ओपनएआईले यो प्रविधिलाई चलचित्र उद्योगतर्फ मोड्ने भएको छ । उसले आफ्नो एआईको प्रयोगबाट एनिमेटेड फिल्म बनाउने भएको छ । एआईको प्रयोग गर्दा फिल्म बनाउँदा हलिउडले अहिले गर्नेभन्दा छिटो र सस्तोमा उच्चस्तरीय चलचित्र बनाउन सकिन्छ भन्ने उदाहरण पेश गर्ने भएको छ ।

ओपनएआईले बनाउन लागेको फिल्मको नाम ‘क्रिटर्स’ राखिएको छ । जंगलमा जीवन गुजारा चलाइरहेका स–साना जीवहरूको कथामा यो फिल्म आधारित छ । फिल्ममा गाउँमा आएको एक अपरिचित पात्रका कारण अस्थिरता फैलिन्छ र त्यसपछि ती जीवहरू साहसिक यात्रामा निस्कन्छन् ।

यसको मूल कल्पना चाड नेल्सनले गरेका हुन् । उनी ओपनएआईका क्रिएटिभ स्पेशलिस्ट हुन् । नेल्सनले करिब तीन वर्षअघि कम्पनीले जारी गरेको डेल–ई तस्वीर तथा भिडियो बनाउने एआई प्रणाली प्रयोग गरी एनिमेटेड फिल्म बनाउन सकिन्छ भनी उदाहरण देखाएका थिए । त्यसपछि उनले छोटो एनिमेटेड फिल्म बनाउन खोज्दा यो फिल्मका पात्रहरूको खाका कोरेका थिए । त्यो प्रयास अहिले लामो आकारको एनिमेटेड फिल्ममा परिणत हुँदैछ ।
 
नेल्सन अहिले लन्डन र लस एन्जेलसका रहेका फिल्म प्रोडक्सन कम्पनीहरूसँग मिलेर यसलाई ठूलो स्तरमा बनाउने तयारी गरिरहेका थिए । आउँदो मे महिनामा हुने क्यान्स फिल्म फेस्टिभलमा यसलाई प्रदर्शन गर्ने लक्ष्य राखिएको छ । फिल्म निर्माणमा लण्डनस्थित भर्टिगो फिल्म्स र लस एन्जल्सस्थित नेटिभ फरेन कम्पनी सक्रिय छन् । 

नेटिभ फरेन कम्पनी परम्परागत चलचित्र निर्माण प्रविधिसँगै एआई प्रयोग गर्ने विशेषता भएको स्टुडियो हो । सामान्यतया यस्तो एनिमेटेड फिल्म बनाउन कम्तीमा तीन वर्ष लाग्छ । तर यो फिल्म नौ महिनाभित्रै पूरा गर्ने लक्ष्य राखिएको छ । 

सामान्यतः एउटा एनिमेटेड फिल्मको बजेट अर्ब डलरसम्म खर्च हुने गर्छ तर तीन करोड डलरमै यो फिल्म बनाइने लक्ष्य राखिएको छ । भर्टिगो फिल्म्सका सहसंस्थापक जेम्स रिचार्डसन भन्छन्, ‘हामी एकदमै ठूलो जोखिमपूर्ण तर प्रयोगात्मक यात्रामा छौँ । मैले जीवनमा कहिल्यै यस्तो काम सुरु गरेको थिइनँ जसको परिणामबारे यति अनिश्चितता थियो ।’ 

फिल्ममा पात्रहरूको आवाज दिन मानव कलाकारलाई राखिनेछ तर तिनका स्केच र कलात्मक डिजाइन भने एआई उपकरणबाट गरिने छ । खासगरी च्याटजिपिटीको पाँचौं संस्करणलाई चित्र बनाउन प्रयोग गरिने बताइएको छ । यसरी मानव र एआईबीचको सहकार्यबाट यो चलचित्र निर्माण हुने भएको छ ।

ओपनएआईका प्रवक्ता नेल्शनले भने, ‘यो फिल्म हाम्रो मनपर्ने सिर्जनशीलता र खोजलाई झल्काउने उदाहरण हो । यो मेसिनले गर्ने काम भएकाले दिनभरि खट्न सक्छ । यसलाई कुनै बिदा पनि चाहिँदैन ।’ 

हालैका वर्षहरूमा डिज्नी, नेटफ्लिक्स, वार्नर ब्रदर्स जस्ता ठूला कम्पनीहरूले उत्पादन, मार्केटिङ र प्रयोगकर्ता अनुभव सुधार गर्न एआई उपकरण प्रयोग गर्न थालेका छन् तर उनीहरू पूर्ण रूपमा यसमा निर्भर हुन हिच्किचाइरहेका छन् । पूरै एआईमाथि निर्भर हुँदा लेखक र कलाकारको रोजीरोटी गुम्ने डर छ ।

यसअघि पनि फिल्म कलाकार तथा प्राविधिक सम्बद्ध संगठनहरूले एआई विरुद्ध सुरक्षा र कपिराइटसम्बन्धी अधिकारका लागि ठूलो आन्दोलन गरेका थिए । गएको जुन मनिामा डिज्ने र कोमकास्टको युनिभर्सल स्टुडियोले भिडियो बनाउने एआई कम्पनी मिडजर्नीविरुद्ध प्रतिलिपि अधिकार उल्लंघनको मुद्दा दायर गरेका थिए । वार्नर ब्रदर्सले पनि गत हप्तामात्रै उही कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ ।

एआईले बनाएको काम कपिराइटयोग्य हुँदैन तर ‘क्रिटर्स’ फिल्ममा कलाकारहरूको योगदान भएकाले यसले प्रतिलिपि अधिकार पाउने सम्भावना रहेको विशेषज्ञले बताएका छन् । ‘क्रिटर्स’को कथा लेख्ने टोलीले ‘पेडिङ्टन इन पेरु’ फिल्म लेखिसकेका छन् । ‘क्रिटर्स’को काम शुरु भइसकेको र केही साताभित्र पात्रहरूले आवाज दिने कलाकारको खोजी भइरहेको समाचारमा जनाइएको छ । केही दिनमा नै आवाज कसले दिनेछ भन्ने घोषणा हुने बताइएको छ ।

यो फिल्म बनाउन जम्मा ३० जना कामदार तथा कलाकार संलग्न रहेको बताइएको छ । केही विशेषज्ञहरूले भने एआईलाई प्रयोग गरेर बनाइएका चलचित्रलाई बजारमा ल्याउने प्रयास अझै नयाँ र जोखिमपूर्ण छ । विशेषगरी, हालका वर्षहरूमा दर्शकहरू सिनेमाघरमा कम जाने प्रवृत्ति छ । 

कम दर्शकले यो फिल्म हेरेको खण्डमा एआईले बनाउने फिल्म निर्माण भविष्यमा अझ चुनौतीपूर्ण बन्ने विज्ञहरू बताउँछन् । हालसम्म यस फिल्मलाई वितरण गर्न कुनै पनि कम्पनीको चासो देखिएको छैन । तर यो फिल्म हिट भएको खण्डमा भने एआईले ठूलो पर्दाका लागि सशक्त सामग्री दिनसक्ने र हलिउडले यो प्रविधिलाई चाँडै अँगाल्ने विश्वास नेल्शनको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सूचना प्रविधि
युट्युब मोडल आमिरको रोजाइ

युट्युब मोडल आमिरको रोजाइ

बलिउडमा ‘फेक फलोअर्स’

बलिउडमा ‘फेक फलोअर्स’