नेभिगेशन
सूचना प्रविधि

फेरिँदैछ कम्प्युटरको मोडल, आउँदैछ इन्टरनेटविनै चल्ने एआई मोडल

ताइपेइ (ताइवान)– प्रविधि क्षेत्रको दिग्गज कम्पनी एनभिडियाले आर्टिफिसियल इन्टेलिजेन्सको दुनियाँमा अर्को ठूलो फड्को मारेको छ ।  ताइपेईमा आयोजित वार्षिक एनभिडिया जीटीसी इभेन्टमा कम्पनीका संस्थापक तथा सीईओ जेन्सन हुवाङले नयाँ शक्तिशाली चिप्स सार्वजनिक गर्दै अब ल्यापटप र डेस्कटप कम्प्युटरहरूमा नै अत्याधुनिक एआई सुविधाहरू उपलब्ध हुने घोषणा गरेका छन् । 
यो नयाँ प्रविधिसँगै माइक्रोसफ्ट र डेल जस्ता स्थापित ब्रान्डहरूले यसै वर्षको अन्त्यतिर नयाँ मोडेलका एआई पर्सनल कम्प्युटर बजारमा ल्याउने तयारी गरेका छन् । एनभिडियाले बजारमा ल्याउन लागेको आरटीएक्स स्पार्क एउटा यस्तो सुपरचिप हो, जसले सीपीयू र जीपियू दुवैको क्षमतालाई एउटै ठाउँमा जोड्छ । यो प्रविधि आएपछि कम्प्युटरहरूले इन्टरनेट वा क्लाउडको सहायता बिना नै आफ्नै सिस्टमभित्र शक्तिशाली एआई मोडल र जटिल कामहरू सजिलै चलाउन सक्नेछन् । 
सीईओ जेन्सन हुवाङका अनुसार, विगत ४० वर्षमा पर्सनल कम्प्युटरको इतिहासमै यो सबैभन्दा ठूलो र नयाँ सुरुवात हो, जसले गेमिङ र सिर्जनात्मक कामको परिभाषा नै बदल्नेछ ।
यो प्रविधिले कम्प्युटरलाई केवल एउटा मेसिन मात्र नराखेर एउटा एआई एजेन्ट जस्तो बनाउनेछ, जसले तपाईंका कुराहरू सुन्ने र बुझ्नेछ । यसले तपाईंसँग संवाद गर्न, तपाईंका इसाराहरू बुझ्न, तपाईंका फाइलहरू पढ्न र कुनै पनि विषयमा रिसर्च गरिदिन मद्दत गर्नेछ । प्रविधि विश्लेषक नील शाहका अनुसार, यो घोषणाले आगामी १० वर्षमा कम्प्युटरको रूप र शैली पूर्ण रूपमा बदल्नेछ र यसको मुख्य उद्देश्य हरेक घरमा एउटा एआई सुपरकम्प्युटर पु¥याउनु हो ।
एनभिडिया हाल एप्पल, गुगल र माइक्रोसफ्टलाई पछि पार्दै विश्वकै सबैभन्दा मूल्यवान् कम्पनी बनेको छ । एनभिडियाको यो नयाँ कदमले उसका प्रतिस्पर्धी कम्पनीहरू इन्टेल र एएमडीलाई ठूलो चुनौती दिएको छ । यो घोषणासँगै सेयर बजारमा एनभिडियाको सेयर झन्डै ४ प्रतिशतले बढेको छ भने इन्टेल र एएमडी दुवैको सेयर ३ प्रतिशतभन्दा बढीले घटेको छ ।
पर्सनल कम्प्युटरका अलावा एनभिडियाले अन्य दुई ठूला प्रविधि पनि सार्वजनिक गरेको छ । जसमा डाटा सेन्टरका लागि वेरा सीपीयू छ, जसको  उत्पादन सुरु भइसकेको छ र ओपनएआई, एन्थ्रोपिक एवं स्पेसएक्सएआई जस्ता ठूला एआई कम्पनीहरू यसका प्रारम्भिक ग्राहक बनिसकेका छन् । त्यसैगरी कम्पनीले साढे ५ फिटभन्दा अग्लो मानवरूपी रोबोट आइज्याक जीआरटी को एउटा नमुना पनि सार्वजनिक गरेको छ । चिनियाँ रोबोट निर्माता युनिट्री र सिंगापुरको शार्पा कम्पनीको सहकार्यमा बनेको यो रोबोटका हातका औंलाहरूले निकै सूक्ष्म र सटिक कामहरू गर्न सक्छन् ।
डाटा सेन्टरमा आफ्नो एकाधिकार जमाइसकेपछि अब एनभिडियाले आम उपभोक्ताको घर–घरमा एआई पु¥याउने लक्ष्य राखेको छ । एनभिडिया र माइक्रोसफ्टको यो सहकार्यले पर्सनल कम्प्युटरको संसारलाई एउटा नयाँ युगमा प्रवेश गराउने निश्चित देखिन्छ । (एपी)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्