नेभिगेशन
सूचना प्रविधि

एआई, साइबर सुरक्षा र डाटा क्षेत्रमा विश्वभर दक्ष जनशक्ति अभाव

काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई), कम्प्युटिङ, ठूलो तथ्यांक (बिग डाटा) र साइबर सुरक्षाजस्ता क्षेत्रमा दक्ष जनशक्तिको माग तीव्र रूपमा बढिरहे पनि आवश्यक जनशक्तिको अभाव विश्वव्यापी चुनौतीका रूपमा देखिएको छ । चीनको सेन्जेनमा सम्पन्न हुवावे सूचना तथा सञ्चार प्रविधि (आईसीटी) प्रतियोगिता २०२५÷२०२६ का सहभागी विज्ञहरूबाट यस्तो निष्कर्ष आएको हो । 
प्रतियोगिताको समापन समारोह तथा ‘कृत्रिम बुद्धिमत्ता शिक्षा रूपान्तरण तीव्रता सम्मेलन’मा सहभागी विज्ञहरूले डिजिटल रूपान्तरणको गति बढेसँगै एआई प्रतिभा विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले सरकार, विश्वविद्यालय र उद्योग क्षेत्रबीचको सहकार्यबाट मात्रै भविष्यका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न सकिने बताएका छन् । 
हुवावेका अनुसार यस वर्षको प्रतियोगितामा विश्वका १०० भन्दा बढी देश तथा क्षेत्रका २ हजारभन्दा बढी उच्च शिक्षण संस्थाबाट २ लाख २० हजारभन्दा बढी विद्यार्थी तथा प्राध्यापक सहभागी भएका थिए । राष्ट्रिय तथा क्षेत्रीय चरण पार गर्दै ४९ देश तथा क्षेत्रका १७७ टोली विश्वव्यापी अन्तिम चरणमा पुगेका थिए ।
प्रतियोगिताको १०औँ संस्करणअन्तर्गत अभ्यास, नवप्रवर्तन र प्रोग्रामिङ विधामा भएको प्रतिस्पर्धापछि चीन, नाइजेरिया, सिंगापुर, अल्जेरिया, ब्राजिल, इजिप्ट, केन्या तथा डोमिनिकन गणतन्त्रका १८ टोलीले मुख्य पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा महिला सहभागिता, हरित विकास तथा प्रशिक्षकहरूको योगदानलाई समेत विशेष पुरस्कारमार्फत सम्मान गरिएको थियो ।
समापन समारोहमा हुवावे आईसीटी रणनीति तथा व्यवसाय विकास विभागका अध्यक्ष रिची (होङ्ह्वा) पेङले प्रतियोगिताले प्रविधिलाई समाज र वातावरणको हितमा प्रयोग गर्ने सोचलाई प्रवद्र्धन गरेको बताए। उनले नवप्रवर्तन र प्रतिस्पर्धामार्फत वास्तविक जीवनका चुनौती समाधान गर्न सक्ने क्षमता विकास गर्नु आजको आवश्यकता भएको उल्लेख गरे । 
पेङले आगामी संस्करणदेखि चीनमा ‘एसेन्ड कृत्रिम बुद्धिमत्ता अपरेटर विकास ट्र्याक’ सुरु गरिने घोषणा गर्दै यसले युवा विकासकर्तालाई अत्याधुनिक औद्योगिक एआई प्रविधिसँग प्रत्यक्ष रूपमा काम गर्ने अवसर प्रदान गर्ने बताए । कार्यक्रममा युनेस्को सूचना प्रविधि शिक्षामा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थानकी कार्यवाहक निर्देशक तथा शिक्षा र कृत्रिम बुद्धिमत्ता विभाग प्रमुख डा. शफिका इसाक्सले एआईको भविष्य निर्माणका लागि सरकार, अन्तर्राष्ट्रिय संस्था, शैक्षिक क्षेत्र र उद्योगबीचको सहकार्य अपरिहार्य रहेको बताइन् ।
उनले युनेस्को र हुवावेले विभिन्न क्षेत्रमा सञ्चालन गरिरहेका एआई क्षमता अभिवृद्धि तथा आईसीटी शिक्षा कार्यक्रमहरूले भावी जनशक्ति विकासमा योगदान पु¥याइरहेको उल्लेख गरिन् । उनका अनुसार यस वर्षको प्रतियोगितामा सहभागी विद्यार्थीहरूले उदाउँदा प्रविधिहरूको प्रयोगमार्फत वास्तविक समस्याको समाधान खोज्ने क्षमता प्रदर्शन गरेका छन् । उनीहरूले सिर्जनात्मकतासँगै प्रविधिको जिम्मेवार प्रयोगबारे पनि सकारात्मक सन्देश दिएका छन् ।
प्रतियोगितासँगै आयोजित सम्मेलनमा हुवावेले विश्वविद्यालयका लागि ‘आईसीटी एकेडेमी एआई कोर्स समाधान’ सार्वजनिक गरेको छ । यसले विश्वविद्यालयहरूलाई समग्र एआई अध्ययन मार्ग उपलब्ध गराउँदै ठूलो संख्यामा एआई प्रतिभा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।
त्यसैगरी, हुवावेले ‘आईसीटी सीप विकास अन्तर्दृष्टि प्रतिवेदन तथा सिफारिसहरू’ पनि सार्वजनिक गरेको छ । प्रतिवेदनले नीति निर्माता, शैक्षिक संस्था तथा उद्योग क्षेत्रलाई प्रतिभा विकास र प्रविधि क्षेत्रको विस्तारका लागि आवश्यक सुझाव प्रदान गर्ने कम्पनीको दाबी छ । 
हुवावेका अनुसार एआई, कम्प्युटिङ, डाटा विज्ञान र साइबर सुरक्षाजस्ता क्षेत्रमा बढ्दो माग र सीमित दक्ष जनशक्तिबीचको दूरी घटाउन यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिता, तालिम तथा उद्योग–शिक्षा सहकार्य कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्