नेभिगेशन
अर्थतन्त्र

निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनामा किन घट्यो बजेट ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि राष्ट्रिय गौरव तथा रणनीतिक महत्त्वका निर्माणाधीन पूर्वाधार आयोजनाहरूमा बजेट कटौती गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केही आयोजनाका लागि बजेट बढाए पनि अधिकांश राष्ट्रिय गौरबका पूर्वाधार आयोजनाको बजेट चालु आर्थिक वर्षको भन्दा कटौती गरेर विनियोजन गरेका छन् । केही आयोजना बजेटविहीन पनि भएका छन् । 
अर्थमन्त्रीले नयाँ पूर्वाधार आयोजनाको घोषणा गरेर बजेट विनियोजन गर्नुभन्दा निर्माणाधीन पूर्वाधार आयोजनालाई चाँडो सम्पन्न गर्ने गरी बजेट ल्याइएको भन्दै आए पनि निर्माण चरणमै रहेका आयोजनाको बजेटमा भारी कटौती गरिएको हो । 
बजेट कटौतीको सबैभन्दा बढी मारमा पुष्पलाल (मध्यपहाडी) राजमार्ग परेको छ । यो राजमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा ३ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन भएकोमा आगामी आर्थिक वर्षका लागि चालु वर्षको भन्दा घटाएर २ अर्ब १५ करोड ८५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो राजमार्ग निर्माणका लागि आगमी आर्थिक वर्षका लागि विनियोजन गरिएको यो बजेट चालु वर्षको तुलनामा ४५.२६ प्रतिशत कम हो । 
आर्थिक वर्ष २०६४÷६५ देखि निर्माण सुरु भएको यो राजमार्गमा ८२.९ प्रतिशत भौतिक र ८५.४८ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ । यो आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्न सकिने सडक पूर्वाधार आयोजना हो । आगामी आर्थिक वर्षका लागि विनियोजन भएको बजेट कम भएमा यो सडक आयोजनाको निर्माण लम्बिन सक्नेछ ।
यस्तै, अर्को राष्ट्रिय गौरबको काठमाडौं–तराई÷मधेश दु्रतमार्ग (फास्ट ट्र्याक) निर्माणका लागि आउने बजेटमा पनि कटौती भएको छ । चालु आर्थिक वर्षका लागि २४ अर्ब ४९ करोड ४६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको भए पनि आगामी आर्थिक वर्षका लागि १७ अर्ब ६४ करोड ४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो कटौती चालु आर्थिक वर्षका लागि विनियोजित बजेटको तुलनामा करिब २८ प्रतिशत कम हो । 
नेपाली सेनाले निर्माण गरिरहेको यो राष्ट्रिय गौरबको भौतिक प्रगति करिब ४७ प्रतिशत हाराहारीमा पुगेको छ । आगामी आर्थिक वर्षको चैत मसान्तसम्ममा यो आयोजना निर्माण सम्पन्न गर्ने तालिका भए पनि अहिलेसम्मको प्रगति आधाभन्दा कम रहेकाले यो अवधिभित्र सम्पन्न हुने अवस्था देखिँदैन । साथै, यो आयोजनाको प्रस्थान विन्दुमा कायम विवाद समाधान नभएपछि प्रस्थान विन्दु सार्न तयार गरिएको डिजाइन स्वीकृतिको प्रक्रियामा गएको नेपाली सेनाले जनाएको छ । 
यस्तै, काठमाडौं उपत्यका थोक खानेपानी प्रसारण आयोजना (दोस्रो) का लागि दिइने बजेट पनि ११ प्रतिशत कटौती भएको छ । यो आयोजनामा चालु आर्थिक वर्षका लागि २ अर्ब ४७ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षका लागि घटाएर २ अर्ब २० करोड ४५ लाख रुपैयाँ बजेट अर्थमन्त्री वाग्लेले विनियोजन गरेका छन् ।
यस्तै, सरकारले कर्णाली, कालीगण्डकी र कोशी करिडोरका सडक पूर्वाधार आयोजनाका लागि भने ‘उत्तर–दक्षिण राजमार्ग’ शीर्षकमा बजेट बढाएर विनियोजन गरेको छ । यो शिर्षकमा पर्ने सडक पूर्वाधार आयोजनाका लागि चालु आर्थिक वर्षमा ३ अर्ब ७४ करोड ३३ लाख रुपैयाँ बजेट विनियोजन गरेर काम भइरहेकोमा आगामी आर्थिक वर्षका लागि यो बजेटको आकार बढाएर ६ अर्ब २५ करोड ७ लाख रुपैयाँ पु¥याइएको छ । कर्णाली करिडोरको अहिलेसम्मको प्रगति १७.१६ प्रतिशत हुँदा कालीगण्डी करिडोरको भौतिक प्रगति ७८.६९ प्रतिशत र कोशी करिडोरको प्रगति ४५.३८ पुगेको छ ।
यस्तै, तराई क्षेत्रमा निर्माणाधीन हुलाकी राजमार्गको बजेट पनि बढेर आएको छ । यो सडक करिडोर आयोजनाका लागि चालु आर्थिक वर्षमा ३ अर्ब ५६ करोड ४२ लाख रुपैयाँ विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षका लागि यसलाई बढाएर ४ अर्ब ६५ करोड ६ लाख रुपैयाँ पु¥याइएको अर्थमन्त्रालयले जनाएको छ । आगामी आर्थिक वर्षका लागि यो सडक करिडोर आयोजनाले पाएको बजेट चालु आर्थिक वर्षको तुलनामा करिब ३० प्रतिशत बढी हो । यो राजमार्गको भौतिक प्रगति ७३.३५ प्रतिशत पुगेको छ ।
यसैगरी, राष्ट्रिय गौरबको मेलम्ची खानेपानी आयोजनाका लागि दिइने बजेट पनि बढेर आएको छ । यो आयोजनामा चालु आर्थिक वर्षका लागि ७२ करोड ६९ लाख रुपैयाँ बजेट छुट्याइएकोमा आगामी आर्थिक वर्षका लागि यसलाई बढाएर १ अर्ब ४० करोड १६ लाख रुपैयाँ पु¥याइएको अर्थमन्त्रालयले जनाएको छ । यो आयोजना अन्तर्गत पहिलो चरणको काम ९९.५२ प्रतिशत सम्पन्न भइसकेको छ ।

रेल्वे र मेट्रो विकास आयोजनालाई छैन बजेट 
सरकारले आगामी आर्थिक वर्षका लागि रेल्वे र मेट्रो योजनाको नाममा बजेट विनियोजन गरेन । देशमा आधुनिक रेल सञ्जाल विस्तार तथा काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालन गर्ने योजना अनुरुप अगाडि बढाइएको रेल्वे तथा मेट्रो विकास आयोजनाको नाममा दिइँदै आएको बजेट पूर्णरूपमा कटौती गरिएको हो । 
चालु आर्थिक वर्षमा यो आयोजनाका लागि २ अर्ब ७२ करोड ६१ लाख रुपैयाँ बजेट दिइएको थियो । रेल्वे बोर्ड सञ्चालनका लागि भने ३ करोड ९० लाख रुपैयाँ बजेट आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्